Nepalism.com

Mar 21, 2021

“नाममा के छ ?” “What's in a name?”

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा

On The International Day for the Elimination of Racial Discrimination, March 21

-Pradeep Pariyar Thapa

Exclusive: विश्व विख्यात नाटककार विलियम सेक्सपियरले सवा चार सय वर्ष अघि 'रोमियो एण्ड जुलियट' नाटकमा नारी पात्र जुलियटको मुखबाट आफ्नो प्रेमी रोमियोलाई सोध्न लगाएका थिए- "ओहो, रोमियो...नाममा के छ? हामीले गुलाफलाई अरु नै नाम दियौँ भने के त्यसको वासनामा उस्तै मिठास (सुगन्ध) हुन्छ?" (What's in a name? That which we call a rose by any other name would smell as sweet.) तर सेक्सपियरको यो भनाई एक पागलपन मात्र प्रमाणित भयो नेपालको सन्दर्भमा।

नागरिकता र पासपोर्टमै कस्ता नाम

नेपालमा त नाममा मिठास र सुगन्ध मात्र कहाँ रह्यो र ! वर्गीय, लैंगिक र जातीय पीड़ा, हेपाई र विभेद पनि पो देखियो त ! यस्तो नाम सुन्नु भा'छ- सुकमेल, सुन्तली, मिस्री, दालचीनी, कैली, काली, मँगले, च्यामे, काले, लुते, झ्यापु, बुंकुरी, झ्याउरी, प्याक्ची, कोप्ची, भ्यागुरी, दोबाटे आदि ईत्यादी। यी नामहरू नेपालमा तथाकथित दलित समाजका महिला र पुरूषलाई बोलाईने र नागरिकतामै लेखिएका बैधानिक नामहरू हुन्। यो जातीय विभेदको अर्को रूप हो।

नेपाली नागरिकहरूको नागरिकता र पासपोर्टमै यि माथि उल्लेखित नामहरू भेट्न सकिन्छ। अझ नेपाली जात जातिकै दमाई, विश्वकर्मा (कामी) र सार्की जातिवोधक नाम थर उपथरसंगै नागरिकता र पासपोर्टमै यि जातिबोधक जात उल्लेख गरिने गरेको छ। जस्तो कि, फलानो परियार (दमाई) । दमाई जात जातिको परियार थरका कसैले गर्वका साथ दमाई लेख्छ भने अर्को पक्ष हो तर कसैलाई तथाकथित तल्लो जातको भनि चिनाउनकै लागि ‘दमाई’ लेखिएको हो भने र त्यसै कारण उक्त व्यक्ति अपहेलित हुने, डेरा नपाउने, मन्दिर छिर्न र पानी छुन नपाउने अवस्था सृजना हुन्छ भने त्यसरी किटानी उल्लेख गर्न बन्द गरिनु पर्दछ। बाहुन थरकाले ब्राकेटमा बाहुन लेख्न पर्दैन भने या अन्य कुनै जातजातिले थरका पछाडि सम्बंधित जात जाति उल्लेख गर्नु अनिवार्य छैन भने तथाकथित रूपमा बनाईएका तल्लो जातका जनतालाई पनि सिस्टेमिक व्यावस्थापकीय, प्रशासनिक, वैधानिकरूपमै विभेद हुने, बनाउने परिपाटी र प्रचलन बन्द गरिनु पर्दछ।

जातिको थरमै विभेद?

शेर्पा समुदायमा जन्मिदा बार (दिन) को नाममा व्यक्तिको नाम राखिन्छ, जस्तो कि: आईतवार जन्मिने छोरा-छोरी दुईटैको नाम 'निमा'; तेसैगरी, सोमवार जन्मिने 'दावा'; मंगलवार जन्मिने 'मिंगमार'; बुधवार जन्मिने 'ल्हाक्पा'; बिहिवार जन्मिने 'फुर्वा'; शुक्रवार जन्मिने 'पासांग' र शनिवार जन्मिने 'पेम्बा' । तर केही शेर्पाहरूको नाम सुनेर म छक्क पर्ने गर्दछु। शेर्पा भाषामा जन्मेको बार (दिन) को नामसंग प्राय: 'कामी', 'सार्की' मिडल नाम जोडिएको हुन्छ। उदाहरणको लागि: आंग कामी शेर्पा ।

शेर्पाहरूले आफ्नो नामसंगै 'कामी', 'सार्की' मिडल नाम राख्नेबारे कुरोको चुरो चैं यस्तो रै'छ:

शेर्पा जनपरम्परा अनुसार, घरमा कुनै बच्चा नहुर्किदै मर्यो भने काल (यमराज) ले अर्को जन्मिएको बच्चा नमरोस् या कालले नलगोस् भनेर दलित समुदायको नाम थर 'कामी', 'सार्की' मिडल नामकोरूपमा राखिएको हुने रहेछ। यानेकि, कामी, सार्की, दमाई थर र जात नाम कालले समेत पनि नरूचाउने अपहेलित नामको अर्थमा। कालले नलगेर अजम्बरी हुने कुरा त राम्रो हो तर यहाँनिर ईन्भिजिवल डिसेक्रिमिनेसन (अन्देखा विभेद) को कुरा बुझ्नु ज़रूरी छ। शेर्पा समुदायको यो दृष्टान्तले हाम्रो नेपाली समाजलाई जातीय विभेदको जालोले नराम्ररी गाँजेको प्रमाणित हुन्छ।

जातीय विभेदको अन्त्य कहिले हुन्छ?

नेपालमा जातीय र साँस्कृतिक छुवाछुतको विभेदको अन्त्यको कुरा गर्दा र वर्तमान परिवेश देख्दा मैले केही वर्ष अघि शुरू गरेको अभियान 'जातीय विभेदको अन्त हाम्रै पालामा' एउटा दुस्साहस मात्र लाग्न सक्छ। तर छुवाछुत गर्ने, गराउने र अमानवीय परम्परा कायम गरीराख्ने अतिवादीहरूले जानी राखून्- जात जातिको नाममा विभेद गर्ने पुरातनिक सोंच संस्कार आधुनिक समाजमा टिकी रहने छैन। कानूनले जातीय विभेद र छुवाछुत बर्जित गरी सक्यो। तिमीले गर्ने ककृत्य दण्डनीय भैसक्यो। अब जनता जाग्न बाँकी छ। तिम्रो कुरूपता समाजको अघिल्तिर नांगिई सक्यो। जातीय विभेद र छुवाछुतको अन्त्य अवश्यम्भावी छ। शिर्फ ढिलो चाँडोको कुरा हो। ‘वादे वादे जायते तत्वबोध’। सबैलाई चेतना भया ।

    0