Nepalism.com

Feb 26, 2023

नायक पल शाह निर्दोष! फेरी यस्तो नहोस् (उच्च अदालतको पूर्ण पाठ सहित)

Updated: Mar 1, 2023

Updated: Exclusive: नेपाली लोकप्रिय अभिनेता पल शाहलाई उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको छ । नायक शाहलाई “अभियोग दावी वमोजिम जबरजस्ती करणीको कसूरमा कसूरदार ठहर गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन” भन्दै उच्च अदालत पोखराको फैसलामा भनिएको छः “अतः सुरू नवलपुर जिल्ला अदालतको उक्त फैसला उल्टी भई, पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले अभियोग दावीबाट सफाई पाउने ठहर्छ।” दोषी प्रमाणित नहुँदासम्म जोकोही निर्दोष (innocent until proven guilty) हुन्छ भन्ने अमेरिकी लिगल सिस्टमले स्थापित गरेको न्यायिक मान्यताको पछिल्लो उदाहरण बनेकाछन्-पल शाह। तर विडम्बना! नेपाली मिडियाबाजीले उनलाई अपराधी र दोषी सावित गर्ने गरी यति बदनाम गर्योकि यो विश्वव्यापी कानूनी मान्यताको धज्जी उडाईदिएको छ। पढ्नुहोस् उच्च अदालत पोखराले सफाई दिंदै “कारागार मुक्त गरिदिनु” भनी जारी गरेको फैसलाको पूर्ण पाठः

“श्री

उच्च अदालत पोखरा

संयुक्त ईजलास

माननीय कायम मुकायम मुख्य न्यायाधीश श्री डिल्लीराज आचार्य

माननीय न्यायाधीश श्री श्रीधरा कुमारी पुडासैनी

फैसला (राय किताब उतार)

इजलास नं. १

मुद्दाः जबरजस्ती करणी ।

०७९-cs-०३१२

पल शाह भन्ने पूर्णविक्रम शाह ……………… पुनरावेदक/प्रतिवादी

विरूद्ध

परिवर्तित नाम २०७८ गैंडाकोट ५(ख) को जाहेरीले नेपाल सरकार ……………… प्रत्यर्थी/वादी

०७९-cs-०४००

परिवर्तित नाम २०७८ गैंडाकोट ५(ख) को जाहेरीले नेपाल सरकार ……………… पुनरावेदक/वादी

पल शाह भन्ने पूर्णविक्रम शाह ……………… प्रत्यर्थी/प्रतिवादी

यसमा पुनरावेदनपत्र सहितको सुरू मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उच्च सरकारी वकील कार्यालय, पोखराका विद्वान् उपमहानायाधिवक्ता श्री कृष्ण बहादुर थापा र श्री कमलमोहन वाग्ले एवं विद्वान् अधिवक्तात्रय श्री जनकराज ढुंगाना, श्री गणेशप्रशाद अधिकारी र श्री माधव घिमिरेले गर्नुभएको बहस समेत सुनियो।

यसमा, प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाह र पीडित भनिएकी नावालिक परिवर्तित नाउँ २०७८ गैंडाकोट ५ (क) बाग्लुंग-तनहूँ हुँदै गैंडाकोट सौराहा समेतका स्थानहरूमा पुगी “सुर्ति माड्दै माड्दै” भन्ने समेतका बोलका गीतहरूमा सुटिंग गरी वारदात मिति २०७७।१२।७ गते राती गैंडाकोट रिसोर्टमा होटल संचालिका सुलोचना कुवँर जिसीकी १२ वर्षीया छोरी, सामीया जिसीसँगै परिवर्तित नाउँ गैंडाकोट ५(क) राती सुतेकी र प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाह सोही होटलको कोठा नं. १०१ मा बसेको सम्मको आंशिक तथ्यलाई प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले स्वीकार गरेपनि अभियोग दावी बमोजिमको जबरजस्ती करणी सहितको यौन दुर्व्यवहार परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) उपर आफूले नगरेको भनी मौकामा कागज गर्दा र सुरू नवलपुर जिल्ला अदालतमा बयान गर्दा समेत अभियोग दावी बमोजिमको कसूरमा ईन्कार रहेको, परिवर्तित नाउँ २०७८ गैंडाकोट ५(क) ले सुरू अदालतमा प्रतिवादीबाट जबरजस्ती करणी सहितको यौन दुर्व्यवहार नभएको भनी बकपत्र गरेकी, जाहेरवाला परिवर्तित नाम २०७८ ५(ख) ले समेत जाहेरी बेहोरालाई अस्वीकार गरी प्रतिवादी कसूरदार होईनन् भन्ने समेत बेहोराबाट बकपत्र गरेका, मौकामा बुझिएका घटना विवरण समेतमा वादी नेपाल सरकारको तर्फबाट रहेका सबै साक्षीहरूले अभियोग दावी बमोजिम प्रतिवादीले जबर्जस्ती करणी गरेका होईनन् भनी बकपत्र गरेका, वारदातको मितिको ५ महिना पछि अर्थात मिति २०७८।११।१५ गतेका दिन परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) ले प्रतिवादीलाई “हामीलाई थाहा छ, हामी विच त्यस्तो केही भएन, यस विच तिमीलाई परेको दुःखका लागि माफी माग्न चाहन्छु……..” भन्ने समेत बेहोराबाट प्रतिवादीको मोवाईलमा म्यासेज गरेको देखिएको, पोलिग्राफ परीक्षण गर्दा प्रतिवादीको प्रस्तुती अवस्था ठीक (confidence level more than 99%) रहेको भन्ने उक्त प्रतिवेदनबाट देखिएको र अनुसन्धानको क्रममा संकलन भएको परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) र प्रतिवादीका विचको सम्वाद (अडियो) को विश्वसनीयता शंकारहीत प्रमाण एवम् अन्य वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन नसकेको समेतका आधार र प्रमाणहरूबाट प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी बमोजिमको जबरजस्ती करणीको कसूर (वारदात) परिवर्तन गरी निजको कसूरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(१) को कसूर ठहर गरी, सोही ऐनको दफा २२५ (२) बमोजिम २ वर्ष ६ महिनाको कैद सजाय तथा रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने र परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) ले प्रतिवादीबाट रू.१०,००,०००।- (दश लाख रूपैयाँ) क्षतिपूर्ति वापद भराई पाउने ठहर्याएको सुरू नवलपुर जिल्ला अदालतको मिति २०७९।५।२१ को फैसला उल्लिखित आधार र कारणबाट मिलेको देखिएन।

