जहाँ नेपाली छन्‚ त्यहाँ प्रेमध्वज छन्: ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’
Updated: May 9, 2021

-नरेन्द्रराज प्रसाई
Updated: Tribute: नेपाली आधुनिक गायनको इतिहासमा प्रेमध्वज प्रधानको विशिष्ट भूमिका जोडिएको छ । नेपालमा मात्र नभई जहाँजहाँ नेपाली छन् तिनै तिनै भूभागमा प्रेमध्वज प्रधानको नाउँ पुगेको छ, स्वर पुगेको छ र भाका पुगेको छ । उनले बिसं. २०११ सालमा रेडियो नेपालमा रिकर्डिङ गराएको ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’ राष्ट्रिय गीत प्रवासमा नेपाली डायस्पोरा रहेको हरेक भूमिमा गर्वकासाथ गाईने सम्भवत: सबैभन्दा चर्चित र सदावहार गीत हो। जसरी उनले गाएको ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, बाँधिए माया फेरि गारो हुन्छ फुकाउन’ गीत प्रेमिल जोडीहरूको ढुकढुकी बन्यो, उनका उत्तिकै गुनिलो ‘तारा मात्र होइन तिमीलाई जून दाइजो दिइदिउँला, माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला’ गीत र ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो वासना’ जस्ता लालित्य र सुमधुर गीतहरू र गायकीले प्रेमध्वज प्रधानलाई सदाको लागि अजरअमर बनाएकोछ।
यो नेपाली शिर उचाली
संसारमा लम्किन्छ
जुनकिरी झैँ ज्योति बालि
अन्धकारमा चम्किन्छ ।
(स्वर: प्रेमध्वज प्रधान र तारादेवी, सङ्गीत: नातिकाजी, शब्द: भूपि शेरचन)
प्रधान २००४ सालदेखि गायन यात्रामा सरिक भएका थिए । उनले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा ‘क’ श्रेणीमा पास गरेका थिए । त्यसपछि उनले २०११ सालमा ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’ भन्ने गीत रेडियो नेपालमा रिकर्डिङ गरेका थिए । प्रेमध्वजले तारादेवीसँग गाएको यो राष्ट्रिय गीतले त्यस बेलादेखि नै निक्कै चर्चा, ख्याति र सम्मान पाएको थियो । त्यसपछि प्रधान आफ्नो स्तरीय स्वर बोकेर नेपाली समाजमा निरन्तर हिँडि रहे ।
घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गारो हुन्छ फुकाउन ।
(स्वर र सङ्गीत: प्रेमध्वज प्रधान, शब्द: रत्नशमशेर थापा)
प्रेमध्वज प्रधानको जन्म संवत् १९९४ साल असार कृष्णपक्ष पञ्चमीका दिन सिन्धुपाल्चोकको चौतारामा भएको थियो । प्रेमध्वजका बाबु रत्नध्वज काठ र कपडाका व्यापारी थिए । साथै आमा प्राणदेवी पनि कलाकार थिइन् । प्रेमध्वज प्रधान यी दम्पतिका एउटै सन्तान थिए । सात वर्षको उमेरसम्म प्रेमध्वज प्रधान चौतारामा नै बसेका थिए ।
पर लैजाउ फूलहरू, छोपी देउ तारा जून
बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू
(स्वर: प्रेमध्वज प्रधान, सङ्गीत: नातिकाजी, शब्द: राजेन्द्र थापा)
सानै देखि प्रेमध्वजमा आमाको गायनको छाप परेको थियो र त्यसै बेला यी पनि गीत गाउने गर्थे ।प्राणदेवी प्रधानको गायन र नृत्यमा बराबरी सहभागिता थियो । त्यतिखेर रेडियो नेपालमा गीत गाएर प्राणदेवीले आफ्नो नाउँ सर्वत्र फैलाएकी थिइन् । वास्तवमा आमाको सारीको फेर समाएर हिँड्दाहिँड्दै प्रेमध्वज प्रधान पनि यसै गतिमा प्रवाहित भए । त्यतिमात्र होइन प्रधान गृहमा प्रेमध्वजका जिजुबाजे नारायणकृष्ण प्रधानदेखि बाबु रत्नध्वज प्रधानसम्म नै साङ्गीतिक वातावरण थियो ।

Author Narendra Raj Prasai with Premdhoj Pradhan
