Nepalism.com

Apr 18, 2023

न्यू योर्क सहरले विश्वको सर्वोच्च सगरमाथा प्रथम आरोही नेपाली तेन्जिंग नोर्गे शेर्पा नाम सडक नामाकरण

Updated: Exclusive: अमेरिकाको न्यू योर्क राज्यको न्यू योर्क सहर महानगर परिषदले कुईन्सस्थित ७५ स्ट्रीटको ब्रडवे र उडसाईड एभेन्यू विचको सडकलाई विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सडक समर्पित गर्ने गर्विलो निर्णय गरेकोछ। आगामी मई महिनाको २९ तारिख ७० औं विश्व सगरमाथा दिवसको अवसरमा उक्त सडकको नाम Tenzing Norgay Sherpa Way नामाकरण गर्न एक भव्य सार्वजनिक समारोहको आजोजना गरिने कुरा यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनले जानकारी गराएकोछ। अमेरिकामा नेपाली व्यक्तित्वको नाममा सडकको नाम समर्पित भएको यो सम्भवतः पहिलो ऐतिहासिक घटना हो।

कसरी नामाकरण गरियो?

युनाईटेड शेर्पा एसोसिएशन अमेरिका (शेर्पा किदूक अमेरिका) को पूर्व अध्यक्ष उर्गेन शेर्पाका अनुसार उनी अध्यक्ष रहेको बेला सन् २०१७ मा न्यू योर्क सहरमा नेपालीहरूको घनावस्ती रहेको कुईन्स बोरो सहरमा नेपाली पहिचान झल्किने सडक (स्ट्रीट) नामाकरण गर्ने अभियान किदूगको अगुवाई र तत्कालिन काउन्सिल सदस्य डानियल ड्रमको स्पोन्सरसिपमा शुरू गरिएको थियो। यस विच, सन् २०२१ डिसेम्वर १५ तारिख न्यू योर्क सिटी काउन्सिलको नं. २४७७ को Naming of 199 thoroughfares and public places बिल अन्तर्गत Tenzing Norgay Sherpa Way प्रस्तावित गरिएको थियो भने सन् २०२२ को जनवरी १५ तारिख न्यू योर्क नगर परिषदले विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सो सडक नामाकरण गर्ने निर्णय पारित गरेको थियो।

नेपाल र नेपालीको पहिचान झल्किने यो सडक Tenzing Norgay Sherpa Way (75th Street between Broadway and Woodside Avenue) मा युनाईटेड शेर्पा एसोसिएशन अमेरिका (शेर्पा किदूक अमेरिका) को आफ्नै भव्य शेर्पा गुम्वा भवन रहेको छ। किदूगले सन् २०१३ मा १२ लाख अमेरिकी डलरमा न्यू योर्क सहरको ज्याक्सन हाईट्सको सो सडकमा शेर्पा गुम्बा र सामुदायिक भवन निर्माण गरेर संचालनमा ल्याईसकेको छ।

कसरी नामाकरण समारोहको आयोजना गरिदैछ?

यसैबिच, यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनले विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सो सडक औपचारिकरूपमा नामाकरण गर्ने सार्वजनिक समारोहलाई भव्यतापूर्वक मनाउन एसोसिएसनका उपाध्याय पासांग (जिरी) शेर्पाको संयोजकत्वमा विभिन्न नेपाली संघसंस्थाहरू र प्रतिनिधिहरू सम्मिलित मुल आयोजक समितिको निर्माण गरेको छ। तेन्जिंग नोर्गे शेर्पाको नाममा नयाँ नामाकरण गरिने सो स्ट्रिटमा विविध नेपाली सांस्कृतिक झाँकीहरू Sea to Summit थिममा प्रस्तुत गरिनेछ। मई २९ तारिख विश्व सगरमाथा दिवसको ७० औं वार्षिकोत्सव पनि भएकोले प्रथम सगरमाथा आरोही नेपाली तेन्जिंग नोर्गे शेर्पाको नाममा नामाकरण गरिने समारोह ऐतिहासिक बन्ने कुरा आयोजकहरूले आईतवार (अप्रिल १६) तारिख शेर्पा किदूग भवनमा भेलाको आयोजना गरी जानकारी गराए।

Photo: Sang Dorje Sherpa

यो ऐतिहासिक नामाकरणबारे यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्ति पढ्नुहोस्ः

प्रेस विज्ञप्ति!

