Nepalism.com

Feb 18, 2020

बहुपति प्रथाबारेको ‘सहायक श्रीमान’ (Co-Husband) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट

काठमाडौं: नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (Co-Husband) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट भएको छ । संचारकर्मी गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले निफमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको हो ।

राष्ट्रिय सभा गृहमा ५ दिनसम्म चलेको महोत्सवमा ४० वटा देशका ८० वटा फिल्म प्रतिस्पर्धामा थिए ।वृत्तचित्र तथा लघु चलचित्र विधाकी निर्णायक मण्डल प्रमुख श्रीलंकन चलचित्रकर्मी अनोमा राजाकरुनाले निर्देशक पाण्डेलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेकी थिईन् । निर्णायक मण्डलका सदस्य एवं स्वीजरल्याण्डको विश्व प्रसिद्ध लोकार्ने चलचित्र महोत्सवका ‘ओपन डोर’ संयोजक काथिबाउट बाराकले ‘सहायक श्रीमान’ ले नेपालमा लामो समयदेखि विद्यमान बहुपति प्रथालाई कलात्मक रुपमा पर्दामा उतार्न सफल भएको बताए ।

कथाबस्तु कस्तो छ?

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन् तिनले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिलेपनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् ।जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीनवटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाईएको छ।

‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवंदृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

    0