अतः सुरू नवलपुर जिल्ला अदालतको उक्त फैसला उल्टी भई, पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले अभियोग दावीबाट सफाई पाउने ठहर्छ।

प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी वमोजिम जबरजस्ती करणीको कसूरमा कसूरदार ठहर गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।

पुनरावेदक पल शाह भन्ने पूर्णबिक्रम शाह अन्य मुद्दाको रोहबाट थुना वा कैदमा राख्न नपर्ने भए प्रस्तुत मुद्दाको रोहबाट कारागार मुक्त गरिदिनु भनी निज कैद (थुना) मा रहेको जिल्ला कारागार कार्यालय तनहूँमा अविलम्ब लेखी पठाउनु।

(श्रीधरा कुमारी पुडासैनी)

न्यायाधीश

उक्त रायमा म सहमत छु।

(डिल्लीराज आचार्य)

कायम मुकायम मुख्य न्यायाधीश

इति सम्वत् २०७९ साल फागुण महिना १४ गते रोज १ शुभम् ……………………।”

पल शाह घटना

उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले “प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी वमोजिम जबरजस्ती करणीको कसूरमा कसूरदार ठहर गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन” भन्दै सफाइ दिएको हो ।

नवलपुर जिल्ला अदालतको मिति २०७९।५।२१ को फैसलाले “प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी बमोजिमको जबरजस्ती करणीको कसूर (वारदात) परिवर्तन गरी निजको कसूरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(१) को कसूर ठहर गरी, सोही ऐनको दफा २२५ (२) बमोजिम २ वर्ष ६ महिनाको कैद सजाय तथा रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने र परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) ले प्रतिवादीबाट रू.१०,००,०००।- (दश लाख रूपैयाँ) क्षतिपूर्ति वापद भराई पाउने ठहर्याएको सुरू नवलपुर जिल्ला अदालतको मिति २०७९।५।२१ को फैसला” लाई “उल्लिखित आधार र कारणबाट मिलेको देखिएन” भन्दै नायक पल शाह निर्दोष भएको फैसला भएको हो।

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल र नायक पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । नावालिका भनिएकी, उच्च अदालत पोखराका अनुसार परिवर्तित नाम “२०७८ गैंडाकोट ५(क)” ले दिएको मुद्दामा जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएको थियो ।

ति नावालिका भनिएकी, १७ वर्षीया, उच्च अदालत पोखराका अनुसार परिवर्तित नाम “२०७८ गैंडाकोट ५(क)” ले पल शाहले म्यूजिक भिडियो सुटिङका क्रममा दुई पटक दुई फरक स्थानमा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते (फेब्रुवरी २३) तनहुँ जिल्ला अदालतमा र फागुन १५ गते (फेब्रुवरी २३) नवलपुर जिल्ला अदालतमा उजुरी दिएकी थिइन्। तर पछि अप्रिल १७ तारिख बकपत्रको क्रममा निज नाबालिकाले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेर “जबरजस्ती करणी सहितको यौन दुर्व्यवहार नभएको भनी बकपत्र” गरेकी थिईन्।

    0