नेपाल र नेपाली समुदायको पहिचानको सम्मान गर्दै न्यू योर्कको एल्म्हर्स्ट स्थित ब्रोडवे र उडसाईड एभेन्यू विच ७५ स्ट्रीटको नाम विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) प्रथम पटक सफल आरोहण गर्ने नेपाली आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा समर्पित गरिने भएको छ।

सन् २०२१ मा न्यू योर्क शहरको सिटी काउन्सिलले विधेयक पारित गरी उक्त नामाकरण गर्ने प्रकृया थालिएको थियो भने सो प्रकृयाले सन् २०२३ मा मूर्तरूप पाउने भएको खवरले विश्व भरी छरिएर रहेका नेपाली समुदायमा खुशीको संचार भएको छ ।

सुपरिचित नेपाली सन्तति प्रथम सगरमाथा आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा न्यू योर्क शहरमा हुने सडक नामाकरणले स्वाभिमानी नेपालीहरुको शीर अझ उच्च भएको महसुस् गरेका छौँ । न्यु योर्क सिटी काउन्सिलले गरेको यस् सुखद र ऐतिहासिक निर्णयको स्वागत गर्दै न्यू योर्क शहर सिटी काउन्सिल प्रति यू एस् नेपाल क्लाईम्बर्स एसोसिएसन हार्दिक आभार व्यक्त गर्दछ ।

आजभन्दा सत्तरी वर्ष अघि सन् १९५३ को मई २९ तारिख नेपाली आरोही तेन्जिंग नोर्गे शेर्पा र न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीले संयुक्तरूपमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक सफल आरोहण गरेका थिए। यि दुई महान् सगरमाथा आरोहीहरूको निधन क्रमशः तेन्जिङ् शेर्पाको मे ९, १९८६ मा र हिलारीको जनवरी ११, २००८ मा भएको थियो । हिमाल आरोहणका लागि विश्व प्रसिद्ध र अदम्य साहसका धनी हजारौं पर्वतारोहीहरूको समर्पण, बलिदानी र मार्गदर्शनले सगरमाथा आरोहणको गौरवशाली सत्तरी वर्षको ईतिहासमा हालसम्म विश्वका ६ हजार ३३८ आरोहीहरूले सगरमाथाको आरोहण गर्न सफल भएका छन्।

यस तेन्जिङ् नोर्गे शेर्पा वे ऐतिहासिक नामाकरण समारोह निकट भविष्यमा हुन गैरहेको छ । नेपाल अनि सारा नेपालीहरुको गौरव र प्रतिष्ठा सँग जोडिएको यो समारोह भव्यताका साथ सफल पार्न आम नेपाली समुदायको साथ सहयोग र सहभगिताको लागि हार्दिक अपेक्षा गरेका छौं ।

जय सगरमाथा ।

अप्रिल १४, शुक्रबार, न्यू योर्क ।

यूएस नेपाल क्लाईम्बर्स एसोसिएसन

न्यू योर्कमा माउण्ट एभरेष्ट वे नामाकरण र माउण्ट एभरेष्ट डे

स्मरण रहोस्, यस अघि सन् २०१९ को मार्च ९ तारिख काउन्सिल सदस्य कोस्टा कन्सटान्टिनिडेसको स्पोन्सरसिपमा न्यू योर्क शहरको कुईन्सस्थित 75th St. and 31st Ave. को सडकलाई ‘माउण्ट एभरेष्ट वे’ (Mt. Everest Way) सह-नामाकरण गरिएको थियो ।

त्यसैगरी, न्यू योर्क राज्य सभाद्वारा सन् २०२१ को अक्टोवर २ तारिख विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली छोरो तेन्जिंग नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ को मे २९ तारिख प्रथम पटक पाईला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै मई २९ तारिखलाई Mt. Everest Day (सगरमाथा दिवस) को रूपमा मनाउने ऐतिहासिक घोषणा गरिएको थियो।

न्यू योर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनद्वारा अक्टोवर २ तारिख आयोजित विशेष समारोहमा उक्त घोषणा गरेकी थिईन्। पढ्नुहोस् नेपालिजमको रिपोर्ट>>

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली छोरो तेन्जिंग नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ को मे २९ तारिख प्रथम पटक पाईला टेकेको ऐतिहासिक दिनको स्मरण र सम्मान स्वरूप नेपाल सरकारको टुरिजम वोर्डले सन् २००८ मा मे २९ तारिखलाई ‘अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day)’ को रुपमा मनाउने घोषणा गरेको थियो भने त्यसयता ‘माउण्ट एभरेष्ट डे (सगरमाथा दिवस)’ विश्वभर मनाउन थालिएको हो।

विश्वको सर्वोच्च शिखर सगरमाथाको हालको उचाई 8,848.86 मिटर (29,031.7 फिट) रहेकोछ। हालसम्म विश्वभरका ६ हजारभन्दा बढी आरोहीहरूले सगरमाथा शिखर आरोहण गर्न सफल भएकाछन् भने ३०० भन्दा बढीको आरोहणका क्रममा निधन हुन गएकोछ।

    0