top of page

अमेरिकी राज्य मासाचुसेट्सका ३० हजार विद्यार्थीहरू पढ्दैछन् नेपाली छोरी डा. विष्णुमाया परियारको कथा

Exclusive: नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जातीय छुवाछूत विरूद्ध र महिला सशक्तिकरण तथा बालबालिका शिक्षाको साढे दुई दशक लामो जीवन संघर्षको कथा अमेरिकी राज्य मासाचुसेट्सका हाल ४० डिस्ट्रिक्टका १५० विद्यालयका ३० हजार विद्यार्थीहरू अध्ययन गरिरहेकाछन् । यसैबिच, यहीं नोबेम्वर १५ तारिख अमेरिकी सहर बोस्टनस्थित देधाम मिडलस्कूलका कक्षा ७ का झण्डै २१५ जना विद्यार्थीहरूलाई मासाचुसेट्स राज्यको शिक्षा विभागले राज्यस्तरमा लागू गरेको पाठ्यक्रममा डा. परियारको जीवनकार्यसंग सम्बन्धि विषय Taking Action to Reduce Inequality: The Work of Bishnu Pariyar, Unit 7.1; Lesson 16; UN Sustainable Goal 10: Reduced Inequality डा. परियारको उपस्थितिमा परिचर्चा गरियो। यो पाठ्यक्रम सन् २०२२ मा मासाचुसेट्स राज्यको शिक्षा विभागले प्राईमरी सोर्सको सहकार्यमा तयार पारी राज्यस्तरमा लागू गरेको हो।

उक्त सामूहिक अध्यापन पछिको भेलामा मासाचुसेट्स राज्यको शिक्षा विभागका रेबुबेन हेनरिकले सो पाठ्यक्रमबारे जानकारी गराउँदै राज्यभर १५० डिस्ट्रिक्ट रहेको र अहिले ४० डिस्ट्रिक्टका १५० विद्यालयका झण्डै ३० हजार विद्यार्थीहरूलाई पढाईन शुरू गरि सकिएको जानकारी गराए। साथै, यो पाठ्यक्रम अमेरिकाको अन्य राज्यहरूका विद्यालयहरूले पनि पढाउन शुरू गरिएको बताए। सो सामूहिक अध्यापन कक्षामा शिक्षा विभागका हेनरिक, पाठ्यक्रम तयार गर्ने प्राईमरी सोर्सकी जिलस्टिभन, देधाम मिडल स्कूलकी प्रिन्सिपल क्यारेन हिलम्यान, कक्षा ७ कि सोसल साईन्स तथा वर्ल्ड जिओग्राफी शिक्षिका किम्बर्ले राण्डल र अन्य शिक्षक-शिक्षिकाहरू उपस्थित रहेका थिए।


Nurturing Young Minds Equality

नयाँ पुस्तालाई समानताको शिक्षा


विभेद रहित समाजको कल्पना गर्नु हाम्रो नियती हो भने भावी पुस्ताको न्युनतम हक हो। संयुक्त राष्ट्र संघले आफ्नो दीगो विकासको लक्ष-१० मा Reduced Inequality (असमानताको न्यूनिकरण) भन्दैसन् २०३० सम्ममा आर्थिक असमानताको साथसाथै जात, जाति, धर्म, लैंगिक, उमेर र असक्तताको आधारमा हुने असमानता घटाउने प्रतिवद्दता गरेकोछ। नेपालकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार जन्मिदै तथाकथित दलित र अछुत बनाएको कारण उनले खेप्नु परेको हण्डर र संघर्षको कथा अहिले विश्वभरका कलेज, विश्वविद्यालयहरूमा लाखौं युवा विद्यार्थीहरूले पढिरहेकाछन्- डा. लिसा होफ्नरको The Writer’s Mindset मार्फत।


त्यसैगरी, अछुत र दलित बनेर उनले भोग्नु परेको पीडा र त्यसबाट उन्मुक्तिको बाटो पहिल्याउन उनी र उनको संस्था एडवानले विगत २७ वर्षदेखि गर्दै आएको सत्प्रयासको दृष्टान्तलाई यतिखेर अमेरिकाको मासाचुसेट्स राज्यको शिक्षा विभागले राज्यस्तरको कक्षा-७ को पाठ्यक्रममा “Lession-12: Untouchability and SDG 10” (पाठ-१२ः अछुतपना र दीगो विकास १०) शिर्षक अन्तर्गत आठ पेजको लामो पाठ्य सामाग्री अनुमोदन गरी राज्यस्तरमा पढाई शुरू गरेको छ। यो पाठ्यक्रम शैक्षिक पाठ्य सामग्री निर्माण गर्ने मुनाफारहित संस्था प्राईमरी सोर्सले तयार गरेको हो।


