top of page

पहिलो संसदबाट रवि लामिछानेले पार्टी र सरकारको तर्फबाट दलित समुदायसंग मागे ऐतिहासिक माफी (पूर्ण पाठ)


Exclusive: झण्डै दुई तिहाई बहुमतको जित निकालेर स्थायी सरकार निर्माण गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधानमन्त्री एवं सांसद रवि लामिछानेले नेपालका दलित समुदायमाथि सदियौंदेखि राज्यले गरेको संस्थागत विभेदप्रति सार्वभौम नेपालको संसदको रोष्ट्रमबाट सार्वजनिक र सामूहिक माफी मागेका छन्। अप्रिल दुई (April 2, 2026) तारिख बिहीबार नवनिर्वाचित प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले दलित माथि हुँदै आएको विभेदलाई सामाजिक मात्र हैन राज्यले गरेको “संगठित अपराध” को संज्ञा दिए। उनले अब “कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन” भन्दै “र यो माफीको मूल्य अब न्यायले गर्नेछ” भनेर न्याय निरूपणबाट उपरान्त विभेद नगर्ने सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे। तर दुःखद कुरा हाम्रो नेपाली समाजको कलंककोरूपमा रहँदै आएको छुवाछूतपूर्ण विभेदी जात व्यवस्थाको राज्यस्तरबाटै हुँदै आएको अन्यायपूर्ण राज्य अपराधको जरो उखेल्न रवि लामिछानेले गरेको यो उद्घोषलाई केही संचारमाध्यमले मात्र प्राथमिकताका सूचीमा राखे भने तथाकथित दलित अभियन्ताहरूले लामिछाने र उनको पार्टी रास्वपासंग बिमति र पूर्वाग्रह राखेकै कारण प्रसंशा र स्यावासी गरेको देखिएन। दलितको नाममा आफ्नो दुनो मात्र सोझ्याउने ति दलितका तथाकथित ढोंगी अगुवाहरूलाई देश र सच्चा दलित समुदायले कहिल्यै माफी दिने छैन।



रास्वपा सभापति रवि लामिछानेले आफ्नो सम्वोधनमा भनेका छन्-


“यो देशको दलित समुदायलाई आज सार्वजनिक क्षमायाचनाका साथ आज केही भन्नु छ। यो सरकार शताव्दियौंदेखिको विभेदको, अन्यायको, अत्याचारको ईतिहाससंग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट।”



लामिछानेले रोष्ट्रमबाट यसरी माफी मागेर शीर निहुराएर नमस्कार गरे । सभाहलमा उपस्थित अधिकांश सांसदहरूले उनको यो दूरगामी र ऐतिहासिक सम्वोधनलाई गडगडाहट तालीले स्वागत गरे।



रवि लामिछानेको यो सम्वोधन एउटा तथाकथित उपल्लो जातको सामाजिक अभियन्ताले बाहिर कतै बहसमा बोलेको र माफी माग्छु भनेको या “मैले त दलितको घरमा खाना खाको छु, दलित त मेरो साथी हो, हामी संगै खान्छौं” भनेको जस्तो मात्र कुरा थिएन।


उनको यो सम्वोधन न त दलितको नाममा डलरको खेती गरेर आफ्नो महल खडा गर्ने, दलितको नाममा राजनीति गरेर सत्ता र पहुँचमा पुग्ने तर दलित समस्या र विभेद विगत पैंतीस वर्षसम्म ज्यूँकात्यूँ भैरहँदा दलगत स्वार्थमा लागेर चुईक्कसम्म नगर्ने तथाकथित दलित नेताहरूको मौनताको विद्रोह थियो।



हो, रवि तथाकथित उपल्लो जात भनिने ब्राम्हण जातिका हुन्। तर रवि नेपाली वर्तमान राजनीतिका सर्वोच्च नेता पनि हुन्। उनी झण्डै दुईतिहाईको बहुमतको वर्तमान बालेन रास्वपा सरकारको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पनि हुन्। उनले प्रतिनिधिसभामा गरेको सम्वोधनको दूरगामी महत्व र ऐतिहासिकतालाई कम आँक्नु, नजरअन्दाज गर्नु ईतिहासमा हामीले अर्को भूल गरेको ठहर्नेछ। हुँदा हुँदा तथाकथित दलित अभियन्ताहरूले रवि लामिछानेले मात्र माफी मागेर पुग्दैन, प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नु पर्छ भनेर विरोध गर्न शुरू गरेको सामाजिक संजालमा देख्न सकिन्छ। औंला दिंदा हत्केला निल्न खोज्ने हामी नेपालीको चरित्र हामीले देखाई छाड्यौं।


बालेन सरकारले आफ्नो पहिलो मन्त्रिमण्डल बैठकका १०० निर्णयहरू मध्ये एउटा निर्णय विभेदका लागि दलित समुदायसंग क्षमायाचना गर्ने पनि रहेको छ। निकट भविष्यमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा देशको कार्यकारी प्रमुखकोरूपमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीको नाममा सम्वोधन गर्नेनैछन्। तर यता बहुमत स्थायी सरकार बनाएको दल रास्वपाका सभापति रवि लामिछानेले सरकार मात्र हैन आफ्नो दलको तर्फबाट समेत माफी माग्दा पनि सराहना, समर्थन र कृतज्ञता व्यक्त गर्न नसक्ने हामी कस्तो संवेदनहीन नेपाली हौं?


संसदको रोष्ट्रममा उभिएर रविले अगाडि भनेका थिए-


“आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप थियो, तिनलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन। म सिंगो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु। र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु।”


उनले आफ्नो यो ऐतिहासिक सम्वोधन अघि आफ्नै पार्टीबाट सांसद विजयी खगेन्द्र सुनारले गल्ति गरेको अफवाह फैलिएकै भरमा माफी मागेको प्रसंग जोड्दै यसो भने-


‘मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन, उहाँले गल्ती गर्नुभयो गर्नुभएन तर उहाँले माफी माग्नुभयो, यति छिट्टै माफी माग्नुभयो। भन्नुभयो– मबाट त्यस्तो गल्ती भएजस्तो त लाग्दैन, तर गल्ती भएको रहेछ भनेर माफी माग्नुभयो। म आज यो सिंगो सदनबाट, सिंगो देशलाई भन्न चाहन्छु। गल्ती गरेको हो कि होइन भन्दा, अन्यौल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारहरूमाथि युगौंयुगसंग गरिएको अन्यायका लागि हामीले माफी माग्यौं?”


नेपाली जनताको एक थोपो रगत नबगाई गर्न चाहेको सुशासन र बिकासको परिवर्तनको निलो क्रान्तिका प्रणेता रवि लामिछानेले आफू देशको सबैभन्दा ठूलो दलको नेता भैकन, उच्च जातको घरको छोरो भैकन र एक सच्चा मानव भैकन समानताको विगुल सार्वभौम संसदबाट शंखघोष गर्नुले उनले आफूलाई सबै प्रकारका विभेदहरूको अन्त्यको लागि लड्न प्रतिवद्ध नयाँ नेपालको परिकल्पनाकारको रूपमा पनि अग्रपंक्तिमा उभ्याउन सफल भए। नेपाली जनताको सच्चा नेता रवि लामिछानेलाई यो युग र वर्तमान पुस्ताले मात्र हैन, युगौंयुगसम्म नेपाली जनताले सम्झिरहनेछन्। नेपालिजम उनको यो ऐतिहासिक कदमको सराहना गर्दछ र नमन् गर्न चाहन्छ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page