by Lhakpa Gelu Sherpa, New York
Updated: न्यू योर्क निवासी ल्हाक्पा गेलु शेर्पाले आफ्नो नेपाल भ्रमणको यति सुन्दर शब्दचित्र गरेका छन् कि पाठक उनीसंगै अठार दिनको लामो र रोमान्चक यात्रामा संगसंगै निस्किनेछन्। उनीसहित उनका ७ जनाको इको वाक टिमले गत वर्ष सन् २०२३ को अक्टूबर र नोवेम्वरमा नेपालको बागमती, लुम्बिनी, कोशी र गण्डकी प्रदेशका २० जिल्लाहरूको यात्रा गरेको थियो। यो समूहले झण्डै १५०० किमी गाडीबाट, ३५० किमि पैदल यात्रा र २१८ किमि हवाई मार्ग तय गर्दै नेपालको हिमाल, पहाड र तराई मधेसको यात्रा पुरा गरेको थियो। प्रति व्यक्ति दश हजार डलर खर्च गरेर उनीहरूले झण्डै एक करोड रू. को एनआरएन पर्यटकीय आय पनि नेपाललाई योगदान गरे। उनीहरूको यात्रा जति रोमान्चक र मनमोहक लाग्छ उतिनै प्रेरणादायक पनि अनुभूत हुन्छ। उनीहरूले नेपालबाट अमेरिका फर्केपछि ‘हिमालयन होप नेटवर्क’ संस्था नै स्थापना गरी नेपालको सम्पदा र समुदायलाई सहयोग गर्ने अभियान थालेका छन्।
-ल्हाक्पा गेलु शेर्पा
मैले गत वर्षको यतिखेर मातृभूमि नेपालको स्पर्श गर्ने सौभाग्य पाएको थिएँ। कर्मभूमि अमेरिका फर्किएपछि पनि त्यो यात्राको रोमाञ्चकता र सजीव सम्झनाहरू मनको कुनै गहिरो कुनामा वर्षभरि बसिरह्यो। ती अविस्मरणीय अनुभूतिहरूको प्रभाव यति प्रबल थियो कि अन्ततः शब्दहरूमा कैद नगरी रहन सकिनँ । अमेरिकाबाट हाम्रो समूहका केही साथीसँग मिलेर नेपाल भ्रमण गर्ने योजना बन्यो र हामी सबै काठमाडौंमा भेट्ने सहमति भयो। “इको वाक-२०२३” नामक हाम्रो समूहमा न्यू योर्कबाट साङ्गे शेर्पा, काजी गुरुङ, आङ गल्जेन शेर्पा, फुर्निमा शेर्पा, छिरिङ नाम्गेल शेर्पा र म (ल्हाक्पा गेलु शेर्पा) सहभागी थियौं भने टेक्सासबाट छिरिङ लामा थिए।
हाम्रो समूहबाट केही साथीहरू हप्तौं पहिल्यै अमेरिकाबाट नेपाल प्रस्थान गरिसकेका थिए। तर म र अर्को साथी भने एक हप्तापछि मात्रै न्यू योर्कबाट कतार एयरवेजको जहाजमा चढ्यौं, दोहा हुँदै काठमाडौंको दिशामा। न्यू योर्कदेखि दोहासम्मको १४ घण्टाको त्यो लामो यात्रा थियो, जसमा म मिङ्युर रिन्पोछेद्वारा रचित ‘The Joy Of Living' पुस्तकको पानाहरूमा डुबुल्की मार्दै आफ्नो मनलाई आल्हादित बनाउनतिर लागें। सँगैको साथी भने आरामसँग निद्राको साम्राज्यमा हरायो। म जहाजमा सितिमिति निदाउन सक्दिन, यस्तो लामो उडानमा कहिलेकाहीँ दिक्क लागेर भन्ने गर्छु- “कति लामो यात्रा!”। तर हाम्रो गन्तव्य मातृभूमि भएकोले त्यस यात्रामा एउटा उल्लास मिसिएको थियो। म एक वर्षपछि पुनः जन्मस्थल फर्किदै थिएँ। दोहा विमानस्थलमा दुई घण्टाको छोटो ट्रान्जिट थियो। जब दोहा विमानस्थलमा उत्रिएँ, हरेक कुनाबाट गुन्जिरहेको नेपाली भाषा र नेपाली अनुहारहरूले मलाई क्षणभर नेपालमै पुगेको भ्रम भयो। निन्द्रा र थकानले सुस्ताएको शरीर र अलमलिएको मन, तर नेपाली बोलिको मधुर स्वरले हर्षको तरंग भरिदियो।