प्रेमध्वज प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतका सौकिन र ज्ञाता थिए । त्यसैले उनले आफ्ना सोखका लागि सङ्गीतज्ञ उस्ताद गोपाललाई आफ्नै घरमा राखेका थिए । त्यति मात्र होइन पछिपछि प्रेमध्वज प्रधान उस्ताद गणेशलाल श्रेष्ठलाई गुरु थापेर शास्त्रीय सङ्गीतमा पनि पारङ्गत हुने दिशातिर लागेका थिए । बम्बईमा दश महिना बसी संगीतकार जयदेवबाट पनि प्रेमध्वजले सुगम साङ्गीतिक ज्ञान बटुलेका थिए ।
कुनै बेला प्रेमध्वज प्रधान र माणिकरत्नको जोडी सङ्गीतका क्षेत्रमा खुबै राम्ररी परिचालित थियो । त्यसताका प्रेममाणिक सङगीत गर्दै गीत गाउँथे र नारायणगोपाल तबला बजाउँथे । यिनीहरूको गीत सुनेर नारायण गोपाल पनि गीत गुनगुनाउने गर्थे ।
नेपाली सङ्गीत क्षेत्रमा निक्कै सरल, इमान्दार र सोझो व्यक्तित्वका रूपमा प्रेमध्वजको परिचय पाइन्छ । वास्तवमा उनको जन्मजात गुण नै सरलता हो । छोटकरीमा भन्ने हो भने उनी सादा जीवन र उच्च विचारका लखपति हुन् । उनका गीतसङगीत सादा भई कन पनि ती गीतहरूले शिखर टेकेका छन्:
गोरेटो त्यो गाउँको लौ न खोजीखोजी थाकेँ नि
पहिलाउन सकिनँ, मै ले पहिलाउन सकिनँ ।
(स्वर: प्रेमध्वज प्रधान सङ्गीतः प्रेममाणिक, शब्द: रत्नशमशेर थापा)
प्रेमध्वज प्रधान नेपाली आधुनिक सङ्गीत जगतका अद्वितीय प्रतिभा थिए । गायनमा उनको कलाकारिता उच्चकोटिले सिँगारिएको पाइन्थ्यो । उनी गीत गाउँदा प्रत्येक शब्दको मर्मलाई केलाउने गर्थे । सङ्गीतमा पनि उनले त्यही रीतले मितेरी लगाएका हुन्थे । त्यसैले उनी गायनकलासँगै सङ्गीतकलामा पनि त्यत्तिकै चर्चित भए । नेपाली आधुनिक गायनमा चाहिँ उनी अझ बढी जनप्रिय भए । नेपालमा मात्र नभई जहाँजहाँ नेपाली छन् तिनै तिनै भूभागमा प्रेमध्वज प्रधानको नाउँ पुगेको छ, स्वर पुगेको छ र भाका पुगेको छ ।
त्यस बेला घरको आर्थिक अवस्थालाई सुल्झाउन प्रेमध्वज प्रधानले ट्युसन पनि पढाउनु पर्थ्यो ।यिनलाई रेडियो नेपालमा नै जागिर खान खुबै सोख थियो । वास्तवमा आफ्ना खुट्टामा उभिन यी जागिरको खोजीमा थिए । त्यसैले अमेरिकी सांस्कृतिक केन्द्रमा यिनले २०१७ सालदेखि जागिर खाए। अमेरिकी सांस्कृतिक केन्द्रमा यिनले झन्डै साढे तीन दशकसम्म सेवा गरे । त्यसै बीच प्रेमध्वज प्रधानले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि समुत्तीर्ण गरे । माथिल्लै पदमा पुगेर यिनले त्यहाँबाट अवकाश लिए ।
प्रेमध्वज प्रधान भजन, राष्ट्रिय गीत र लोकगीतहरू गाएर प्रसिद्ध भए । उनका प्रत्येक गीतहरू अति उत्तम गनिए । त्यसैले उनको लोकप्रियता कहिले सेलाएन । उनी नेपाली सङ्गीतमा एउटा बाह्रमासे गायकमा स्थापित भइरहे । राजा महेन्द्रले पनि उनको स्वर मन पराएका थिए । त्यसैले प्रेमध्वज प्रधानले राजदरबारमा गएर राजाका सामुन्ने पनि धेरै गीत गाए ।
नेपालीले विदेशीसँग पहिलोपल्ट गीत गाउने गायक पनि प्रेमध्वज प्रधान नै थिए । उनले २०२३ सालमा चलचित्र ‘माइती घर’ का लागि उषा मङ्गेशकरसँग ‘नमान लाज यस्तरी’ गाएका थिए । त्यसै ताका भारतका ठूलाठूला सङ्गीतकार र गायकले प्रधानलाई त्यहीँ राख्ने प्रपञ्च रचे । तर प्रधानले नेपालीभाषाकै श्रीवृद्धि हेतु गीत गाउने लक्ष्य राखे । उनले नेपाली भाषामा नब्बे प्रतिशत गीत गाए भने दश प्रतिशत जति आफ्नो मातृभाषा नेवारीमा गीत गाए । नेपाली चलचित्रहरूका गीत, आधुनिक गीत, भजन गीत र नेवारी गीत गरेर यिनले आफ्नो स्वरमा जम्मा साढे छ सय गीत गाए । त्यसै गरी यिनले झन्डै सय गीतमा सङगीत पनि प्रदान गरे । प्रेमध्वजका रिकर्डिङ भएका गीतहरूमा प्रायः आधुनिक गीतहरू सबै नेपालीको मानसपटलमा आफन्त भएर उभिए:
तारा मात्र होइन तिमीलाई जून दाइजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला ।
(स्वर र सङ्गीत: प्रेमध्वज प्रधान, शब्द: किरण खरेल)
प्रेमध्वज प्रधानले गीत गाएर नेपाली समाजमा आफ्नो नाउँ अजम्मरी राखे । गीत गाउँदागाउँदै यिनले शिक्षा पनि हासिल गरे, जागिर पनि खाए । यिनले २०२८ साल फागुन ६ गते किरणदेवी श्रेष्ठसँग बिहे गरे । यिनका दुई भाइ छोरा प्रसन्न र कबिर जन्मे । दुवै छोराहरू सङ्गीतमा चासो राख्ने पनि भए ।सानो परिवार सुखी परिवार प्रेमध्वजको मन पर्ने विषयवस्तु बन्यो । पछि यिनका छोराहरू पढ्न अमेरिका पुगे । ठूलो छोरा प्रसन्नले भने नेपाली भाषामा पाश्चात्य भाषाका साङ्गीतिक क्यासेट पनि निकाले ।
प्रेमध्वज प्रधानले आफ्नो सांगितिक अभियानलाई दायाँबायाँ नफर्की बोकीबोकी हिँडे । यसै क्रममा बाँधिँदा नै यिनले राजाबाट प्रबल गोरखा दक्षिणबाहु र प्रख्यात त्रिशक्तिपट्ट पाए । त्यतिमात्र होइन, यिनी शाही नेपाली सेनाबाट पनि सम्मानित भए । सेनाका सम्पूर्ण गणबाट यिनले दसवटा शिल्डहरू प्राप्त गरे । सेनाबाट यसरी पुरस्कार पाउने प्रेमध्वज गायकमा प्रथम व्यक्ति कहलिए । साथै यिनले भूपालमानसिँह कार्की सङगीत पुरस्कार र छिन्नलता पुरस्कार पनि पाए ।
रेडियो नेपालमा हरेक वर्ष आयोजना हुने अखिल नेपाल प्रतियोगितात्मक आधुनिक सङ्गीत सम्मेलनमा यिनले पनि भाग लिए । २०२१ सालमा आयोजित सो कार्यक्रममा यिनले ‘गोरेटो त्यो गाउँको’ भन्ने गीत गाए र स्वरमा प्रथम भए । त्यस बेला राजा महेन्द्रबाट यिनले स्वर्ण पदक थापे । यो यिनको जीवनमा चिरस्मरणीय सुखद क्षण बन्यो । गीत गाएर नै यिनले राष्ट्र र समाजबाट थुप्रै सम्मान भेटे । वास्तवमा यिनी स्वरका कुबेर मानिए । नेपाली समाजमा यिनको स्वरमा लठ्ठ पर्नेहरूको ताँती अनगिन्ती देखियो ।
२०७७ सालको संसार कोरोनाको कोलाहलमा नै वित्यो । अनि २०७८ साललाई पनि यसैले झनसारो आक्रमण गरिरहेको छ । त्यही फेरोमा प्रेमध्वज प्रधान पनि छातीमा समस्याका कारण काठमाडौँको न्युरो अस्पतालमा भर्ना भए । अन्ततः बाह्र दिन अस्पतालमा बसेर उनी २०७८ साल वैशाख २३ गते त्यहीँ स्वर्गीय भए । तर उनलाई कोरोना लागेको थिएन ।
प्रेमध्वज प्रधानले गीत गाएर विदेशको त्यति सारो भ्रमण गर्न पाएनन् । उनी नेपालका विभिन्न भूभागमा गए । उनी जहाँजहाँ गए त्यहीँत्यहीँ गीत गाए । उनका गीतबाट नेपाली जनजीवन उनीसँग मक्ख पर्यो । गाउँघरका जनताको स्वागत उनको अजम्मरी पुरस्कार बन्यो । उनी फेरिफेरि पनि गाउँदै गए । उनले बाँचुन्जेल गीत गाइ रहे । र बराबर उनको मीठो स्वरको प्रसारण पनि भइ रह्यो । उनी घमण्ड नगरी सजिलो रूपमा आफ्नो साधना प्रदर्शन गर्ने साधकमा चिनिए। यी सबै बेहोरालाई सङ्क्षेपमा भन्दा प्रेमध्वज प्रधानले एउटा असल, राम्रो र स्तरीय गायकमा प्रसिद्धि कमाए।
यो नानीको शिरैमा
इन्द्रकमल फूल फुल्यो
मगमग चल्यो वासना ।
(स्वर: प्रेमध्वज प्रधान, सङ्कलक: झलकमान गन्धर्व)