Nepalism.com

Dec 22, 2021

न्यू योर्कमा फिप्ना महासंघको नयाँ नेतृत्वमा राजकुमार विष्ट निर्वाचित, ४६ प्रतिसत महिला प्रतिनिधित्व

Exclusive: विश्वकै राजधानी मानिने अमेरिकाको न्यू योर्क सहरमा अठार जनजातीय सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएकाछन् भने महासंघकै ईतिहासमा सबैभन्दा बढी ४६ प्रतिसत महिला प्रतिनिधिहरू निर्वाचित भएकाछन्।

महासंघको सभामुख र वरिष्ठ उपाध्यक्ष रहीसकेका विष्टले दोश्रो कार्यकालका आकांक्षी बहालवाला अध्यक्ष लोक चेम्जोंगलाई प्रतिस्पर्धामा पराजित गरेका हुन्।

फिप्ना महासंघको निर्वाचित कार्य समिति र संघीय परिषदको पदाधिकारी र सदस्यहरूको नामावली यस प्रकार छः

अध्यक्ष: राजकुमार विष्ट

सभामुखः सुवर्ण शाक्य

उपसभामुखः गोमा योञ्जन

वरिष्ठ उपाध्यक्षः मिङमार शेर्पा

उपाध्यक्ष (महिला): छोन्जोम लामा

उपाध्यक्ष (क्षेत्रीय): माया लामा ह्योल्मो

महासचिव: टोमा लामा

सचिवः सुभास राई

सचिवः चम्पाकुमारी तामाङ

सदस्यः मुक्तिनारायण राई

सदस्यः तुलबहादुर तामाङ

सदस्यः रुकु राना मगर

सदस्यः प्रकाशकुमार सुनुवार

सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

फिप्नाका नव निर्वाचित अध्यक्ष राजकुमार विष्ट न्यू योर्क सहरको नेपाली समुदायमा सुपरिचित व्यक्तित्व हुन्। मुस्ताङ किदुग अमेरिकाको पूर्व अध्यक्ष रही सकेका विष्ट फिप्ना महासंघको पूर्व सभामुख र वरिष्ठ उपाध्यक्ष रही सकेकाछन्। उनी नेपाली हकहीतलाई सर्वोपरी राखी अन्य विभिन्न नेपाली संघसंस्थाहरूसंग सफलतापूर्वक सहकार्य गरी अघि बढ्ने अगुवा नेपाली हुन्।

“अब महासंघलाई सबै संघसंस्थाहरूसंग समन्वय र सहकार्य गरी नेपाली समुदायको नेतृत्वदायी र प्रभावशाली महासंघको रूपमा स्थापित गर्न लागि पर्नेछु”, विष्टले नेपालिजमसंगको कुराकानीमा उल्लेख गरे। “अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको सँस्कृतिहरूको संरक्षण, सम्वर्धन र मौलिक पहिचानको निम्ति महासंघबाट सरकारी र गैरसरकारी निकायहरूसंग सहकार्य गरेर अघि बढ्नेछौं।”

उता सन् २००५ मा स्थापित फिप्ना महासंघले पहिलो पटक महासचिवमा महिला नेतृलाई चुनेकोछ।फिप्नाको इतिहासमा महासचिव पदमा निर्वाचित हुने पहिलो महिला नेतृ टोमा लामा बनेकीछिन् । उनी चलचित्र निर्देशक र संचारकर्मी हुन् भने युनाइटेट मुगुम अर्गानाइजेशन अमेरिकाको प्रतिनिधित्व गर्दछिन्। “महिलाहरू नेतृत्वदायी भूमिकामा रहेर काम गर्न सक्दछन् भनेर देखाउने चुनौतीलाई मैले स्वीकार गरेकीछु।” महासचिव लामा भन्छिन्।

महिला प्रतिनिधित्व

फिप्नाको नयाँ कार्य समितिमा १३ मध्ये ६ जना अर्थात ४६ प्रतिसत महिलाहरू निर्वाचित भएकाछन्।अमेरिकामा कृयाशील प्रभावशाली नेपाली संघसंस्थाहरूमा अगुवा मानिने फिप्ना महासंघमा महिलाहरूको यो उपस्थिति उदाहरणीय बनेकोछ। एनआरएन अमेरिकाको वर्तमान कार्य समितिमा महिला प्रतिनिधित्व २० प्रतिसत मात्र रहेकोछ भने अन्य संघसंस्थाहरूमा महिला प्रतिनिधित्व नगन्य रहँदै आएकोछ। भविष्यमा फिप्नाको यो महिला प्रतिनिधित्वको प्रभाव अन्य नेपाली अमेरिकी संघसंस्थाहरूमा पनि पर्ने आशा पलाएकोछ।

    0