-संजिव कार्की, काठमाण्डौं
कोरोना भाईरस महामारीबाट नेपालका ६४ जिल्ला प्रभावित बनिसकेका छन् भने १३ जिल्लामा कोरोनाभाईरस संक्रमित भएको पुष्टी भएको छैन । नेपालका सात प्रदेश मध्ये २ नम्बर प्रदेशका सबै जिल्लामा कोरोनाभाईरसले आफ्नो उपस्थित देखाएको छ । कोरोनाभाईरसबाट नेपालमा ३,४४८ जना संक्रमित भएकाछन् भने १३ जनाको ज्यान गएकोछ । संक्रमण मुक्त भएका ४६७ जना छन् ।नेपालमा चैत्र ११ देखि शुरू भएको लकडाउनले दुई महिना कटी सकेकोछ। कोरोनाभाईरस नियन्त्रणमा नेपाल सरकार कुन कुरामा चुक्यो? जनताले भोगेका नियति र अनूभूति के हुन्? हामीले यो महारोगबाट के शिक्षा लिन सक्छौं? आउनुहोस्, चर्चा गरौं।
कोरोनाभाईरस नियन्त्रणमा अरु देशका अनुभव र मोडेल हेरी आफ्नै बस्तुपरक मोडेल तयार गरेर नेपाल सरकार लाग्नु पर्ने थियो तर सरकारले त्यसो गर्न सकेन।खरिपाटीमा सुव्यवस्थस्थित क्वारेन्टाइन बनाएर पहिलोपटक माघ ९ मा संक्रमित एक जनाको सफल उपचार गरेर घर पठाएको सरकार दोश्रो पटक फ्रान्सबाट आएकी १९ वर्षीय युवतीलाई चैत्र १० मा संक्रमित पाउँदा चैत्र ११ देखि लकडाउन गरेर लकडाउन नै कोरोनको औषधी हो भन्ने बुझाई र भ्रममा रह्यो । लकडाउन त भयो तर शहरी क्षेत्रमा काम गरेर जीवन यापन गर्ने श्रमिक मजदूर र आम सर्वसाधारणलाई खाना बस्नको अभाव भयो, घर भाडा तिर्ने स्थिति बनेन तब जनताहरु मरे पनि गाउँमा नै मर्ने भन्दै पूर्व मेचीदेखि पश्चिम कालीसम्म पैदल हिडेर घर जान निस्किए । आफ्नै माटोको माया र आफ्नै घरको आँगनको माया कस्तो हुन्छ यहाँ प्रकट भयो । केही दिनमै देशको राजधानी काठमांडू लगायत ठूला शहरहरू दशैंको बेलामा झैं सुनसान हुन थाल्यो।
नेपालमा पहिलो कोरोनाभाईरस संक्रमित निधन
नेपालमा कोरोनाभाईरस संक्रमित पहिलो निधन एक महिलाको जेठ ३ गते धुलिखेल अस्पतालमा मृत्यू भएको थियो l बार्हबिसे नगर पालिका-९ राम्चे, सिन्धुपाल्चोककि २९ वर्षीय महिला वैशाख २४ गते त्रिभुवन विश्व विधालय महाराजगन्जमा नर्मल डेलिभरी भएर २५ गते डिस्चार्ज भएर घर गएकीथिइन्। केहि दिनपछि केही असहज महशुश भएपछि निजलाई एम्बुलेन्समा राखेर जेठ २ गते धुलिखेल अस्पताल ल्याउँदा उनको बाटोमा नै मृत्यू भएको थियो । मृत्यूपछि उनलाई कोरोना संक्रमण पुस्टि भएको थियो l उनका श्रीमान्, नवजात शिशु र परिवारका कुनै पनि सदस्य कोरोना संक्रमित नभएको अस्पतालले जनाएको छ। अन्य देशमा १५० जनाभन्दा बढी नेपालीको कोरोनाबाट मृत्यू भएको तथ्यांक छ।