यहाँको ड्युटी फ्री पसलमा केही सामान लिएपछि हामी नेपाल उडानको गेटतर्फ अघि बढ्यौं, चेकजाँचको औपचारिकता पूरा गर्दै प्रतिक्षालयमा पुग्यौं। केहीबेरमै विमानले नेपालको यात्रा सुरु गर्यो। बिमान भित्र नेपाली यात्रुहरूसँगै विदेशी पर्यटकहरूको संख्या उल्लेखनीय थियो। यो देख्दा हृदय गर्वले फुल्यो- नेपालको प्राकृतिक सुन्दरताको अलौकिक आकर्षणले गर्दा त पर्यटकहरू निरन्तर र पटक पटक आईरहने हो नि! यो कुराले मेरो ब्यग्र आत्मालाई सन्तोष दियो। उडानको केही घण्टा कति छिटै बितेछ, पाइलटले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको घोषणासँगै हृदयले एक किसिमको अपूर्व आनन्दको अनुभूति गर्यो। म झ्यालको दृश्यभन्दा टाढा थिएँ, तर जहाजको चक्काहरूले जब मातृभूमिको भूमिमा स्पर्श गर्यो, मैले लामो श्वास फेरें सुखद अनुभूतिको। जहाजको ढोकाबाट भर्याङ ओर्लिएर जमिनमा टेक्नासाथ मैले चुपचाप शीर झुकाएर मातृभूमिलाई ढोगेँ। अध्यागमनको प्रक्रिया पार गर्दै झोला उठाएँ र खुल्ला आकाशमा नेपाली माटोको सुगन्धको नयाँ सास फेरेँ। अध्यागमनको आगमन गेटमा कुरिरहेका आफन्तहरूको लर्को देख्नासाथ मनमा कुनै प्रिय सम्झनाको गहिराइमा डुबे जस्तो भयो। साईनो अनुसार हार्दिकता र अभिवादन व्यक्त गर्दै हामी आ-आफ्नो यात्रा तय गर्न लाग्यौं।
एअरपोर्टबाट बाहिर निस्कनासाथ सफा र चिटिक्क देखिएको काठमाडौंको दृश्यले मलाई अचम्मित तुल्यायो जहाँ पहिले धूलो र कोलाहलले भरिएको हुन्थ्यो, त्यहाँ अब सफा र चिल्ला बाटाहरू देख्दा हर्षको झिल्कोले मन उज्यालो बनायो। मनमनमा सोचें, “मेरो नेपाल पनि अब प्रगतिको पाइलामा दौडिरहेको छ।” त्यतिबेला शिशिर योगीको गीतको आवाज मनभरि गुन्जियो- “यो देशमा एउटा मानिस खोजी रहेको छु।” शायद, काठमाडौंले आफ्नो त्यो मान्छे भेटिसकेको छ। सुन्दर काठमाडौंमा केही दिनको बसाईपछि सबै तयारीका साथ हाम्रो नेपाल यात्रा “इको वाक २०२३” शुरु भयो।
पहिलो दिन
काठमाडौँबाट यात्रा आरम्भ गर्दै धुलिखेल, बनेपा हुँदै सुनकोशी, भोटेकोशी र विभिन्न रमणीय गाउँ बस्तिहरू पार गर्दै हामी ओखलढुंगा पुगेका थियौं। ओखलढुंगाबाट पातले डाँडासम्मको यात्रा अविस्मरणीय बन्यो। पातले डाँडामा पुग्नासाथ हामीलाई हिउँले स्वागत गर्यो, जसले त्यहाँको वातावरणलाई अझै मनमोहक बनायो। यद्यपि मौसम प्रतिकूल रहेकाले पातले डाँडाबाट देखिने हिमालहरूको रमणीय दृश्य र त्यस आसपासका सौन्दर्यहरू अवलोकन गर्ने हाम्रो चाहना अधुरो रह्यो। त्यसै दिन हामीले सल्लेरी हुँदै फेराको डुक्पा फर्म होमस्टेमा एक रात बितायौं। डुक्पा फर्मका सञ्चालक ल्हाक्पा साङ्गे शेर्पाको आत्मीय आतिथ्य र स्वागतले हाम्रो यात्रा झनै स्मरणीय र सुमधुर बनायो।
