बालेनको स्वधर्म र आस्थाको किन विरोध?
- Nepalism.com

- Mar 25
- 2 min read

विश्वका नेताहरूले चैं गीता छोएर सपथ खान हुने?
-प्रथा मगर
Updated: Exclusive: कुनै पनि राजनेताले आफूले जिम्मेवारी निभाउनु अघि आफ्नो निजि आस्था मुताबिक पूजापाठ गर्नु या आफूले मानेको धर्मको धर्मग्रन्थ छोएर सपथ लिनुलाई धर्मान्ध या अन्य धर्महरूलाई अनादर गरेको ठान्नू नै प्रथम दृष्टिमै गलत छ। अझ नेपालको सन्दर्भमा त प्रतिनिधिसभामा निर्वाचित भएर आएका विभिन्न जात जाति, भाषा र धर्मावलम्बी सांसदहरूले आआफ्नो भेषभूषा, भाषा र धर्मअनुसार सपथ लिनु पर्दछ। यसो गर्नु संविधानले दिएको अधिकार पनि हो। हामी नेपालीले आफ्ना हरेक कार्यको शुभारम्भ शुभ दिन हेराएर गर्छौं। आफूले गर्न आँटेको कुनै पनि कार्यको लागि देविदेवता भाकल गर्छौं र शुभ दिन हेराएर, पूजापाठ गरी कार्य शुभारंभ गर्छौं। बालेनले गर्न खोजेको पनि आफूले गर्न लागेको शुभकार्यको थालनीमा शिर्फ नितान्त निजत्व पूजापाठ हो। बालेनले आफू आगामी पाँच वर्षको निम्ति देशको प्रधानमन्त्री बन्दै गर्दा बिना बाधाबिध्न जनताको पक्षमा राम्रो काम गरेर आफ्नो कार्यकाल पूरा गर्न सकूँ भनेर आफूले सपथ खाँदा १०८ ब्राम्हण बटुक र १०७ बौद्ध लामा गुरूहरूले स्वस्तिवाचन र मंगलवाचन गराउन चाहेको हो भन्ने बुझिन्छ। तर सोहीअनुरूप चाँजोपाँजो मिलाईएको खवर बाहिरिन नपाउँदै भावी प्रम बालेनको चर्को विरोध शुरू भएको छ, जुन नेपालीहरूको ढोंगी चरित्र र अरण्यरोदन मात्र हो। बालेनको स्वधर्म पनि छ र उनले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण कार्यको शुभारम्भ आफ्नो सनातनी आस्थामा आधारित रहेर गर्न पाउने नेपालको संविधानले दिएको उनको नैसर्गिक अधिकार पनि हो।

यसैबिच, संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालका अन्य मातृभाषामा शपथ लिने जानकारी गराएको छ।
विश्वको दृष्टान्त
उसो त विश्वभरका राजनेताहरूले पनि आफू निर्वाचित भएपछि पदभारको सपथ लिंदा आआफ्नो धार्मिक आस्था अनुसार बाइबल, कुरान या भागवत गीता हातमा लिएर/छोएर सपथ लिने प्रचलन छ। उदाहरणको लागि अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिस (उपराष्ट्रपति हुँदा बाईबल र सिनेटर हुँदा भागवत गीता) र बेलायत (युके) का पूर्व प्रधानमन्त्री रिषि सुनाकले भागवत गीता छोएर सपथ लिएको कुरा यहाँ स्मरण गर्न सकिन्छ।
ढोंगी नेपाली
हामी नेपाली यति ढोंगी र रूढ़िवादी छौं कि घरपालुवा बिरालोले बाटो काट्दा रोकिन्छौं। अर्को मान्छे, कार, या साईकल आफू अघि बढे पछि मात्र हामी बल्ल हिड्छौं। मंगलवार घर छोडेर यात्रा नगर्ने भन्छौं। मांगलिक दोष भएकोसंग बिहे गर्न हुँदैन भनेर चिनेजाने जति मान्छेलाई कानमा खुसुक्क “फलानोकि छोरी या छोरो त मांगलिक हो नि” भनेर विष बमन् गर्छौं र कसैको जिन्दगी बर्वाद गरिदिन्छौं। यस्ता ढोंगी नेपालीको विरोधको कुनै तुक छैन।

अघि बढ बालेन
हात्ती लम्कि रहनु पर्छ, कुकुर भुक्दैमा रोकिनु पर्दैन। अघि बढ बालेन। सबै नेपालीलाई आआफ्नो मौलिक भेषभुषा, भाषा र धर्म-संस्कृति पालना गर्न सिकाउ। तिम्रो जनकपुरको मैथिलि भाषामा मात्र गरेको भाषण कुनै साम्प्रदायिक र जातिवादी थिएन, त्यो त सय थरी बाजा सय थरी ताल घन्किने नयाँ नेपालको सयौं थुंगा फूलका हामी एउटै माला नेपालीको मीठो उद्घोष थियो।
नविर्सौंः
नेपालको राष्ट्रगान
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।




Comments