नेपाल फर्किने नेपाली
भारतबाट आउने क्रम सिमा बन्द भए पछि कति नेपाली महाकालीको भेलमा होमिएर पनि रातारात नेपाल आए । तर सरकारले न लकडाउन कडा गर्दैगर्दा अलपत्र परेका आफ्नो नागरिकलाई न उद्दार, नबास, गास र कपासको बन्दोबस्त गर्न सक्यो। न गाउँ जाने व्यवस्था, न भारतबाट घर आउनेलाई ल्याउन सक्यो बरु सरकार अकर्मण्यताको तीव्र आलोचना र निन्दाको भागीदार बन्यो । गाउँलेहरु आफै घर फर्के या स्थानीय निकायको सहयोगमा घर पुगे । सरकारले संचार माध्यमहरूले कोरोनाबाँट जनतामा परेको असरबारे रिपोर्टिंग गरेको कुरालाई रमिता देखाएको भनेर जनताको दु:ख र गरिबीप्रति उपहास गर्न व्यस्त रह्यो ।
लाचार सरकार
यद्दपि, अझै सबै कुरा बिग्री सकेको थिएन तर सरकारको प्राथमिकता कोरोना रहेन। कमिसनको चक्करमा औषधि संबन्धि काम नै नगरेको कम्पनीमार्फत चाइनाबाट कोरोनासँग सम्बन्धित टेष्टिंग र औसधिजन्य सामग्री खरिद गर्दा कमसल सामग्री ल्याएर सरकार बदनाम बन्यो ।
देश लकडाउन गरेर सरकार चैं अमुक पार्टी फुटाउने, अध्यादेश जारी गर्ने, सांसद अपहरण जस्तो काम गरेर आफ्नै पार्टी अन्तरसंघर्ष अनि टुटफुट र विभाजनको संघारतिर बरालियो मानौं कोरोनाको भय र आतंकले नेपाललाई छोएकै छैन या कथंकदाचित छोएमा पनि फुमन्तर गरेर भगाउने नेपालको समार्थ्य छ जसरी। सरकार असंवेदनशील र अनैतिक भएर आफ्नो मूल जिम्वेवारीबाट बिमूख भएको कुरा जो कोहीले भन्न सक्छ । फलस्वरुप, देश अस्तव्यस्त बन्ने क्रमले तीव्रता पाएको हो । जनावर बस्न अयोग्य ठाउँहरु क्वारेन्टाइन आईसोलेसनको स्थल बनेका छन् । आइसोलेसनको अवस्था गएगुज्रेको छ, अस्पतालमा भेन्टिलेटर र आवश्यकीय औषधिको अभाव हुँदैछ । देशमा चरम निराशा र असन्तोष मुखरित हुँदै गएको अवस्था छ। कोरोनाभन्दा अरु रोग, भोक, शोक, भय र अन्य दीर्घरोगको उपचारको अभाव अनि उपचार र स्याहारको अभावमा गर्भवती र शिशु मृत्यू तथा वृद्द-बृद्दाको मृत्यू बढ्दो र बेख़बर छ । लकडाउनको कारण आर्थिक, सामाजिक, मनोवैज्ञानिक कारणले मान्छेहरु डिप्रेसनमा गएर आत्महत्यामा उल्लेख्य वृद्दि भएको रिपोर्टहरु आएका छन् । जुनसुकै मृत्यू पनि अनाहक र असमयमा हुनुको कारण कोरोना हो भनेर बुझ्न सरकारले सकिरहेको छैन तर उल्टो आफ्नो तदारुकता र सरकारी चुस्तताले कोरोनाबाट मानवीय क्षति कम भएको कुतर्क पेश गरेर जग हँसाइरहेको छ । जे पर्ला सो टर्लाको भरमा हामी कोरोना महामारी रोगसँग लड्दै भिड्दै छौं।
अरबौं खर्च तर पारदर्शिता खोई?