दोस्रो दिन
बिहानको सुन्दरताको वर्णन शब्दमा गर्न असम्भव जस्तै थियो। सोलु खोलाको मधुर छंगछंग आवाज, चराचुरुङ्गीहरूको सुमधुर चिरबिर, र रातभरि जमेको तुसारोले साथ दिएको शीतल सिरेटोले हाम्रो हृदयलाई स्पर्श गरिरहेको थियो। छेउमै देखिने सहयात्री साङ्गे शेर्पाको पुर्ख्यौली गाउँ सालुङ र गौरवमय नुम्बुर हिमाललाई निहार्दै हामी थुप्तेन छोलिङ गुम्बातर्फ अघि बढ्यौं। सलबेशी, तुम्बुक, सेर्लो गुम्बा, जुनबेशी, र मोपुङजस्ता मनोरम शेर्पा बस्तीहरू पार गर्दै जाँदा, सल्लाका हरिया रुखहरूले आफ्नो सजीव र सदाबहार हरियालीले हामीलाई स्वागत गरिरहेको अनुभूति भयो। हाम्रो समूहका केही साथीहरूको लागि यो भेगमा पहिलो यात्रा थियो। यहाँको अनुपम प्राकृतिक सौन्दर्य र गहिरो साँस्कृतिक सम्पदाले उनीहरूलाई पनि भावविह्वल बनायो। साङ्गे शेर्पाले आँखाभरि गर्व समेटेर भने, “हामी स्विट्जरल्यान्ड, स्विट्जरल्यान्ड भन्छौं, तर स्विट्जरल्यान्डभन्दा पनि धेरै सुन्दर छ यो ठाउँ।”
थुप्तेन छोलिङ गुम्बा सोलुखुम्बु जिल्लामा अवस्थित एक प्रतिष्ठित बौद्ध गुम्बा हो, जसको स्थापना १९६० को दशकमा प्रसिद्ध धर्मगुरु क्याब्जे ठुल्सिक रिन्पोछेले गर्नु भएको थियो।यो गुम्बा हिमाली बौद्ध धर्मको महायान परम्पराअनुसार ध्यान, साधना, र शिक्षाको केन्द्रको रूपमा परिचित छ। यस गुम्बा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रभित्र रहेको छ, जसले यहाँ आउने आगन्तुकहरूलाई शान्ति र अध्यात्मिक ऊर्जा प्रदान गर्छ।
थुप्तेन छोलिङ गुम्बामा पूजा पाठ गरेपछि हामी पुनः सल्लेरीतर्फ प्रस्थान गर्यौं। काठमाडौँबाट आएका गाडीहरूले अब अगाडि जान नसक्ने भएपछि, सल्लेरीमा दुईवटा फोर-व्हीलर सुमो गाडीहरू भाडामा लिएका थियौं र सेर्गा बगामको उकालो चढ्दै सीलगुढि डाँडा, मुलखर्क, काकु र बासा जस्ता रमणीय गाउँहरू पार गर्दै जुबिङतर्फ अघि बढ्यौं। जुबिङ पुग्दा हामीलाई झमक्क साँझले घेरिसकेको थियो, तर हाम्रो गन्तव्य भने अझै टाढा, खरी खोलाको पैया थियो। पैयासम्मको कठिन मार्ग, घुम्ती र भीरहरूले हाम्रो साहसलाई निरन्तर चुनौती दिइरहेको थियो। धीरज र सतर्कता साथ, कठिन यात्रा गर्दै हामी आफ्नो ज्यानलाई जोगाउँदै अन्ततः पैयामा पुग्यौं ।
