नेपालमा रैथाने शिल्पकला तथा संस्कृति बचाउन विश्वविध्यालय स्थापना गर्ने तयारी

Exclusive: नेपालका विभिन्न रैथाने जात, जाति, आदिवासी जनजाति र समुदायहरूका विभिन्न सीप, कला/कौशलको संरक्षण, प्रवर्धन र पुस्तान्तरणको निम्ति नेपाल सरकारको राष्ट्रिय संस्कृति नीति २०६८ तथा राष्ट्रिय शिक्षा नीति २०७६ मा व्यवस्था भए अनुसार रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालय स्थापना गर्ने तयारीको लागि नेपाल सरकारको सम्बन्धित निकायहरूमा आशयपत्र र प्रस्ताव बुझाईएकोछ। उक्त विश्वविध्यालय स्थापना तैयारी समितिका संयोजक नेपाल सरकारका पूर्व सचिव तथा हाल प्राध्यापन पेशामा संलग्न डा. मान वहादुर बिकेको नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्री देवेन्द्र पौडेल, संस्कृति मन्त्री प्रेमबहादुर आले मगर, युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राज्य मन्त्री उमेश श्रेष्ठ, शिक्षा राज्य मन्त्री बोधमाया कुमारी यादव र मुख्य सचिव शंकर दास बैरागीलाई आशयपत्र र प्रस्ताव हस्तान्तरण गरेको छ।
नेपालका रैथाने जात, जाति, आदिवासी जनजातिहरूको जनसंख्या ४८ प्रतिशत रहेको छ जस मध्ये आदिवासी जनजातिहरू ३५ प्रतिशत र तथाकथित दलित समुदाय १३ प्रतिशत रहेको छ। सो तयारी समितिका अनुसार नेपालका १२५ आदिवासी जनजातिहरूका २५० भन्दा बढी परम्परागत पेशाहरू र दलित समुदायको २३ वटा परम्परागत पेशाहरू चलिआएकोछ। उनीहरूको परम्परागत ज्ञान, शिल्पकला र संस्कृतिहरूको जगेर्ना र पुस्तान्तरणको निम्ति प्रस्थावित रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालयको स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएकोछ।
नेपाल सरकार, मन्त्रीपरिषद् बाट मिति २०७६।७।१८ मा स्वीकृत “राष्ट्रिय शिक्षा नीति, २०७६ “ को नीति १०.२४.३ अनुसार, “नेपालको आफ्नै मौलिक कला र संस्कृति चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, परम्परागत कला एवं प्रविधि, विविध बाद्यबाधन, विभिन्न गीत, संगीत तथा नृत्यलाई समेटेर विशिष्टतामा आधारित कला तथा संस्कृति विश्वविद्यालय वा एकेडेमी मार्फत विदेशी विद्यार्थीहरूलाई आकर्षित गरिनेछ ।” उल्लेख गरी व्यवस्था गरिएकोछ।
त्यसैगरी, नेपाल सरकारको “संस्कृति नीति २०६८“ को ८.११. अनुसार “परम्परागत भौतिक लोककला एवं शिल्पकला उत्पादन गर्ने मौलिक सीप र प्रविधिको संरक्षण र व्यवसायीकरण गरिनेछ ।” उल्लेख गरी व्यवस्था गरिएकोछ।