नेपाल सरकारले ९ अर्ब ८७ करोड रुपियाँ कोरोना नियन्त्रण, रोकथामका लागि सामग्री खरिद, क्वारेन्टाइन निर्माणमा खर्च गरेको विवरण सार्वजनिक गरेको छ भने कोरोना राहत कोषमा २ अर्ब ३२ करोड रुपियाँ जम्मा भएको जानकारी दिएको छ । देशलाई कोरोना सङ्क्रमणकालीन अवस्थाबाट बचाउन राज्यले खर्च कटौती र अनावश्यक खर्चमा रोक लगाउने नीति तय गरेको छ तर ब्यबहार बिल्कुल भिन्न र अपारदर्शी देखिन्छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं राष्ट्रपति भवनमा करौडौंको गलैंचादेखि पाइखाना सजावट अनि मन्त्री निवासमा जिमखानामा करोड हाराहारीको टेन्डर अनि करोडौं पर्ने गाडी खरिदमा प्रदेश सरकार अनि संसद विकास कोष जस्तो अपारदर्शी कोष कायम राखेर बजेट भाषण जनताको नियति र नेताको नियत भएको छ । सरकारी अस्पताल मात्रै आजसम्म कोरोनासँग लडन तयार गरिएको छ तर अन्य प्राइभेट अस्पताल र तिनका ल्याब प्रयोगमा ल्याउन ढिला भै सक्यो ।सरकार समन्वय गरेर अघि बढ्न सकेको छैन ।
संसारभर यतिबेला खड्केको मुख्य कुरा हो- अस्पताल र उपचारको प्रभावकारी व्यावस्थापन। मन्दिर, मस्दिज, गुम्बा, चर्च, गिर्जाघर, स्कूल, व्यावसाय, कलकारखाना, अफिस सब बन्द भएकाछन् तर अस्पताल खुल्ला राखेर जीवन रक्षा गर्नु परेकोछ।यसर्थ पनि अब पुन्य कर्म गर्दा सहकारी अस्पताल निर्माण, सहयोग दान धर्ममा लाग्नुपर्ने, रोग र त्यसको निदानको लागि रिसर्च सेन्टर स्थापना र संचालन गर्नतिर लाग्नु पर्ने भएको छ ।
कोरोनाले सृजेको अवसर
कोरोना कहर मात्रै होइन अवसर पनि भएको छ गाउँ गाउँको लागि । दशैँ, तिहार र चुनावी चहलपहलमा मात्र भाइब्रेट हुने गाउँ बस्तीहरु यो पटक वसन्त रितुमै भाइब्रेट भएका छन् । थोरै भएपनि गाउँका रुखा सुखा जग्गा जमिन जोतिएका छन्, बाँधा खेतबारी हराभरा हुने सम्भावना छ। अब गाँउमै जम्ने र रम्ने बातावरण सरकारले सिर्जना गर्नुपर्छ । आत्मनिर्भर हुने कृषि लगायत उत्पादन, उद्योग ब्यबसायलाई प्रोत्साहन गरिनु पर्छ । यसो भन्दै गर्दा सरकार मल, बिउ बिजनमा कर लगाएर आयातित चकलेटमा कर घटाउने नीति लिएको कुरा गर्नु पर्दा नमिठो दु:खिरहेछ । अर्थ व्यवस्था आत्मनिर्भर बनाउने गेम चेन्जर अवसर बनाउन सरकारको दुर दृष्टि आवश्यक छ । अर्थ संकुचन हुन नदिने सरकारले लिने नीति र बनाउने पोलिसीमा नेपालको भाग्य र भविष्य अन्तर्निहित छ । अब बैदेशिक रोजगारी गुमाएर फर्कने लाखौं युवालाई स्वरोजगार प्रवर्दन गर्न सकिएन भने नागरिकको धैर्य गुम्दा सरकार र नेताहरूले गुमाउनु पर्ने थुप्रै चिज हुनेछन् ।
छिमेकी मुलुक भारतबाट किन ख़तरा छ?