त्यो रात एउटा साधारण स्थानीय होटेलमा बितायौं। बेलुकाको खाना खाएको केही समयपछि साथीहरूको पेटमा असहज महशुस भयो। रातभरी राम्रोसँग निदाउन पाएनौं, तर त्यस अनौंठो असहजताको कारण हामीलाई एउटा अमूल्य शिक्षा प्राप्त भयो- हिमाली क्षेत्रका यात्रामा, विशेष गरी त्यहाँको संस्कृति र वातावरणमा रमाउँदै गर्दा सकेसम्म मासुजन्य पदार्थहरू (जुन हामी मध्ये केहीले पनि खाएका थियौं) बाट टाढा रहनुपर्छ भन्ने कुरा हामीले आफ्नै अनुभवबाट बुझ्यौं। बौद्धमार्गीहरूको बसोबास रहेको हिमाली क्षेत्रमा प्रायः कुनै पनि प्राणीको हत्या वा हिंसा गरिंदैन। यस क्षेत्रका मानिसहरू अहिंसाको गहिरो मर्मलाई आत्मसात् गर्छन्, जसका कारण स्थानीय बासिन्दाले मासुजन्य पदार्थको सेवन गर्नबाट जोगिन्छन्। यदि मासुको आवश्यकता परेमा, ती वस्तुहरू अन्य क्षेत्रहरूबाट दुई या तीन दिनको यात्रा गरेर ल्याउनुपर्छ। यसरी लामो समय लगाएर ल्याइएका मासुजन्य पदार्थहरू प्रायः ताजापन गुमाइसकेका हुन्छन्, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैले, बाहिरबाट आएका आगन्तुकहरूको लागि पनि यस्तो मासु स्वास्थ्यकर हुँदैन।
तेस्रो दिन
सूर्यको चम्किलो किरणले पैया गाउँलाई धपक्क छोप्नु अगाडिनै हामी बिउँझियौं। सबैले आफ्नो झोला तयार पारेपछि ब्रेकफास्ट गर्यौं र हाम्रो ट्रेकिङ यात्रा आरम्भ भयो। “पहिलो गाँसमै ढुङ्गा” भनेझैं, पैयाबाट सुरू भएको यो कठिन यात्रा चुनौतिहरू पार गर्दै अघि बढ्यो। भीरमा साँगुरो र चिप्लो बाटोमा खच्चरका समूहले धकेल्छ कि भन्ने डरमा हिड्दै हामी सुर्के भन्ने ठाउँमा दिउँसोको खाना खान बस्यौं। रातभरीको अनिन्द्रा त्यसमाथि खानापछिको पेटको समस्याले एकजना साथीलाई गाह्रो महसुस भएको थियो तर साहस र हौसलाका साथ उनी अगाडि बढे । खाना खाएर हामी बिस्तारै वरिपरिका रमणिय दृश्य, पर क्षितिजमा देखिने हिमालको शिखरलाई हेर्दै मन भुलाउँदै चौंरी खर्कतर्फ अघि बढ्यौं। चौंरी खर्कमा पुग्दा साँझ छिप्पिसकेको थियो र त्यस दिनको यात्रा थकानले भरिएको थियो। हामी त्यहाँकै एउटा होटेलमा बिश्राम गर्यौं।
चौथो दिन
बिहान सबेरै उठेर वरिपरिका सुन्दर दृश्यहरूमा रमायौं। होटेल परिसरमै रहेको स्तूपा र मानेहरू परिक्रमा गर्यौं। यता हिजो बिरामी भएका साथी पनि बिहानसम्म फ्रेस भइसकेका थिए। ब्रेकफास्टपछि हामी जोर सालेतर्फ अघि बढ्यौं। यस यात्राको उद्देश्यमा अर्को महत्वपूर्ण पाटो पनि जोडिएको थियो - बाटोमा फालिएका प्लास्टिकजन्य फोहोरहरू संकलन गर्ने र स्थानीयलाई वातावरणीय सचेतना दिने। यही कारण हाम्रो समूहको नाम ‘इको वाक २०२३’ राखिएको थियो। हामी खुशी थियौं कि बाटोमा केही छिटफुट फोहोर बाहेक अरू केही देखिएन, पदमार्ग व्यवस्थित र सफा थियो। बाटोमा सजाइएका मणि पर्खाल, चैत्य, परम्परागत शेर्पा घरहरू र खेतबारीका दृश्यहरूले हामीलाई मन्त्रमुग्ध बनायो। फक्दिङमा पुगेर हामीले लन्च खायौं र त्यसपछि जोर साले पुगेर त्यहाँकै एउटा होटेलमा आराम गर्यौं।
