नेपाली आकाशमा मडारिएको कालो बादलः नेपालमा ५८ औं हवाई दुर्घटना! कसरी बँच्न सकिन्छ?
Updated: Jan 20

-Pradeep Pariyar Thapa
Updated: Exclusive: माछापुच्छ्रे सुन्दर हिमालको काखमा अवस्थित पोखरा नगरीमा आईतवार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको दुखान्तले नेपाली समाज स्तब्ध बनाएकोछ। र, नेपाली आकाशमा बारम्बार हुने यस्ता हवाई दुर्घटनालाई लिएर अर्को वहस शुरू भएको छ- नेपाली आकाश कति सुरक्षित छ? सन् १९६१ यता नेपालमा ५८ औं हवाई दुर्घटना घटी सकेकोछ। उता हेलिकप्टर दुर्घटनाको संख्या पनि ३६ पुगिसकेको छ । विगतका ६२ वर्षहरूमा झण्डै वर्षेनी जस्तो भएका ५८ हवाई दुर्घटनाहरू किन भैरहेकाछन्? नेपालको सुन्दर भौगोलिक बनावटको पहाडी कुनाकन्दरामा अवस्थित विश्वकै खतरनाक मानिने विमानस्थलहरूको प्रस्थान र अवतरणमा हुने अप्रिय दुर्घटनाहरूको कारण के होलान् या विशेष गरी पुराना सेकेंड ह्याण्ड हवाईजहाजहरूको उपयोचित मर्मत संभार र चुस्तदुरूस्त सुपरिवेक्षणको कमिकम्जोरी पो होकि? नेपाल सरकारले नेपाली आकाशमा मडारिई रहने हवाई दुर्घटनारूपी कालो बादलको पर्दा हटाएर सुरक्षित अवतरणको मन्चन (व्यवस्थापन) कहिले गर्ला? यो पछिल्लो परिघटनाले माथि उल्लेखित अनुत्तरित प्रश्नहरू खडा भएकाछन्।
पोखराको त्यो भयानक दुखान्त
पोखरा ओर्लिनेक्रममा आईतवार (माघ १/जनवरी १५) मा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको दुखान्त भएको छ। नेपाल सरकारले ६९ जनाको शब सनाखद भएको जानकारी गराएकोछ जस मध्ये सो विमानमा ५३ जना नेपाली सहित ५ भारतीय, ४ रसियन, २ कोरियन र एकएक जना आइरिस, अर्जेन्टिनी, अस्ट्रेलियाली र फ्रान्सेली सवार थिए । सो मध्ये दुई जना पाईलट, दुई परिचारिका, दुइ बालकहरु र तीन जना शिशुहरू पनि रहेको जानकारी दिइएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले दुर्घटनाग्रस्त विमानबाट कुनै पनि यात्रु जीवित उद्दार नगरिएको जानकारी दिएकाछन् । बाँकी तीन जनाको खोजी जारी रहेकोछ।
यति एयरलाईन्सको यो 9N-ANC कोड अंकित पन्ध्र वर्ष पुरानो डबल ईन्जिन ATR विमानले आईतवार विहानदेखि तीन उडान भरेको थियो जुन छोटो दुरीमा नर्मल उडान मानिन्छ। बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७:४५ मा पोखराबाट काठमाडौं फर्केर पुनः बिहानै १०:३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । काठमाण्डौंदेखि पोखराको दूरी ८० माईल्स (१२९ किलोमिटर) रहेको छ भने यात्रा झण्डै २५ मिनेटमा पुरा हुन्छ। तर उक्त हवाईजहाज बिहानको १०ः५० नबज्दै नवनिर्मित पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकैको सेती नदीको खोंच (gorge) मा दुर्घटनाग्रस्त हुन पुगेको थियो । यो विमानले गत पौष ७ गते नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पौष १७ गते उद्घाटन समारोहका दिन उडान भर्ने पहिलो जहाज पनि यहीं थियो ।