हामीलाई ठूलो खतरा हाम्रो छिमेकी मुलुक भारतमा फैलदै गरेको कोरोना महामारीको हो । अहिले नेपालमा जति पनि संक्रमण फैलिएको छ, जति मान्छेको मृत्यू भएको छ, त्यो सब भारतीय भूमिबाट नेपाल फर्केका नेपालीको हो । भारत कोरोना ब्याधिको महामारीमा विश्वमा पाँचौं राष्ट्र बनीसकेको अवस्था छ जसको प्रत्यक्ष असर नेपालमा पर्नेछ। त्यसैले नेपाल सरकारले गर्नु पर्ने जटिल ब्यबस्थापन भारतबाट आएका नागरिकहरुको हो । विशेषत: भारतसँग सिमा जोडिएको जिल्लाहरुमा यसको प्रभाव र असर ज्यादा छ । आजपर्यन्त अपवाद बाहेक काठमाडौँमा यसले बिकराल रुप लिएको छैन र देशको कुनै पनि शहरी इलाकामा महामारी फैलिएको छैन । सरकारले राहत, उद्दार र रेस्क्यु नगरेको अर्थात गर्दै नगरेको होइन तर सरकारी अलमल, ढिलासुस्ती, अकर्मन्यता र प्राथमिकीकरण गर्न नसकेको देख्दा सरकारले आफ्नो क्षमता र साधन श्रोतलाई अन्डर इस्टिमेट गरेको भान हुन्छ ।
महाशक्ति राष्ट्रहरुको ध्यान के कुरामा जानु जरूरी छ?
विश्व महाशक्ति राष्ट्रहरुले पनि अब यो संकटलाई अवसरको रुपमा सदुपयोग गरेर आणविक बम, मिसायल र क्षेप्यास्त्र बनाउने होड त्यागेर आपद विपद, महामारीसँग जुध्ने प्रयोगशाला र अन्वेषणतर्फ आफ्नो ध्यान खिच्नेछन् । अमेरिका सैन्य शक्तिमा महाशक्ति राष्ट्र हो तर कोरोना महारोगमा सबैभन्दा बढी संक्रमित हुने र मर्ने देश बन्यो। रोग भन्ने कुरा तोप र बमको गोलाले होइन औषधिको गोलीले ठिक हुन्छ । सबै सरोकारवाला निकायको चेतमा घाम लागोस्।
कोरोना संदेश
संकट, आपत, विपद र महामारीहरु फगत संकट मात्रै पनि हुँदैनन् । संकटमा अवसर र समय चेतको बिम्ब पनि रहेको हुन्छ । महाभूकम्पले झैं कोरोनाले पनि यतिबेला एउटा संदेश प्रवाह गरेको छ- जहाँ जन्म, हुर्क, बढ, पढ र कर्म गर तर आफ्नो माटो सबैलाई प्रिय हुन्छ । संसार यति साँघुरो र लघु भैसक्योकि एक देशको अप्ठ्यारो, एक महादेशको अप्ठ्यारो त्यो देश र महादेशको मात्रै रहेन । अत: एउटा कुनाको विपत्ती, रोग, भोक र शोक देशको सीमा नाघेर कतिखेर विश्वकै साझा समस्या बन्छ कसैले भन्न सक्दैन। को धनि गरिब, शिक्षित, अशिक्षित, कुन धर्म या जात, जातिको, सबैको अस्तित्व केवल एक मुठी सास हो रैछ। अत: लोभलालच, झैंझगडा, भेदभाव र असमानता किन ? धर्तीले असमानता सिकाउँदैन । मान्छेको एकै जात हो- कालो होस् या गोरो, अग्लो होस् या होंचो। समानता, मानवता, भातृत्व र सहअस्तित्व मै सबैको भलाई छ, कल्याणको मार्ग छ । महामारी विश्व मानव समुदायको साझा शत्रु हो । घमण्डको प्वाँख पलाउने हरकोहीको लागि यो अमूल्य पाठ हो । घमण्ड व्यक्तिको होस् या राष्ट्रको, सबैको घमण्ड एक दिन चकनाचुर हुन्छ भन्ने पाठ कोरोना महारोगले सिकाएकोछ । बस ढिलो चाँडो मात्रै हो, समय छँदै सरोकारवालाहरूको घैंटोमा घाम लागोस्। चेतना भया।
-Sanjiv Karki In Kathmandu
Comments