वाह हाम्रो राष्ट्रियता, यो त पहिचानको कुरा पो त ! गर्व गरौं

Exclusive: अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टेभन फुलपले जुन ३० तारिख (June 30, 2017) नेपाली झण्डा सिटी हलको नीलो आकाश माथि फहराउँदा अर्थात झण्डोत्तोलन गर्दा नेपाली झण्डा अमेरिकी झण्डा मुनि रहेको प्रसंगलाई विशेष गरी अमेरिकामा रहेका केही नेपालीहरूले यति चर्को स्वरमा विरोध गरे कि मानौं उनीहरूभन्दा राष्ट्रवादी अरू कोही छैन। खोई हामीले आभार व्यक्त गरेको मेयर फुलपलाई ? जसले जर्सी सिटी शहर अमेरिकाको सबैभन्दा विविधतापूर्ण आप्रवासी समुदायहरू रहेको सहर घोषणा गर्दै नेपाल र नेपालीहरूको सम्मान गर्न पाउँदा गर्व लागेको जनाए। जर्सी सिटी सहर नेपालको झण्डा आफ्नो अफिसियल कार्यालय भवनमा फहराउने विश्वमै पहिलो अमेरिकि सहर बनेको कुरामा गर्व गर्नु पर्दैन ?
मैले मेयर फुलपद्वारा नेपाली झण्डा फहराउने समारोहमा स्वागत भाषण गर्दा म लगायत जर्सी सिटीवासी नेपालीहरूको तर्फबाट मनभरीको आभार व्यक्त गरेको थिएँ। समय मिल्यो भने तल पढ्नुहोला।
विबादबारे मेरो प्रतिक्रिया:
1. जर्सीसिटी मेयर अफिसले दिएको झण्डाको साईज 4x6 फिटको हो। सो अनुसार नै नेपालको झण्डा उपलब्ध गराईएको हो।
2. झण्डा फहराउने डण्डामा नेपालको झण्डा ६ फिट लम्बाई (length) तिरबाट छिराईन्छ र ४ फिट चौडाईतिर फहराईन्छ भने अमेरिकाको झण्डा फहराउँदा (hoist) ठीक अर्को (उल्टो) गरी ४ फिट चौडाई (width) तिरबाट डण्डामा छिराईन्छ ६ फिट लम्बाईतिर फहराईन्छ। यसरी फहराउँदा नेपालको विश्वमै एक मात्र त्रिकोणात्मक (triangular) झण्डा विश्वका अन्य सबै देशहरूका चतुर्कोणात्मक (quadrilateral) झण्डाभन्दा फहराईनेतिरको लम्बाईमा सानो देखिन्छ।
3. माथि उल्लेखित साईजको हिसाबले टेक्निकली (प्राविधिक) रूपमा दुईटै झण्डाको साईज बराबर नै हो।
4. जर्सीसिटीमा झण्डा फहराईएकै हो, फोटोसप गरिएको हैन। झण्डा फहराउने समारोहमा उपस्थित झण्डै सयजना नेपालीहरू र अमेरिकी पाहुनाहरूत्यो ऐतिहासिक क्षणको साक्षी छन्।