Updated: Exclusive: नेपालमा अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेद गरी सन् २०२० को मे २३ तारिख नवराज बिक लगायत ६ जनाको हत्या गर्ने २४ जनाहरू उपर तीन वर्षपछि मंगलवार डिसेम्वर ५ तारिख जन्मकैद सजायको फैसला भएकोछ। नेपालको न्यायालयबाट आएको यस्ता फैसलाहरूले नेपाली समाजमा जकडिएर बसेको मानव कलंकरूपी जातीय विभेद र छूवाछूत सम्बन्धी सामाजिक कुप्रथालाई निरूत्साहन र निरूपण गर्न दूरगामी भूमिका खेल्ने कुरामा विश्वास गर्न सकिन्छ।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विकले तथाकथित ठूलो जात मानिने मल्ल ठकुरी जातिकी प्रेमिकालाई विवाह गर्न आउँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँका तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँलेहरूले नवराज विकसहित ६ जनाको निर्ममतापूर्वक कुटपिट गरी लखेटेर भेरी नदीमा हत्या गरेका थिए। हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो ।
जन्मकैद सजाय पाउनेहरू को को हुन्?
रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले सुनाएको फैसलाबाट जन्मकैद सजाय पाउनेहरूमा (१) चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, (२) डिल्ली मल्ल ठकुरी, (३) प्रेमबहादुर ठकुरी, (४) सन्तोष मल्ल, (५) मोहन पुन मगर, (६) मानबहादुर मल्ल, (७) टोपबहादुर मल्ल, (८) सर्वजित भन्ने सविन पुन मगर, (९) परिबर्तित नाम ५४ रूकुम पश्चिम (३६)१, (१०) परिबर्तित नाम ५४ रूकुम पश्चिम (३६)३, (११) तिलक चन्द, (१२) ईन्द्र बहादुर भन्ने ईर्द बहादुर ठकुरी, (१३) लिपेन्द्रकुमार मल्ल, (१४) हर्कबहादुर मल्ल, (१५) विनोद मल्ल, (१६) नेत्र बहादुर मल्ल, (१७) रेशम बहादुर मल्ल, (१८) धनाराज राना मगर, (१९) नवीनकुमार घर्तीमगर (जिएम), (२०) विराज पुन मगर, (२१) भीमबहादुर पुन मगर, (२२) रमित पुन मगर, (२४) विष्णु मल्ल छन्। सजाय पाउनेमा नवराजकी प्रेमिकाका बुबा, दाजु छन्। २४ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ । नवराजकी प्रेमिका र प्रेमिकाकी आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
घटना यसरी घटेको थियो
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज बिक सन् २०२० को मे २३ (बिसं २०७७, जेठ १०) मा आफ्नी प्रेमिकासँग विवाह गर्न भन्दै साथीहरुलाई लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । सोती पुगेका नवराज बिक र उनका साथीहरूलाई नवराजकी प्रेमिकाको परिवार, आफन्त र चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ललगायतका गाउँलेहरूले लखेट्दै, कुटपीट गर्दै नवराज विकसहित ६ जनालाई मारेर भेरी नदीमा फालीदिएका थिए भने १२ जना घाइते भएका थिए । उक्त घटनामा नवराजसहित उनका साथीहरू चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम सुनार, भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढा मगर, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, २१ वर्षीय सन्दीप (सन्जु) बिक, र गोविन्द शाही मारिएका थिए।
नवराज बिकका बुबा मुनलाल नेपालीको किटानी जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो भने ६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो ।
घटनाबाट शिक्षा
नेपालमा अन्तरजातीय प्रेम सम्बन्धमा या कुनै पनि अवसरमा जातीय विभेद र छूवाछूत गर्नेहरू उपर नेपालको नयाँ संविधानले व्यावस्था गरेको कसूर र सजायको आधारमा धमाधम कानूनी कार्यवाही हुन शुरू भएकोछ। यो अत्यन्त सकारात्मक परिणाम र शुरूवात हो। एउटा अदालतबाट जातीय विभेद र छूवाछूत कसुरमा नजिर बसी सकेपछि अब यसै प्रकारका मुद्दामा लड्न सजिलो हुनेछ।
यस अघि, गत नोबेम्वर २३ (मंसिर ७) मा जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले जातीय विभेद तथा छुवाछूतको कसुर गरेको ठहर गर्दै पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सोही वडा २४ की दलित महिला वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै २०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । वडाध्यक्ष अधिकारी गत पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने वडा सदस्य नेपाली नेकपा एमालेबाट निर्वाचित हुन्।
यि माथिका घटनाहरूमा नेपालको न्यायालयबाट आएको यस्ता फैसलाहरूले नेपाली समाजमा जकडिएर बसेको मानव कलंकरूपी जातीय विभेद र छूवाछूत सम्बन्धी सामाजिक कुप्रथालाई निरूत्साहन र निरूपण गर्न दूरगामी भूमिका खेल्ने कुरामा विश्वास गर्न सकिन्छ।
Commentaires