top of page

एसिड प्रहार पिडित महिलाहरूको चित्कार सुन्नु पर्दैन?



कहिलेसम्म पवित्रा कार्की र मुस्कान खातुनहरू प्रताडित भईरहनु पर्ने हो?

-Deepa Nepalee, Kathmandu

काठमाडौं- नेपाली नारीहरूको अनुहार र शरीरमा एसिड प्रहार गरेर कुरूप, अंगभंग पारी जीवन बर्वाद बनाईदिने, ज्यानसमेत लिने नरपिचास पुरूषहरू कुनै महिला अर्थात आमाले जन्माएको सन्तान हुन् कि होईनन्? किन उनीहरूमा मानवताको सोंच आउॅदैन ? ति महिलाहरू पनि आफ्नै दिदिबहिनी र आमा जस्तै हुन् भनेर तिनले सोंच्दैनन्? एसिड प्रहार पिडित नेपाली चेली पवित्रा कार्की माथि त्यहीं बर्बरता घटेको छ। गत साउन ८ गते बिहीबार साँझ काठमाडौंको सितापाईलास्थित डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगा जिल्लाकी २२ वर्षीया पवित्रा कार्की माथि काठमाडौंमा एसिड प्रहार भएको छ। घटना कसरी घट्यो?


घटना यसरी घट्यो


एसिड काण्ड पिडित मुस्कान खातुनको आलो घाउॅ निको हुन नपाउदै फेरि अर्की नेपाली चेली पवित्रा कार्की माथि त्यहीं बर्बरता बल्झिएको हो। नेपाल प्रहरीकाअनुसार, ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्की माथि भएको एसिड प्रहार गर्नेहरू रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रौतहटका मोहम्मद आलमले पवित्रा कार्कीलाई एकातर्फी मन पराउँथे भन्ने कुरा अनुसन्धानबाट खुलासा भएको छ। उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् । पवित्रा कार्कीको अनुहारमा एसिड प्रहारबाट अंगभंग भएकोछ। उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भईरहेकोछ।


मुस्कान खातुन एसिड काण्ड


गत वर्ष वीरगंजमा १५ बर्षीय मुस्कान खातुनमाथि वीरगन्ज–३ छपकैयाबाट वीरगन्ज–६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा २०७६ भदौ २० गते वीरगन्ज–४ विर्तास्थित गणेशमान चोकमा एसिड प्रहार भएको थियो । बाटो कुरेर बसेका मजिद मिया र समसाद आलमले एसिड आक्रमण गरी मुस्कानलाई घाइते बनाएका थिए। मुस्कानलाई नातामा पर्ने आलमले मन पराएको र उनले चाहे बमोजिम मुस्कानले नमाने पछि मियाको सहयोगमा एसिड प्रहार गरेको मजिदले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ। यस्ता घटनाहरू हाम्रो समाजमा घटिरहन्छन्। निराकपण किन हुॅदैन?


हामी किन मौन छौं?


महिला माथि दैनिक हुने गरेका यस्ता हिंसात्मक घटनाले समाज रुपान्तरण नारा फजुल भएको छ। पुरुषले मन पराए पछि महिलाले स्विकार्नै पर्ने यो कस्तो पुरुस्वत्व शासन हो? के महिलाको आफ्नो ईच्छा, चाहना र उद्देश्य हुॅदैन? महिला पुरुषको एउटा उपभोग्य बस्तु मात्र हुन्? महिला पुरूषका बस्त्र मात्र हो मन लागे लगाउने, मन नलागे फुकाएर राख्ने? किन जबर्जस्ती? के छ यि पुरुषहरूले भनेको महिलाले मान्नै पर्ने बाध्यता?


