Nepalism.com

Aug 31, 2021

मिस नेपाल अमेरिका २०२१ (Miss Nepal US) विजेता को बन्ला ?

Exclusive: मिस नेपाल अमेरिका (Miss Nepal US) को १० औं वार्षिकोत्सवको अवसरमा यहीं सेप्टेम्बर २३ देखि २५ सम्म न्यू योर्क सहरमा मिस नेपाल अमेरिका प्रतियोगिताको आयोजना गरिने भएको छ । न्यू योर्कका चर्चित नेपाली अमेरिकन सामाजिक व्यावसायी अमित शाहद्वारा स्थापित Miss Nepal US ले १० वर्षको माईलस्टोन पुरा गरेको हो। सन् २०११ मा शुरू गरिएको मिस नेपाल अमेरिका प्रतियोगिताका यस अघि विजयीहरूमा सुजिता बस्नेत (२०११), आस्था श्रेष्ठ (२०१२), बर्तिका राई (२०१३), डा. खुश्वु मिश्र (२०१४), प्रियंका थपलिया (२०१५), दिलाशा न्यौपाने (२०१८) र सुरभी खनाल (२०१९) छन्। यो वर्ष २०२१ को विजेता को बन्ला ?

मिस नेपाल अमेरिका अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुका लागि नेटवर्किङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि गर्विलो मञ्च बनेको छ । यस प्रतियोगिताले नेपाल र अमेरिकाको साँस्कृतिक विविधतालाई जोड्ने र पहिचानलाई उजागर गर्नेछ ।

मिस नेपाल अमेरिका प्रतियोगिताले हालसम्म नेपाली अमेरिकी युवा महिलाहरुलाई उच्च शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेकोछ । यस प्रतियोगिताले दर्जनौं युवा नेपाली अमेरिकन महिलाहरुलाई आफ्नो क्षमता प्रस्फुटन र प्रदर्शन गर्न, छात्रवृत्ति प्राप्ति, नेटवर्किंग, जीवनोपयोगी कला अभिवृद्धि गर्न र नेपाली र अमेरिकी समुदायमा योगदान पुर्याउने अवसर जुटाइ दिएको छ ।

यो वर्षको प्रतियोगितालाई सम्पन्न गर्न मिस नेपाल (२००२) माल्भिका सुब्बालाई मुख्य प्रशिक्षककारुपमा नियुक्त गरिएको छ । त्यसैगरी, प्रोग्राम डाइरेक्टर मिस नेपाल युएस (२०११) सुजिता बस्नेत, प्याजेन्ट कोअर्डिनेटर स्मृति गिरी, परामर्श किरण क्षेत्री, मोटिभेसन डा.. विष्णुमाया परियार, कोरियोग्राफ़ी पूर्व मिस नेपाल युनिभर्स (२०१७) नग्मा श्रेष्ठ, ग्रुमिंग प्रशिक्षक मिस युनिभर्स नेपाल (२०२०) आशिका शर्मा, ग्रुमिंग प्रशिक्षक एवं फेसन डिजाईनर विश्व गौतम, लाईफ प्रशिक्षक सुशिल चौधरी, फेसन डिजाईनर लजिमा सुब्बा, फेसन स्टाईलिष्ट निलिमा मादेन लिम्बू र मेकअप प्रशिक्षक डेचेन सुमोलाई नियुक्त गरिएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट www.missusnepal.com मार्फत आफ्नो अनलाईन आवेदन गर्न सक्नेछन्।

नेपालिजम डट कमले यो प्रतियोगितालाई ईन्डोर्स गरेकोछ।

    0