Nepalism.com

Nov 19, 2022

न्यू जर्सीमा समता ग्लोबल सिनेट च्यारिटी साँझ, $१० हजार संकलित

Special: समता शिक्षा निकेतन स्कूलको नेपालभर खोलिएका मुनाफारहित ८१ विद्यालयहरू र त्यहाँ अध्ययनरत ६० हजार विद्यार्थीहरूको उज्यालो भविष्यको निम्ति अमेरिकाको न्यू जर्सीमा समता ग्लोबल सिनेट च्यारिटी साँझको आयोजना गरिएको छ। च्यारिटी डिनर र समता ग्लोबल सिनेट सुशोभनबाट $१० हजार डलरभन्दा बढी अनुदान संकलन भएकोछ।

उक्त च्यारिटी डिनर र समता ग्लोबल सिनेट सुशोभन साँझमा समता शिक्षा निकेतन स्कूलका संस्थापक उत्तम संजेल, सो स्कूलका संरक्षक एवं सुपरिचित वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, समता ग्लोबल सिनेटका संयोजक प्रा. डा. उत्तम गाउँली, सामाजिक अभियन्ता एवं न्यू जर्सी राज्यको AAPI कमिश्नर डा. विष्णुमाया परियार र फ्रेण्डस् अफ नेपाल न्यू जर्सीका संस्थापक अध्यक्ष डा. तुल्सी महर्जनले सम्वोधन गरेका थिए। समारोहमा वुमन फर कज (WFC) का अध्यक्ष एवं कलाकार कविना महर्जन र सम्राट सिंह डंगोलले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

समता शिक्षा निकेतन सन् २००० मा स्थापना गरिएको हो। सो स्कूलमा महिनाको रू. १०० फि तिरेर गुणस्तरीय शिक्षा लिन सकिन्छ। गुणस्तरीय शिक्षालाई सर्वशुलभ बनाउने उद्देश्यले खोलिएको समता शिक्षा निकेतनको नेपालको ७७ जिल्लाहरूमा ८१ वटा विद्यालयहरू संचालित छ। हाल ६० हजार विद्यार्थीहरू अध्ययनरत छन्। समता शिक्षा निकेतन स्कूलका संस्थापक उत्तम संजेल हुन्। सो स्कूलका संरक्षकद्वयमा सुपरिचित वरिष्ठ हाँस्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेकाछन्।

    0