-Pradeep Pariyar Thapa
Updated: Exclusive: केही दिनयता नेपालका प्रथम सहीद लखन थापा मगरबारे पूर्व प्रम केपी शर्मा ओलीले कुन्नी के भने भन्नेबारे सामाजिक संजालमा निक्कै चर्चा चलेकोछ। तर कुरा के हो भने, सर्वप्रथम, उनले भनेको कुराको कुनै माने राख्दैन। कागले कान लगेको छैन। आकाश खसेको छैन।उनको बोलीको कुनै तुक नै छैन। नेपाल सरकारले सन् २०१५ को सेप्टेम्वर २० तारिखको मन्त्री परिषदको बैठकबाट आधिकारिकरूपमा सहीद लखनलाई नेपालको प्रथम सहीदको मान्यता दिईसकेकोछ भने सन् २०१६ को नोभेम्वर १६ तारिख नेपाल सरकारको हुलाक विभागले रू. १० को सहीद लखनको फोटो अंकित टिकट जारी गरीसकेको छ जसमा प्रथम सहीद (First Martyr) उल्लेखित छ। र, यसो गरिएको कुनै लहडमा लागेर हैन। दशकौंदेखिको खोजअनुसन्धानबाट आधुनिक नेपालको पहिलो सचेत राजनैतिक बिद्रोह गर्दा जहानियाँ राणाशाही राज्य सरकारद्वारा मारिएका सहीद लखननै पहिलो सहीद प्रमाणित भएपछि र जनताको निरन्तर मागपछि सरकारले प्रथम सहीद घोषणा गरेको हो। ओली न ईतिहासकार हुन्, न उनले आफूले बोलेको कुराको कुनै प्रमाण पेश गरेकाछन्।
यो पंक्तिकारलाई केही साथीहरूले सामाजिक संजालमार्फत ओलीको प्रथम सहीदबारेको टिप्पणी उपर किन नबोलेको ? भनेर प्रश्न गरेको पाएँ। जुन कुराको कुनै तुकनै छैन भने यसबारे बोल्नु पनि बेकार छ। तोलाको बोली खोलामा किन फाल्ने? ओलीजीको लहडमा लाग्नु भनेको आफै बहुलठ्ठी हुनु हो। यो फोटोमा देखिएका प्रथम सहीद लखनको काल्पनिक फोटो मैले नै ईतिहासविदहरूसंग परामर्श गरी परिकल्पना गरेर तत्कालिन साझा प्रकाशनका कलाकार टेकवीर मुखियालाई बनाउन लगाएको थिएँ सन् १९९२ मा। र, सोही साल मेरै सम्पादनमा प्रकाशित हुने “लाफा” पत्रिकामा सर्वप्रथम प्रकाशित गरेको थिएँ। यहीं तस्विरनै साढे दुई दशकपछि नेपाल सरकारको हुलाक विभागले प्रथम सहीद लखनको हुलाक टिकटमा प्रकाशन गरेको हो। म यस कुरमा गौरविभूत छु- पहिलो प्रकाशनको २५ वर्षपछि हुलाक टिकटमा प्रथम सहीदलाई पुनः देख्न पाउँदा। त्यस दिन म खुशीले गदगद भएको थिएँ र हर्षका आँशु झरेका थिए। तर यतिखेर ओलीको बोलीको लहडले सबैभन्दा मर्मान्त हुने मध्ये म पनि एक हूँ। ओलीको लहड बोलीको ईतिहासमा कुनै महत्ता राख्दैन। र, उनीप्रति रहेको, बचेखुँचेको अलिकति विश्वास पनि अब बाईपंखी घोडामा चढेर पर क्षितिजमा पुगी सक्यो। चेतना भया।
नेपालका प्रथम शहीद लखन थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा बिसं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो।
The first authoritative imaginative historical portrait of Nepal's first martyr Lakhan Thapa Magar was drawn by Tek Bir Mukhia which was first commissioned & published in 1992 by Laaphaa magazine (Editor-in-Chief Pradeep Thapa Magar) which was based on historical research. This image is widely circulated worldwide and adopted in Nepal Government’s official stamp. First preliminary sketch was drawn of first martyr Thapa by Deb Lal Moktan for Kairan magazine in 1992 (Editor-in-Chief Amrit Yonjan Tamang).
प्रथम शहीद लखन थापा मगरको पुरा र अर्ध कदको सालिक देशभरका बिभिन्न स्थानमा प्रतिस्थापन गरिएकोछ। सामाजिक अभियन्ता संजोग लाफा मगरका अनुसार ०६२/६३ को जनआन्दोलनपछि राजा, महाराजाको फोडिएको सालिक विस्थापन गरिएको स्थानमा प्रथम सहीद लखन थापा मगरको सालिक निर्माण गरिएकोछ। प्रथम शहीद थापाको सालिक उनको जन्मस्थल गोर्खा जिल्लाको बुंगकोट भंगार, गोर्खा जिल्लाको गोर्खा बजार, कास्की जिल्लाको पोखरा बजारको पृथ्वीचौक, रूपन्देही जिल्लाको बुटवल बजारको चौराहा, बुटबल बजारको फूलबारी पार्क, धादिंग जिल्लाको बेंशी शहर, दांग जिल्लाको घोराही बजारमा प्रथम शहीद पार्क, पाल्पा जिल्लाको तान्सेन बजार, झापा जिल्लाको गजुरमुखी, काठमाडौं गोकर्णेश्वर–९ मा सहिद तथा शान्ति पार्क, हेटौँडा जिल्लाको लखनबाटिका र रुपन्देही जिल्लाको तिलोत्तमा वन वाटिकामा लखन पार्क प्रथम शहीद लखन थापा मगरको सालिक निर्माण गरिएकोछ।
त्यसैगरी, गोर्खा जिल्लाको एउटा गाउँपालिकाको नाम शहीद लखन थापा गाउँपालिका नामकरण गरिएको छ।
Kommentare