भूमे समाज अमेरिकाद्वारा स्थापनाको सात महिनामै मातृभूमिको निम्ति ११ हजार डलर संकलन, सिको गर्ने हैन?

Updated: न्यू योर्क- यसै वर्ष (सन् २०२१) गत मार्च ७ तारिख स्थापित भूमे समाज अमेरिकाले आफ्नो जन्मस्थल रूकुम पूर्वस्थित भूमे गाउँपालिकाको उत्थानको निम्ति एघार हजार डलरभन्दा बढी संकलन गरेर मातृभूमिको सेवामा समर्पित गरेकोछ। स्थानियवासीहरूको संलगनता भयो भने नेपालका हरेक गाउँपालिकाबाट अमेरिकामा रहेका लाखौं नेपालीहरूले आआफ्नो गाउँपालिकालाई यथेष्ट सहयोग पुर्याउन सकिने कुरा भूमे गाउँपालिकाका नेपाली अमेरिकीहरूले संकलन गरी पठाएको आर्थिक अनुदान एक अनुकरणीय उदाहरण बनेकोछ। सिको गर्ने हैन?
भूमे समाज अमेरिकाले गत मे र जुन महिनामा भूमे गाउँपालिकाका वासिन्दाहरूको लागि Bhume COVID-19 Medical Emergency Fundraiser गरेर $१०,९२८ (दश हजार ९२८ डलर) संकलन गरी भूमे गाउँपालिकाको खातामा पठाएको थियो भने यहीं अक्टोवर १७ तारिख न्यू योर्कमा आयोजित भूमेवासीहरूवीचको दशैं शुभकामना आदान-प्रदान कार्यक्रममा संस्थाले स्थापना गरेको वार्षिक $१,५०० डलरको पुस्तकालय परियोजना कोष (BSA Library Project Fund) को निम्ति $८७३.०० डलर संकलन गर्न सफल भएको थियो। यो कोष भूमे गाउँपालिका, रूकुम पूर्वमा रहेका ४ वटा प्लस टुका माध्यमिक विद्यालयहरूमा पुस्तकालय स्थापना गर्नका लागि प्रदान गरिने छ। यो कोष प्राप्त गर्नका लागि हरेक वर्ष सम्वन्धित विद्यालयहरूले प्रस्तावसहित निवेदन दिनु पर्नेछ । वर्षमा एउटा स्कूललाई दिइने यस कोषको लागि १ भन्दा बढी निवेदनहरू परेमा कार्य समितिले गोला प्रथाबाट निर्णय गर्नेछ । शुरूवातीमा $१,५०० डलर मात्र भए पनि भविष्यमा आवश्यकता अनुसार कोषको रकम बढाउन सकिने संस्थाले जानकारी गराएकोछ।
कोभिड आपतकालिन राहत रकम अनुदान प्रदान गर्ने अमेरिकाका विभिन्न राज्यहरू म्यास्याचुसेट्स, टेक्सास, क्यालिफोर्निया, न्यू जर्जी, पेन्सलभेनिया, कनेक्टिकट र न्यू योर्कमा रहेका ५२ जना भूमेवासीहरूले प्रदान गरेका थिए ।आर्थिक सहयोग गर्ने सबै सदस्यहरूलाई भूमे गाउँपालिकाले कदर-पत्र प्रदान गरीसकेकोछ ।
