top of page

ऐतिहासिक बाईडेन युगको आरम्भ: के आशा गर्न सकिन्छ?


-Pradeep Pariyar Thapa

Updated: Exclusive: आशातित अमेरिकी जनताको जनमतबाट विजयी ४६ औं अमेरिकी राष्ट्रपति जोय बाईडेन र ४९ औं र पहिलो नारी उपराष्ट्रपति कमला ह्यारिसको ऐतिहासिक बाईडेन युगको आरम्भ नयाँ वर्ष सन् २०२१ को जनवरी २० को नयाँ बिहानीसंगै भएकोछ। नवनिर्वाचित राष्ट्रपति बाईडेनले भनेझैं अमेरिकी जनताको सुदिन फर्काउने र राष्ट्रको आत्माको पुनर्स्थापन (restoring soul of the nation) गर्ने प्रणलाई साकार पार्ने गहन जिम्मेवारी बाईडेन सरकारको काँधमा रहेकोछ। बिभाजित राष्ट्रलाई एकताको सुत्रमा बाँध्ने दुरूह दायित्व र विश्वसंग सहकार्य र नेतृत्व प्रदान गर्ने चुनौती बाईडेन सरकारको संघारमै तेर्सिएको छ। के बाईडेन कालमा यो सम्भव छ? सविस्तार तलको समाचारमा पढ्नुहोस्:

U.S. President Joe Biden. Photo: BidenInaugural.Org


राष्ट्रपति पदको सपथ ग्रहणपछि बाईडेनले आफू सबै अमेरिकी जनताको राष्ट्रपति भएको प्रण गर्दै भने: “I will be a president for all Americans.”


राष्ट्रपति बाईडेनले आफ्नो समुद्घाटन मन्तव्यमा अगाडि भनेकाछन्: “And together we shall write an American story of hope, not fear, of unity, not division, of light, not darkness,... A story of decency and dignity, love and healing, greatness and goodness. May this be the story that guides, the story that inspires us, and the story that tells age is yet to come.”


ट्रम्पको विरासत


डेमोक्रेटिक पार्टीबाट विजयी प्रेसिडेंट जोय बाईडेन र भाईस प्रेसिडेण्ट कमला ह्यारिसको जीत राष्ट्रिय एकता, सद्भाव, समुन्नति र समानुपातिक अवसरको म्यान्डेट थियो भने निबर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको गोरावादी, रंगभेदी बिभाजनको नीतिको बर्खिलाप जनअभिमत थियो। ट्रम्पले कोरोना महारोगप्रति गरेको विज्ञान बिरोधी हेलचेक्र्याईको कारण चार लाखभन्दा बढी अमेरिकी जनताको ज्यान गएको छ भने अमेरिकालाई विश्व राजनैतिक र आर्थिक सहकार्यबाट अलग्याउने एकलकाँटे, अन्धराष्ट्रवादी नीतिको कारण अमेरिका एक्लिन पुगेको छ जुन राष्ट्रपति बाईडेनले पुनर्स्थापना गर्नुपर्ने चुनौति र तड्कारो आवश्यकता छ।


ईतिहासमै पहिलो


यसैगरी, बाईडेन प्रेसिडेन्सीले अमेरिकाको स्थापनाकालमै सुनौलो ईतिहास रच्ने कार्य गरेको छ- उपराष्ट्रपति कमला ह्यारिस पहिलो अमेरिकी महिला उपराष्ट्रपतिको रूपमा विजयी बनेर ईतिहास रचेकिछिन्। ह्यारिसले काला जाति र एशियन (ईन्डियन) मूलकी पहिलो उपराष्ट्रपति बनेर ईतिहास रचेकी हुन्।

Vice President Kamala Harris. Photo: U.S. Senate


सन् १९२० मा मात्र अमेरिकी संविधानको १९ औं संशोधनबाट अमेरिकी महिलाले भोट हाल्ने अधिकार पाएका थिए।अमेरिकी महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेको १०० वर्षपछि कमला ह्यारिसको उपराष्ट्रपति पदमा विजय हुनुले अमेरिकी प्रजातन्त्रमा नयाँ आयाम थपिएको छ। अमेरिकी राष्ट्रपतिय निर्वाचनको २३१ वर्षको ईतिहासमा सन् १७८९ देखि हालसम्म ४५ वटा अमेरिकी राष्ट्रपति र ४८ उपराष्ट्रपति सबै पुरूषहरू मात्र निर्वाचित भएकाछन्। उपराष्ट्रपति कमला ह्यारिसको यो विजयपछि अमेरिकी जनताले अब महिला राष्ट्रपति पाउन संभवत: अर्को दशक कुर्नु नपर्ने आशा गर्न सकिन्छ। ७७ वर्षीय राष्ट्रपति जोय बाईडेन आफ्नो ४ वर्षे कार्यकाल पुरा गर्दा ८१ वर्षको बयोबृद्ध हुनेछन् र सम्भवत: अर्को टर्म आफू नउठेर ह्यारिसको लागि बाटो खुल्ला गर्नेछन्।उपराष्ट्रपति ह्यारिस, जो अहिले ५६ वर्षकिछिन्, अबको ४ वर्षपछि राष्ट्रपतिको उम्मेदवार बन्दा ६० वर्षकि हुनेछिन्।


