top of page

राजा ज्ञानेन्द्रले नेपालका राजनैतिक दलहरूलाई राजसंस्थासंग सहकार्य गर्ने आह्वानको असलियत के हो?

-प्रदीप परियार थापा

Exclusive: Opinion: पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्थासंग सहकार्य गर्न नेपालका राजनैतिक दलहरूलाई गरेको आह्वानले नेपाली जनमानसमा रक्तसंचारको काम गरेकोछ। नेपालका भ्रष्ट नेताहरूले विगत तेत्तिस वर्षदेखि बहुदल र विगत पन्ध्र वर्षदेखि गणतन्त्रको नाममा देशमा ब्रम्हलुट गरेर मातृभूमिलाई कंगाल बनाएको, सृजनशील युवाहरूलाई देशबाट पलायन हुन बाध्य पारेको र जनतालाई दरिद्रताको अन्तहीन चक्रे रिणमा डुबाएको विडम्बनाप्रति राजा ज्ञानेन्द्रले “…नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं “ भनेर मुख खोलेकाछन्। र, उनले “यी यावत बर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अर्न्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ” भनी रेड वार्निंग दिएकाछन्। उनी एक कदम अघि बढ्दै, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन” भनेर नेपालका राजनैतिक दलहरूलाई एकापट्टीको कित्ता र राज संस्थालाई अर्को एक सिंगो शक्ति केन्द्रको रूपमा उभ्याएका छन्। खासमा, उनी के चाहन्छन्?


पूर्खाका साना दुःखले आर्ज्याको मुलुक


वर्तमान नेपालको एकिकरण अभियन्ता राजा पृथ्बीनारायाण शाहले “मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, यो चार वर्ण छात्तिश जात सबैको साझा फूलबारी हो सबैलाइ चेतना भया" भन्ने अभिव्यक्ति दिए पनि राजा पृथ्वीनारायण शाहका सन्तती पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाललाई आफ्ना पूर्खाका साना दुःखले आर्ज्याको मुलुक भन्दा हुन्छ। जस्तो कि ज्यामीले घर बनाउँछ तर साधनस्रोत जुटाउने घरधनीले मेरो घर भन्छ। नेपालीजनले लडेर नेपाल बनाए तर निरन्तर राष्ट्र निर्माणको अगुवाई गरेर विशाल नेपाल बनाउने शाह राजाहरू र राजसंस्था असली हकदार हुन् नेपाल बनायौं भनी दावी गर्ने जसरी अहिलेका नेताहरूले बहुदल र गणतन्त्र ल्यायौं भनेझैं। यो ऐतिहासिक यथार्थ स्वीकार गर्न हिच्किचाउनु हुन्न जसरी नेपालको ईतिहासकै सबैभन्दा निरंकुश शासक राणाहरूको जतिनै दुत्कार गरेपनि अहिले सिंहदरवारमा बसेर देश हाँक्नेहरूले सिंहदरवार निर्माणकर्ता राणा हैनन् भन्नु मिल्दैन।


पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले “प्रतिकुल पलहरुमा पनि” “देश छोडेर” नगएको स्मरण गराउँदै विदेशिन बाध्य नेपाली युवाहरूको खुब चिन्ता व्यक्त गरेकाछन्। अहिले दैनिक पचीस सयदेखि तीन हजार नेपाली युवाहरू देश छोडेर विदेश जान बाध्य छन्। तेसो त, उनका पूर्खाको साना दुःखले आर्ज्याको मातृभूमि नेपालको चिन्ता गर्ने अधिकार उनलाई सतप्रतिसत छ। उनको यो असलियतमा शंका नगरौं। बरू अब उनी अझै खुलेर नेपाली जनताबिच आउनु पर्दछ। उनले नयाँ नेपालको नयाँ संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोजेको हो? या विदेशी ईशारामा ताण्डव नृत्य गर्ने नेताहरूभन्दा स्वदेशी माटोको चिन्ता गर्ने एक नेपाली नागरिक सरह उनले यसै व्यवस्थाभित्र बिकल्प शक्तिकोरूपमा राजसंस्थाको अवधारणा ल्याउन खोजेका हुन्?


देश त डुबायौ डुबायौ, बहुदलवादी र गणतन्त्रवादी नेताहरूले एक पटक ठण्डा दिमागले सोंचून् पूर्व राजा ज्ञानेन्द्र शाहले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा व्यक्त यि अभिव्यक्तिहरूमा। अब, दक्खिन या उत्तर या उत्तर अमेरिकाको मुख ताकेर बस्ने बेला हैन ए राजनेताहरू! तम्रा विगत र वर्तमानले तमीलाई नालायक सावित गरी सक्या । चेतना भया।


श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेबबाट ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,


प्रजातन्त्र दिवसको सन्दर्भमा हामी प्रजातन्त्रका उत्प्रेरक हाम्रा पूज्य जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्न चाहन्छौं ।


जनचाहनाबमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासंग हातेमालो गरेको आठौं दशक पुग्दै गर्दा यसका सबल र सुधार गर्नुपर्ने पक्षको समिक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवं यर्थाथपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको छ ।


वडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देखि आजको समयावधिसम्म हेर्दा नेपालको राजपरम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल जनहितकारी र विकासमुखी रही आएको छ। नेपाल एकिकरणको झण्डै २४० बर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधीमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भएपनि अहिले कूशासन, भ्रष्टाचार, निराश लाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ । प्रविधीको विकास र अर्न्तराष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षाहरु सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तरनिहित छ । अहिले युवाहरुको हकमा नेपालको इतिहास मै अद्धितीय जनसाङ्खिक लाभांशको चरणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरु आफ्ना सम्भावना र अवसरबाट वन्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरुको सहभागीता र केही आशालाग्दा नतिजाहरुबाट मुलुकको आगामी दिशाबारे आंकलन गर्न सकिन्छ । विगत वीस बर्षमा दशौं लाख युवाहरु विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुबै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविश्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।


देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रुपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रुपले दवाव दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरुलाई हाईसन्चो भएको भान होला । तर कडा मेहनत गरि आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरु अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेशका सबै दीनदुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरुले स्वदेश मै गरि खाने माहौल नहुनु भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरु अगाडी बढ्न खोज्दै छन् ।


राज्य सत्ताको बागडोर ज-जसका हातमा दोहोरिदै तेहरिदै आए पनि वा फेरिदै बदलीदै गए पनि हाम्रो बिद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन् । तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछाँया नभइ जीवनमा केही हासिल गर्न सकिदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरुको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभाष समाजमा उजागर भएको छ।दलहरुले नेपालको निम्न एवं मध्यमवर्गको मुद्धामा मौन रहने प्रवृत्ति बढ्दो छ । शासकीय उत्तरदायित्व र गाम्भिर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ ।नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरि कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भिर चिन्ताको विषय भएको छ ।


नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं । यी यावत बर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अर्न्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यकोलागि विलम्ब गर्नु हुँदैन।


यस बर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔं । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्म सहितको नेपाली पहिचानको सम्बर्द्धन गर्ने गराउने ध्येय नै मूल मान्यताको रुपमा स्थापित गरौं ।


श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल, २०७९ साल फागुन ७ गते

0 comments

Kommentare


bottom of page