न्यू योर्क सहरले विश्वको सर्वोच्च सगरमाथा प्रथम आरोही नेपाली तेन्जिंग नोर्गे शेर्पा नाम सडक नामाकरण

Updated: Exclusive: अमेरिकाको न्यू योर्क राज्यको न्यू योर्क सहर महानगर परिषदले कुईन्सस्थित ७५ स्ट्रीटको ब्रडवे र उडसाईड एभेन्यू विचको सडकलाई विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सडक समर्पित गर्ने गर्विलो निर्णय गरेकोछ। आगामी मई महिनाको २९ तारिख ७० औं विश्व सगरमाथा दिवसको अवसरमा उक्त सडकको नाम Tenzing Norgay Sherpa Way नामाकरण गर्न एक भव्य सार्वजनिक समारोहको आजोजना गरिने कुरा यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनले जानकारी गराएकोछ। अमेरिकामा नेपाली व्यक्तित्वको नाममा सडकको नाम समर्पित भएको यो सम्भवतः पहिलो ऐतिहासिक घटना हो।
कसरी नामाकरण गरियो?
युनाईटेड शेर्पा एसोसिएशन अमेरिका (शेर्पा किदूक अमेरिका) को पूर्व अध्यक्ष उर्गेन शेर्पाका अनुसार उनी अध्यक्ष रहेको बेला सन् २०१७ मा न्यू योर्क सहरमा नेपालीहरूको घनावस्ती रहेको कुईन्स बोरो सहरमा नेपाली पहिचान झल्किने सडक (स्ट्रीट) नामाकरण गर्ने अभियान किदूगको अगुवाई र तत्कालिन काउन्सिल सदस्य डानियल ड्रमको स्पोन्सरसिपमा शुरू गरिएको थियो। यस विच, सन् २०२१ डिसेम्वर १५ तारिख न्यू योर्क सिटी काउन्सिलको नं. २४७७ को Naming of 199 thoroughfares and public places बिल अन्तर्गत Tenzing Norgay Sherpa Way प्रस्तावित गरिएको थियो भने सन् २०२२ को जनवरी १५ तारिख न्यू योर्क नगर परिषदले विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सो सडक नामाकरण गर्ने निर्णय पारित गरेको थियो।