हाम्रो समाजको कुरिति र पुरूषवागी सोंच


जसले संसार देखाउन दश महिना पेटमा बोक्छ। दश धारा दुध खुवाएर हुर्काउॅछ। त्यहीं निर्दोष महिलालाई केहि नरपिचासले स्वतन्त्रपूर्वक बाँच्ने अधिकारबाट बञ्चित गरिएको छ। महिलाको स्वतन्त्रता माथि हमला भएकोछ। त्यतिमात्र होईन, आफूले मन पराएको महिलाले आफुलाई स्विकार नगरे पछि उसको अनुहार कुरुप हुने गरि एसिड फालि दिने गरेर हाम्रो समाजका कैयन युवतीहरुको जीबन बर्वाद भएकोछ।


आधा आकाश ओगटेका महिलाको अधिकार पुरुष सरह हुनु पर्ने हैन र? जनावरसंग पनि तुलना गर्न नमिल्ने केहि कथित पुरुष नामका कलंक नरपिचासहरूको कारण महिलाको जिउने अधिकार र अस्तित्व माथिनै आक्रमण भएकोछ। म त भन्छु- सच्चा पुरुष तिनै हुन् जसले पुरुस्वत्व धारण गरेर महिलालाई सम्मान गर्न जानेका छन्। नामले मात्र पुरुष भईदैन। समाजमा केहि पुरुषले महिला चिन्न सकिरहेका छैनन्। जसले आमा चिन्दैन । बहिनी चिन्दैन। छिमेकी छोरी बहिनीलाई आफ्नै दिदी बहिनीको रुपमा स्वीकार्दैन त्यो पुरुष नामको कलंक मात्र हो। त्यो अपराधी हो। जसले गर्दा समाजमा आफ्नै बाबुबाट छोरी र आफ्नै छोराबाट आमा र आफ्नै दाजुभाईबाट दिदी बहिनीहरु बलात्कृत भएका समाचार दैनिक घटेकाछन्। महिलालाई सामाजिक सुरक्षाको व्यवस्था र परिपाटी स्थापित नगरी महिला अधिकारका गफ मात्र गाउँ र शहरका चोक र गल्लीमा गरेर महिला हिंसाको अन्त्य असम्भव छ।


प्रत्येक नागरिकलाई स्वतन्त्रतापूर्वक बाॅच्न पाउने हक छ भनेर नेपालको संविधानमै उल्लेख गरिएको छ।तरपनि पुरुषले एकोहोरो मनपराएको महिला उनिहरुकै हुनु पर्ने ? महिलाले स्वीकार नगरे शारिरीक र मानसिक यातना दिएर महिलालाई जोखिमपूर्ण जिवन जिउन बाध्य पार्ने गरेका घटना धेरै छन्। पुरुषवादले महिलाको अस्मितामा दमन र खेलवाद गर्दैछ। प्राकृतिक रुपले महिला र पुरुष मानव समाजका अभिन्न अंग हुन् तर समाजमा अप्राकृतिक पुरुष शासनले महिला माथि अधिपत्य जमाएकै छन्। नारीलाई ‘अबला’ बनाई अस्तित्वमा दाग लगाएर ‘मर्द’ बन्न खोज्ने, नरपिचास, चेतना नभएका पशु र नामर्द हुन् यि। अब छोरी जन्मिए निसन्तान भईने डरले ग्रसित हुने र छोरा पाएर खुशीको सिमा नाग्ने आमाहरुले पनि सोच्ने बेला आएको छ। छोरालाई पनि छोरीको जस्तै संस्कार दिएर आमा,दिदीबहिनी र छिमेकी महिलालाई सम्मान गर्न सिकाउन आवश्यक छ। पुरूषवादी हाम्रो समाजना एउटा आमाले जन्माएको छोरो अर्की आमाले जन्माएकी छोरीलाई एसिड हानेर निर्दोष छोरीहरुले सजाय भोग्न पारिएका छन्। हाम्रा संस्कृति र परम्परा पनि महिला हिंसा कायम रहनुमा जिम्मेवार छ। विभिन्न संस्कृति र परम्पराका नाममा अझै पनि शोषण व्याप्त छ। पुरुषलाई महिलाभन्दा सक्षम मान्ने चिन्तनले पारिवार र समाजमा आज पनि महिला माथि घट्ने घटनाहरु पितृसत्तात्मक संरचनाबाट उत्तिकै प्रभाव पारेका छन्। हुन त, देशमा आमुल परिवर्तन गर्ने भनेर, महिला हिंसा, घरेलु हिंसा अन्त्य गर्ने भनेर हरेक आन्दोलन हुने गरेकोछ। आन्दोलनपछि समाज परिवर्तन गर्ने अबस्थामा पुगेका पुरुष महिलाको पक्षमा बिरलै बोल्छन्। एउटी बालबालिकादेखि वृद्धा महिला बलात्कृत हुॅदा सत्तासिन पुरुषहरूलाई चासोको विषय बन्दैन।


