top of page

वरिष्ठ साहित्यकारद्वय डा. ध्रुवचन्द्र गौतम र सरुभक्त वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानद्वारा सम्मानित



काठमाण्डौं: वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति एवं नेपालका लागि बेलायतका राजदूत महामहिम डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वि.सं २०७७ साल वैशाख ६ गते बसेको विशेष बैठकले वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम र चर्चित साहित्यकार सरुभक्तलाई क्रमशः यो वर्षको वसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेकोछ। सो पुरस्कारहरू जनही ७५ हजार र ५० हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिने कुरा सुपरिचित साहित्यकार एवं प्रज्ञाप्रतिष्ठानका सदस्य-सचिव कृसु क्षेत्रीले जानकारी गराएकाछन्। वीस वर्ष अघि वि.सं २०५७ सालमा आफ्ना मातापिताको स्मरणमा स्थापित वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले हालसम्म नेपालका ४० मुर्धन्य साहित्यकार र कलाकारहरूलाई सम्मान गरिसकेकोछ।


डा. ध्रुवचन्द्र गौतम को हुन्?


वरिष्ट साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्धारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदानको कदरस्वरूप वि.सं.२०७७ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञाप्रतिष्ठानले जनाएकोछ।


वि.सं. २००१ पुस २ गते वीरगञ्जमा जन्मनु भएका विशिष्ट साहित्यकार डा. ध्रुवचन्द्र गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेलसरको चोटपटक, अलिखित, निमित्त नायक, एक शहरमा एक कोठा, स्व. हीरादेवीको खोज, दुबिधा, अग्निदत्त+अग्निदत्त, फूलको आतङ्क, तथाकथित, बाढी, उपसंहार अर्थात् चौंथो अन्त्य, मौन, भीमसेन-४ को खोजी र घुर्मी (उपन्यास), आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास), अँध्यारो द्वीपमा, संरक्षक, कथादृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा, जेलिएको र साठी वर्षमा हृदयाघात (कथासंग्रह) र त्यो एउटा कुरा, भष्मासुरको नलिहाड र श्री कृष्णलीला (नाटक) कृतिहरु प्रकाशित भएका छन् ।


को हुन् सरुभक्त?


त्यसैगरी, प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेको कदरस्वरूप चर्चित साहित्यकार सरुभक्तलाई वि.सं. २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।


वि.सं. २०१२ मंसिर १२ गते पोखरामा जन्मनु भएका चर्चित साहित्यकार सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरु (मुक्तकसंग्रह), बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कवितासंग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कापुरुष, कुरुप मसिहा रझुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्मण्ड, र यामागल (कथासंग्रह), युद्ध: उही ग्यासच्याम्वरभित्र, इतिहासभित्रको इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरु, गाउँको कथा यस्तै हुन्छ है, बालबालिकाहरुको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी (नाटकसंग्रह) र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध (उपन्यास) प्रकाशित भएका छन् ।


वीस वर्षमा को को सम्मानित भए?

(वि.सं. २०५७-२०७७)


वसुन्धराश्री पुरस्कार


यसअघि प्रज्ञाप्रतिष्ठानको वसुन्धराश्री पुरस्कारद्वारा निम्न विशिष्ट साहित्याकार र कलाकारहरू सम्मानित भएकाछन्:

२०५७: कविवर माधवप्रसाद घिमिरे

२०५८: वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट

२०५९: वरिष्ठ कथाकार/नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’

२०६०: वरिष्ठ समालोचक यदुनाथ खनाल

२०६१: वरिष्ठ आख्यानकार मदनमणि दीक्षित

२०६२: वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा

२०६३: वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई

२०६४: वरिष्ठ कवि मोहन कोइराला

२०६५: वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी

२०६६: वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान

२०६७: वरिष्ठ कवि वैरागी काइँला

२०६८: वरिष्ठ कवि धर्मराज थापा

२०६९: वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी

२०७०: वरिष्ठ चित्रकार शशी शाह

२०७१: वरिष्ठ कलाकार हरिप्रसाद रिमाल

२०७२: वरिष्ठ संगीतकार अम्वर गुरुङ

२०७३: वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री

२०७४: वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा

२०७५: वरिष्ठ गायक प्रेमध्वज प्रधान

२०७६: वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

२०७७: वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम


मानश्री पुरस्कार


त्यसैगरी, यसअघि प्रज्ञाप्रतिष्ठानको मानश्री पुरस्कारद्वारा निम्न विशिष्ट साहित्याकार र कलाकारहरूसम्मानित भएकाछन्:


२०५७: कवि/गीतकार दिनेश अधिकारी

२०५८: साहित्यकार विनय रावल

२०५९: नाटककार अशेष मल्ल

२०६०: गजलकार ज्ञानुवाकर पौडेल

२०६१: साहित्यकार मञ्जुल

२०६२: कथाकार मधुवन पौडेल

२०६३: कवि विष्णुविभु घिमिरे

२०६४: कवि कृष्णभूषण बल

२०६५: कथाकार भुवन ढुंगाना

२०६६: कथाकार सनत रेग्मी

२०६७: कवि विजय बजिमय

२०६८: समालोचक डा. रामदयाल राकेश

२०६९: कथाकार डा. वेञ्जु शर्मा

२०७०: चित्रकार किरण मानन्धर

२०७१: कलाकार नीर शाह

२०७२: गायक दीप श्रेष्ठ

२०७३: साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ

२०७४: साहित्यकार/सञ्चारकर्मी खगेन्द्र नेपाली

२०७५: गायक भक्तराज आचार्य

२०७६: कलाकार हरिवंश अचार्य

२०७७: सरूभक्त

0 comments
bottom of page