top of page

एटलाण्टिक किनारमा (कविता)


-विमल नेपाल, क्याम्ब्रिज, म्यासच्युसेत्ट्स


एटलाण्टिक किनारमा

पहेंलो सूर्य डुब्नु अगाडि,

सललल सललल समुद्री छाल

बग्दै ठोक्किदै, बग्दै ठोकिदै गरेको बेला

तिमी र म पुगेका थियौं।


निर्जन त्यो बालुवाको पाटा भरि,

छालले झुत्ति खेलेको बेला,

तिमि थियौ,

म थिएँ,

समुद्र थिई,

सूर्य थियो।


किनारको झाडीबाट आएको

जंगली गुलाबको महकलाई बेवास्ता गर्दै,

म तिम्रै बदनको महकमा मातेको बेला;

नुनिलो पानी र समुद्री झारको गन्धलाइ बेवास्ता गर्दै

म तिम्रै रेशमी केशको खुश्बुमा तातेको थिएँ।


त्यो प्रहरमा,

प्रसन्न तिमी थियौ,

तृप्त म थिएँ,

चंचल समुद्र थिई

र, बिदाइमा सूर्य थियो!


बेपर्वाह बालक जस्तै बनेका थियौं हामी दुइ,

बालुवाको धूलो खेल्दै किनारको बगरै बगर

छालको संगीतमा

पदचापको रिदम मिलाउदै

हामी रंगीन ढुंगा बटुल्न लाग्यौं!


तिमीले रातो पत्थर भेट्टायौ मेरोलागि!

रातो रंग संगै तिमीले मलाई प्रेम र रोमान्स

आभार र अनुग्रह

प्रसंशा र आनन्द

दियौ ।


संयोगले मैले नीलो पत्थर भेट्टाएँ तिम्रोलागी!

नीलो अर्थात् तिमी मेरो लागि

एउटा आत्मविश्वास

र स्वर्गीय आनन्द हौ,

आकाश र समुद्र

अनि ज्ञान अमृत हौ ।


करोडौं वर्षदेखि छालहरुको बेपर्बाह चुटाईले

धुलिसात बालुवा हुन नमानेर

यी पत्थरहरु

आफ्नो सृष्टि सार्थक बनाउन

शायद कुनै दुइ प्रेमीको

प्रतिक्षामा थिए!


मोति मुस्कानमा तिमी

परम आनन्दमा म

डुब्न लागेको सूर्य उता

चंचल समुद्र आफ्नै उत्कर्षमा!


आँखा बन्द अँगालोमा समर्पित तिमि,

रोक्न सकिन मैले पनि आफूलाई,

बरु समय आफै रोकियो!


एटलाण्टिक किनारमा

हामीले आँखा खोल्दा,

गुलाबी बास्ना बोकेर आउने

हावा बन्द भएको थियो

दुइ मुटुका धड्कन मन्द भएको थियो!

सूर्य त डुबिसकेछ,

गुलाबी बादलको मुनि

तिमि थियौ,

म थिएँ,

समुद्र पनि अलि शान्त थिई

सललल सललल छाल

बग्दै ठोक्किदै

बग्दै ठोक्किदै।


###


नोवेम्बेर १५, २०२०

क्याम्ब्रिज, म्यासच्युसेत्ट्स

0 comments

Kommentare


bottom of page