उता नेपाल सरकारको शिक्षा मन्त्रालय या शिक्षा विभागले जातको आधारमा अछुत/छुवाछूत विभेदन्यूनीकरण गर्ने सम्बन्धी पाठ्यक्रम कतै निर्माण गरेको छ या छैन। नेपालको संविधान र कानूनले छुवाछूत र जातीय विभेद बर्जित गरेकोछ तर तथाकथित दलित भएकै कारण हेपिनु पर्ने र मारिनेक्रम रोकिएको छैन। तर यता अमेरिकाको मासाचुसेट्स राज्यको यो शैक्षिक चेतना नयाँ पुस्तामा अंकुरण गर्ने पहल सराहनीय छ।


सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सीसिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। सोही जर्सी सिटी नगरले दोश्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा सन् २०२१ को सेप्टेम्वर २० तारिख नेपालको झण्डा फराएको थियो।


त्यसैगरी, अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको थियो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।


जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. विष्णुमाया परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि नेपालमा गएको महाभूकम्पले उनीहरूको नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पुर्याउन टिपिएस (TPS) सुविधा दिलाउने सम्बन्धी काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन सन् २०१५ र २०१८ मा पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।


अमेरिकाको न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) मा नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ताडा. विष्णुमाया परियारसहित २८ जना व्यक्तित्वहरू मनोनित गरिएकोछ। यसरी कमिसनर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन्। गभर्नर मर्फीले सन् २०२१ को नोवेम्बरमा एएपिआई कमिसनको स्थापना गरेका थिए भने मे महिना एएपिआई सम्पदा महिनाकोरूपमा मनाईने अवसर पारेर उक्त नियुक्ति गरेका हुन्। गभर्नर मर्फीले एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्यूजर्सी राज्यमा अमेरिकाभरमा तेश्रो ठूलो संख्या रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएकाछन्। उक्त एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हक हीतको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिईएकोछ।


यसैविच, गभर्नर मर्फीले न्यू जर्सी राज्यको K-12 विद्यालयहरूमा सन् २०२२-२३ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरबारे पठनपाठन गरिने कानून पारित गरेका थिए। एएपिआई समुदायबारे पाठ्यक्रममा पढाई अनिवार्य गर्ने राज्यहरूमा ईलिनोई राज्यपछि न्यू जर्सी राज्य दोश्रो अमेरिकी राज्य बनेकोछ।


जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको विविधता र समावेशी वोर्डकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम कमिटीको सदस्य रहेकीछिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन सन् २०२२ को जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा गठन भएको हो।


डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयर पोईन्ट हेल्थ अन्तर्गत हड्सनस्पिककि वरिष्ठ प्रोग्राम डाईरेक्टरको रूपमा कार्यरत छिन्। हड्सन स्पिक न्यू जर्सी राज्यको हड्सन काउण्टीमा साढे छ लाख जनसंख्यालाई यौन हिंशा विरूद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो।


नयाँ पुस्तालाई समानताको शिक्षा


डा. विष्णुमाया परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ।विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ (The Writer’s Mindset) पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ। यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो।


उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।


विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको१००+ (सय बढी) मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को डाटा अनुसार हाल यो पब्लिकेसनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्रोफेसरहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन्।


राष्ट्रीय र अन्तर्राष्ट्रीय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयर ग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई "डा. विष्णुमाया परियार डे" घोषणा गरिएको छ । यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशीभूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।

एड्वानले स्थापना काल सन् १९९८ देखि हालसम्म २५ हजार बढी बालबालिकाहरू र डेढ लाखभन्दा बढी दलित र सिमान्तकृत तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दीगोकृषि, सामाजिक जागरण, संचेतना, कानूनी प्रशिक्षण लगायतका विविध क्षेत्रहरूमा योगदान पुर्याउँदै आएकोछ। एड्वानकी संस्थापक अध्यक्ष डा. परियार हुन्।

Dr. Bishnu Maya Pariyar is founding President of ADWAN (Association for Dalit Women's Advancement of Nepal), a rights-based Nepali organization which has supported more than 25,000 children and more than 125,000 Dalit and marginalized women and their family members in Nepal since 1998.

0 comments
bottom of page