पितृसत्तात्मक चिन्तनको जरो उखेलेर फाल्न महिला अभियान र कार्यक्रमबाट मात्र असम्भव छ। किनभने जबसम्म गल्ती गर्नेले आफ्नो गल्तीको महसुष गर्दैन तबसम्म घरपरिवार र समाज परिवर्तन हुन सक्दैन। जो परिवर्तन गर्ने स्थानमा छ त्यहि वक्तिले नै यस्ता मुद्दाहरुमा नबोल्दासम्म समाजमा महिला माथि हुॅदै आएका हत्या, हिंसा र एसिड काण्ड जस्ता घटनाहरु न्युनिकरण हुन सक्दैनन्।


महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने यातना समाजमा धेरै छन्। समाजमा महिला हिंसाको स्थिति कायम रहन घरपरिवारदेखि समाज र राजनितिक निकै ठूलो भूमिका रहीआएको छ। देशमा विद्यमान कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन। देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा पनि उल्लेखनीय परिवर्तन आउन सकिरहेको छैन। समाजमा व्याप्त पितृसत्तात्मक सोंच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन्। पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ। महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा तिब्र रुपमा बढेको छ। महिलामाथि एसिड खन्याएर कुरूप बनाउने, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, दैनिक घर(व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने/गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटनाहरु सामान्य रुपमा घटिरहेकै छन्। तर अधिकांस महिलाहरु सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारणले पनि आफूमाथि भएका घटना बाहिर ल्याउन सकिरहेकाछैनन्। समाधानको कुनै विकल्प नभेटिए पछि मात्र घटना सार्वजनिक हुने गरेको पाइन्छ।


महिला हिंसा र विभेदको अन्त्य कसरी गर्ने?


महिला भएकै कारण जन्मपूर्वदेखि मृत्यू नहुञ्जेलसम्म घरपरिवार र समाजले महिलालाई हेरिने दृष्टिकोण र गरिने व्यबहार विभेदी छ। हाम्रो परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाईजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर कुचपिट र घर निकाला गरिने, बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जवरजस्ती करणी, बैवाहिक बलात्कार, बहुविवाह, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामा करणी, वैदेशीक रोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन, यौन शोषणलगायतका हिंसाले हाम्रो समाज ग्रसित छ । राज्यको संरचनाले नै महिलाहरूको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूषप्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउन नसकेको हो । महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलता र शरीरमाथि अरूले नियन्त्रण गर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको हो। अत्तः यस्ता खालका घटनालाई निराकरण गर्न हामी बाहिर बोलेर मात्र होईन आफ्नै घरपारिवार र समाजबाट महिला सुरक्षा, सम्मानको सुरुवात गर्न आवश्यक छ । कानूनमा महिला हिंसाको पिडकलाई हदासम्मको सॅजायको व्यवस्था हुनु जरूरी छ। पछिल्लो समय, समाजमा बाहिर हेर्दा निकै परिवर्तन आएको जस्तो देखिएता पनि महिलामाथि गरिने विभेदपूर्ण व्यावहार, हेरिने नजर पुरातनिक र संकुचितनै रहेकोले समाजको समूल परिवर्तन गर्न थाल्न समाजका सबै पक्ष एक जुट भएर लाग्नु अपरीहार्य छ।


0 comments

Comments


bottom of page