विभेदको खाडल


उसो त, काला जातिका जनतालाई पूर्णरूपमा भोट हाल्ने अधिकार प्रदान गरिएको सन् १९६५ को भोटिंग राईट्स एक्ट लागू भएको ४३ वर्ष पछि बाराक ओबामा पहिलो काला जातिका राष्ट्रपति बनेर ईतिहास रचेका थिए। हुन त, काला जातिका पुरूषलाई चैं अमेरिकी महिलालाईभन्दा अघि सन् १८६९ को अमेरिकी संविधानको १५ औं संशोधनबाट मतदान गर्ने अधिकार प्रदान गरिएको हो।अमेरिकी जनसंख्याको १३.४ प्रतिसत अफ्रिकन अमेरिकन (काला जाति) जनताले सदियौंदेखि मानव तस्करी (human trafficking), दासता (slavery), बाध्यतापूर्ण श्रमदान (forced labor), आर्थिक, सामाजिक र न्यायिक असमानता बेहोर्नु परेको छ जसको कारण बैभवशाली अमेरिकामा धनी र गरीव जनता बिचको खाडल अझ गहिरिदो छ जुन गहिराई पुर्ने जिम्मा बाईन र ह्यारिसको काँधमा थपिएकोछ।


कोरोना राहत


यसैबिच, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाईडेनले American Rescue Plan अन्तर्गत $१.९ ट्रिलियन डलर (नेपाली रूपियाँ २२ नील, १७ खर्ब, ४८ अर्ब, ४३ करोड) कोरोना राहत प्याकेज बजेट घोषणा गरेकाछन्। प्याकेजमा अमेरिकी जनताले $१,४०० (चौध सय) राहत चेक पाउनेछन् भने आगामी सेप्टेम्वर महिनासम्म प्रति हप्ता थप $४०० बेरोजगार भत्ता उपलब्ध गराईनेछ। अल्पसंख्यक ३० मिलियन (३ करोड) जनता र १२ मिलियन (१ करोड २० लाख) बालबालिकाहरू बिहानबेलुकापर्याप्त खानसम्म नभएको भन्दै प्रेसिडेंट विजयी बाईडेनले गत जनवरी १४ तारिख राहत प्याकेज घोषणा गरेका हुन्।

बाईडेनद्वारा प्रस्तुत प्याकेजमा १८ मिलियन (१ करोड ८० लाख) बेरोज़गार भत्तामा रहेका अमेरिकीलाई थप $४०० प्रति हप्ता आगामी सेप्टेम्वर महिनासम्म उपलब्ध गराईने उल्लेख छ।अमेरिकी जनता १४ मिलियन (१ करोड ४० लाख) ले घरभाडा तिर्न नसक्ने र घरबाट निकालिने अवस्था रहेको उल्लेख गर्दै बाईडेनले स्टिमुलस चेक र राहत कोषले जनतालाई राहत पुग्ने उल्लेख गरेकाछन्।


बाईडेनले आफ्नो सरकारको पहिलो १०० दिनमा १०० मिलियन (१० करोड) कोरोना भ्याक्सिन वितरण गर्ने लक्ष लिएकाछन्।


यो प्याकेजबाट $४०० बिलियन कोरोना महारोग व्यवस्थापनमा खर्च गरिने छ भने $४४० बिलियन व्यावसाय र समुदायमा खर्च गरिनेछ।


यसअघि, गत डिसेम्वर अमेरिकी संघीय फेडेरल सरकारको दुबै सदन सिनेट र हाउस अफ रिप्रिसेन्टेटिभबाट $२.३ ट्रिलियन डलर अर्थात् नेपाली रूपैंयाँ २७ नील, १८ खर्ब, ५९ अर्ब, ७७ करोड बराबरको बजेट पारित गरिसकेकोछ। त्यसमध्ये $९०० (नौ सय) बिलियन डलर कोरोना महामारी राहतको रूपमा वितरण गरिनेछ।


यो बजेटमा $२८४ बिलियन डलर साना व्यावसायहरूको राहत र तिनको कर्मचारीको तलब सुरक्षा राहत Paycheck Protection Program (PPP) मा खर्च गरिने छ भने बेरोजगार भत्तामा रहेकाहरूलाई प्रति व्यक्ति हप्ताको $३०० थप भत्ता आगामी ११ हप्तासम्म प्रदान गरिनेछ। साथै, प्रतिव्यक्ति $६०० को स्टिमुलस चेक $७५ हजार डलरसम्म कमाउनेलाई प्रदान गरिनेछ। यो बजेटबाट अस्पताल, विद्यालय र घरभाडाबाट निकालिने अवस्थाका परिवारलाई सुरक्षा दिने व्यावस्थापनमा पनि खर्च गरिनेछ।




0 comments
bottom of page