पाँचौं दिन
बिहान ब्रेकफास्टपछि दुध कोशी नदी किनारैकिनार हुँदै तेन्जिङ हिलारी झोलुङ्गे पुल पार गर्यौं। पुलको नजिकैबाट सगरमाथाको दृश्यको पहिलो चुस्की लिदै तोप डाँडाको उकालो चढ्न थाल्यौं। चढाईको तीव्रता र थकान बीच, अचानक सहयात्री छिरिङ लामाको दाँया खुट्टामा समस्या आयो। तर आध्यात्मिक साधनामा विश्वाश राख्ने उनले मिङ्युर रिन्पोन्छेले सिकाउनु भएको ध्यान विधि अपनाए र खुट्टालाई घिसार्दै शान्त मनोबलसँग अगाडि बढ्न थाले। खुट्टाको दुखाइलाई बिना कुनै गुनासो सहर्ष स्वीकार गरी, उनले पीडालाई शक्तिमा बदली कठिनाइलाई पार गरे। हामी कसैले पनि त्यो उकालोमा उनलाई भेटाउन सकिएन । हामी सबैको लागि यो एउटा जीवन शिक्षासमेत बन्यो। हामीले देख्यौं कि मानसिक शक्ति, दृढता र भावनात्मक शान्तिले जस्तो सुकै ठूलो समस्यालाई पनि पार गर्न सकिने रहेछ ।
हामी अन्ततः नाम्चे बजार पुग्यौं। नाम्चेमा पुग्दा सबै साथीहरू थाकेर लखतरान भैसकेका थिए तर होटेल सञ्चालक आई माया र दोर्जी दाइको न्यानो स्वागतले हाम्रो सम्पूर्ण थकान दूर भयो। दिउँसोको खाना खाएपछि दोर्जी दाइले हामीलाई नाम्चे बजार घुमाए, त्यहाँको गुम्बा, तेन्जिन नोर्गे हेरिटेज सेन्टर अवलोकन गराए। नाम्चेमा बन्ने क्रममा रहेको बुद्ध पार्कको लागि हामीले पनि थोरै आर्थिक सहयोग गर्न पाउँदा हामीले भाग्यमानी ठान्यौं।
त्यो रातको डिनरमा दोर्जी दाइले हामीलाई स्थानीय रेस्टुरेन्टमा लिएर शेर्पा विशेषता रिकी कुर (आलु रोटी) को स्वाद चखाए। हाम्रो रात दोर्जी दाइकै अत्यन्तै सुविधा सम्पन्न नाम्चे होटेलमा बित्यो। आई माया र दोर्जी दाइ हाम्रो समूहका काजी गुरुङ शेर्पाका आफन्त परेका हुँदा, हाम्रो नाम्चे बसाइँ आत्मीय आतिथ्यपूर्ण र झनै अविस्मरणीय बन्यो।
छैटौं दिन
बिहान हामीले पानारोमा होटेलका संचालक मिङ्मार शेर्पाबाट ब्रेकफास्टको निम्तो पायौं। मिङ्मार शेर्पा पनि काजी गुरुङकै आफन्त हुन् । त्यहाँ हामीले उहाँको परिवारसँग भेट्घाट गरी स्वदिस्ठ नाश्ता गरिसकेपछि शेर्पा म्युजियमको भ्रमण गर्यौं र एभरेस्ट भ्यू होटेलतर्फ लाग्यौं। नाम्चेमा रहेको शेर्पा म्युजियम, जसलाई ल्हाक्पा सोनाम शेर्पाद्वारा सन्चालित गरिएको छ, यो म्युजियम शेर्पा समुदायको समृद्ध इतिहास र संस्कृति झल्काउने अद्भुत स्थल बनेको छ। दुई सय रुपैयाँको प्रवेश शुल्क तिरेर म्युजियम प्रवेश गर्दा, हामीले शेर्पा समुदायको ईतिहास र पहिचानसँग जोडिएका अनेकौं मूल्यवान सामग्रीहरू अवलोकन गर्ने मौका पायौं। म्युजियममा परम्परागत रूपमा प्रयोग गरिएका भाँडाकुँडाहरू, पोशाकहरू, औजारहरू, र घरभित्रको सजावटले शेर्पा समुदायको सांस्कृतिक धरोहरलाई नजिकबाट बुझ्न सघायो। यी वस्तुहरूले आफ्ना पुर्खाको जीवनशैली र संघर्षलाई सम्झन बाध्य बनायो।
