नेपालको लोकतान्त्रिक पुनर्संरचनारास्वपा र उज्यालो नेपाल बीच एकता, अब रवि र बालेनपछि कुलमान पनि
- Nepalism.com

- 23 hours ago
- 3 min read

Exclusive: काठमाण्डौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता भएकोछ। नेपालको राजधानी काठमाण्डौ महानगरका बहुचर्चित स्वतन्त्र मेयर बालेन उर्फ बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने बीच दुई दिन अघि भएको एकतापछि नेपाली वैकल्पिक राजनीतिमा भएको ध्रुवीकरण नेपालमा वर्षौंदेखिको बिजुलीको लोडसेडिंग हटाएर उज्यालोका पर्याय बनेका कुलमान घिसिंग तामांगको रास्वपा प्रवेशसंगै सुखद टुंगोमा पुगेको छ।

सहमति अनुसार रास्वपा नाम र चुनाव चिन्ह घण्टी कायमै रहने, सभापतिमा रवि लामिछाने, उपाध्यक्षमा क्रमशः कुलमान घिसिंग, डिपि अर्याल र स्वर्णिम वाग्ले रहनेछन् भने यस अघि रास्वपा र बालेन बीच भएको सहमतिमा आगामी आमनिर्वाचनमा प्रधानमन्त्रीको लागि बालेन शाहको नाम अघि सार्ने निर्णय भैसकेकोछ।

यो एकीकरणसंगै रास्वपा नेपालको वैकल्पिक राजनीतिको एक मात्र प्रमुख शक्तिको रूपमा उदाएको छ। जेनजि आन्दोलनले पुराना र भ्रष्ट राजनितिक पार्टीहरू नेपाली कांग्रेस र नेकपा एमाले र विगत पैंतीस वर्षदेखि देशलाई कंगाल बनाएका यसका नालायक नेताहरूलाई पाखा लगाईदिएपछि यिनीहरूको भ्रष्ट सिन्डिकेट तोड्न वैकल्पिक राजनीतिक शक्तिहरू एक जुट हुनु पर्ने जेनजि र जनआकाँक्षाले अब मूर्तरूप लिएको मानिएकोछ।
नेपालको लोकतान्त्रिक पुनर्संरचना: राजनीतिक एकता किन महत्त्वपूर्ण छ?
नेपाल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जसलाई जवाफदेहिताको माग गर्दै 'जेन-जी' (Gen Z) युवाहरूको नेतृत्वमा भएका आन्दोलनहरूले आकार दिएका छन्। रास्वपा (RSP) र उज्यालो नेपाल बीचको एकताले पुराना राजनीतिक शक्तिहरूको विकल्पमा एक विश्वसनीय मार्ग प्रस्तुत गर्दछ। यस गठबन्धनले योग्यतामा आधारित नेतृत्व, संस्थागत सुधार, र समावेशी वृद्धिलाई प्राथमिकता दिन्छ।
नेपालको लोकतान्त्रिक सुधारमा गैर-आवासीय नेपालीहरूको समर्थन
नेपालको यो सुधार प्रक्रिया विदेशमा रहेका नेपालीहरूका लागि पनि महत्त्वपूर्ण छ, किनकि जवाफदेही शासनले मात्र विश्वास र लगानीको वातावरण बलियो बनाउँछ। गैर-आवासीय नेपालीहरूले अब पैरवी, नीतिगत संवाद, नैतिक लगानी, र नागरिक सहायताका क्षेत्रमा सक्रिय रूपमा संलग्न हुन सक्छन्। सुधारको एकताबद्ध प्लाटफर्मले स्थिरता, पारदर्शिता, र दीर्घकालीन राष्ट्रिय प्रगतिको सुनिश्चिता प्रदान गर्दछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी (उनेपा) बीच भएको सहमति पत्रको पूर्ण पाठः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्र
मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई हृदयंगम गरी सबै नेपालीको समतामूलक उन्नतिप्रति, कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुल वादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य गर्दै नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेने-जी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र उज्यालो नेपाल पार्टी (दोस्रो पक्ष) बीच देहायका सहमति भएको छ।
१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षमित्र नेपाललाई सम्मानजनक मध्यमआय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिड, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने,
५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरुसँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने।
रवि लामिछाने
सभापति
अनुपकुमार उपाध्याय
अध्यक्ष
बालेन्द्र शाह
साक्षी
पुष १४, २०८२, काठमाडौं









Comments