top of page

नेपाली काँग्रेसको विरासत अब गगनको हातमा


Exclusive: निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजनाबाट नयाँ नेतृत्वमा आएका गगनकुमार थापाको केन्द्रीय समितिलाई आधिकारिक मान्यता दिने निर्णयसंगै पचास वर्षको उमेर कटी नसकेका युवा नेता गगनको काँधमा काँग्रेस पार्टीको गर्विलो विरासत थाम्ने गह्रौं जिम्मेवारी आएकोछ। निवर्तमान सभापति शेरवहादुर देउवा र उनको बहुमत रहेको निवर्तमान समितिले अश्विकार गरेको विशेष महाधिवेशनबाट चुनिएको गगनको अबको गन्तव्य के होला?

उसो त काँग्रेसीजनमा गगन संभावना भएका युवा नेताहरूको अग्रपंक्तिमा छन् यता वैकल्पिक शक्तिकोरूपमा उदाएका रवि र बालेन जस्तै। गगन, रवि, र बालेनमा फरक यति मात्र हो कि गगनले राष्ट्रकै नेतृत्वदायी भूमिका (सांसद या मन्त्री) मा रहेरै जनतालाई सुशासन र देशको समृद्दीको सपना देखाउन थालेको कम्तिमा पनि १८ वर्ष भयो भने रवि बालेनहरूको हकमा जम्माजम्मी तीन वर्ष।


विशेष अधिवेशनको नाममा यस पटक गगनले छेडेको निर्णायक लडाई हो- जेनजी आन्दोलनबाट आफ्नो दल नेकाको एमालेसंगको मिलिजुली सरकारको अवसान पछि नेतृत्व परिवर्तनको सफल अभियान। विशेष अधिवेशनको बन्दसत्रले गगन उनैलाई पार्टीको बागडोर जिम्मा लगाएको हो।


तर नेपाली कांग्रेसका वर्तमान महामन्त्री गगन थापा यस्ता भाग्यमानी पात्र हुन् जसको सपना कहिल्यै पुराना र पुरा हुँदैनन् जसलाई जनतालाई संधै पत्याईदिनु पर्छ। युवा पुस्ताका गगन उनै नेता हुन् जसको सपना सजिलै बिक्री हुन्छ तर उनले जवाफदेही बन्नु पर्दैन। सन् २००८ को संविधानसभाको सदस्य भएदेखि गगन संधै संविधान, कानून, ऐन बनाउने थलोमा पदासिन छन्- पहिलो संविधानसभा सभासद (२००८-२०१२), दोश्रो संविधानसभा सभासद (२०१३-२०१७), प्रतिनिधिसभा साँसद (२०१७), प्रतिनिधिसभा साँसद (२०२२) । यस बीच उनी स्वास्थ्य मन्त्री (२०१६-२०१७) समेत बनेका थिए। यस हिसाबले झण्डै दुई दशक पटक पटक आफू र आफ्नो सरकार शासन सत्तामा रहेकै बेला देश उल्टो उँधोगति र चरम भ्रष्टाचारमा डुब्दा पनि गगन थापालाई प्रभावशाली नेता भनी रहनु पर्ने, मानी रहनु पर्ने नेपाली जनताको एक कटु नियती हो। तर उनीबाट आशाको त्यान्द्रो भने अझै मार्नु हुन्न। किन? किनकि- उनले नेपाली काँग्रेस पार्टीको वर्तमान यथास्थितिवादी देउवा नेतृत्वको विरूद्ध आगो ओकल्दै हिजो नेकाको दोस्रो विशेष अधिवेशनको उद्घाटन समारोहमा भनेको यो भनाई जबर्जस्त परिवर्तन उन्मुख छ- “कांग्रेस दास र लाशहरूको पार्टी होइन। यो जीवित मानिसहरूको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन। …यहाँ कुनै ‘बा’ छैन जस्ले न बोल भन्दै गर्दा बोल्न छाड्ने छैनौँ । यहाँ हामी सबै बराबर छौं।” काँग्रेस महामन्त्रीको रूपमा गगनको यो गर्जन देउवा लगायत सो पार्टीका पुराना, औचित्यहीन बनेका नेताहरूप्रति लक्षित छ। गगनले यस पटक प्रमाणित गरेका छन् कि उनी बिपि कोईराला, गणेशमान सिंह, कृष्णप्रशाद भट्टराई, गिरिजाप्रशाद कोईरालाहरूको विरासतको यो दललाई देउवामार्का पुरातनवादीहरूको पकडबाट जिउँदो जाग्दो कांग्रेसीजनहरूको चलायमान राजनैतिक शक्ति बनाउन चाहन्छन्। कि गगन परिवर्तनको नाममा आफ्नो गुट उपगुटमा मात्र रमाउँलान्?


गगनको अर्कों महत्वपूर्ण कदम भनेको रवि लामिछाने नेतृत्वको राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) ले नीतिगत र व्यावहारमा लागू गर्दै आएको साँसद उम्मेदवार चुन्दा प्राईमरी निर्वाचनबाट गर्ने, समानुपातिकमा एक पटक मात्र निर्वाचित हुन र दोहोरिएर बन्न नपाउने कुरा जति सान्दर्भिक र सराहनीय छ उतिनै प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने कुरा राजनीतिक सुसंस्कार र सुशासनको पक्षमा छ।


अब हेर्नु छ, गगन आफ्नै गुटमा मगन हुन्छन् कि सबै कांग्रेसी गुटहरूलाई पनि समेटेर लैजान्छन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page