त्यसैगरी, म्युजियममा सगरमाथा आरोहणको ईतिहास पनि सुन्दर ढंगले प्रस्तुत गरिएको छ। सुरुदेखि वर्तमानसम्म सगरमाथा आरोहण गर्ने सबै आरोहीहरूको बायोडाटा र तस्बिरहरू राखिएको छ, जसले ती साहसी व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न प्रेरित गर्यो। यो म्युजियम केवल शेर्पा समुदायको गौरवशाली ईतिहासको दस्तावेज मात्र नभएर पर्यटकहरूका लागि शेर्पा, नेपाल हिमालय र हिमाल आरोहणको सम्बन्धी अत्यन्तै जानकारीमुलक गन्तव्य पनि हो।
नाम्चेबाट स्याङ्बुचेको ठाडो उकालो चढ्दै, नाँच्दै, अन्य पर्यटकहरुलाई पनि नचाउँदै, हुस्सु र कुहिरोसँग खेल्दै अन्ततः एभरेस्ट भ्यू होटेलमा पुग्यौं र झोलाहरू त्यहीं राखेर खुम्जुङतर्फ लाग्यौं। खुम्जुङमा पुगेपछि शेर्पा परिकार रिल्दोगको स्वाद लियौं र खुम्जुङ गाउँ तथा खुम्जुङ स्कूलको अवलोकन गर्यौं। खुम्जुङ गाउँ हाम्रो समूहका साथी छिरिङ लामाको ससुराली गाउँ भएकाले यो भ्रमण विशेष अर्थपूर्ण रह्यो। साँझ हामी एभरेस्ट भ्यू होटेल फर्कियौं, रातको डिनर त्यहीं गर्यौं र बिहान सूर्योदयको दृश्य हेर्न चाँडै सुत्यौं।करीब ३८८० मिटरको उचाइमा रहेको एभरेस्ट भ्यू होटेलमा साँझ असाध्यै जाडो थियो, तर बेडहरू सबै हिटेड थिए, जसले आरामदायी वातावरण सिर्जना गर्यो।
सातौं दिन
बिहान चार बजे नै उठेर होटेलको छतमा पुग्यौं र सूर्योदयको प्रतीक्षा गर्यौं। टाढा देखिने पिलपिल बत्ती बली रहेका तेङ्बोचे र फोर्त्से गाउँतिर नजर डुलाएँ। करिब एक घण्टापछि सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न पायौं। सूर्योदय अगाडिको मिरमिरे दृश्य नै अनुपम थियो। जब सूर्यको पहिलो किरणले सगरमाथाको शीरलाई स्पर्श गर्यो, सगरमाथा, नुप्से र लोत्सेको चुचुरो सुनौलो आभामा झल्कियो। वरिपरि देखिने आमा डब्लम, खुम्ब्युला, कुसुम खाङ्री लगायतका हिमालहरूमा पनि क्रमशः सूर्यका किरणहरू पर्दै गए, र त्यो क्षणले हाम्रो लागि जीवनभरका लागि एक अविस्मरणीय अनुभूति बनाइदियो।
सूर्योदयको अनुपम दृश्य अवलोकन गरेपछि, ब्रेकफास्ट गर्यौं र त्यहाँबाट तेङ्बोचेतर्फ लाग्यौं। एभरेस्ट भ्यू होटेलबाट ओरालो लाग्दै, हामीले १६ औं सतब्दिमा स्थापित पुरानो खुम्जुङ गुम्बामा पुगेर दर्शन गर्यौं। त्यहाँ रहेको अद्भुत हिममानव एतिको टाउँको हेरियो । फुङ्गी टागामा दिउँसोको खाना खाएर तेङ्बोचेको ठाडो उकालो चढ्न थाल्यौं। बाटोभरि पर्यटक, गाइड, र भारी बोक्ने मानिसहरूको भीड थियो, अनि धुलो उडाउँदै हिंड्ने खच्चर, चौंरी, र याकका बथानले बाटोलाई मानौं कुनै मेलामा बदलिदिए जस्तो भान हुन्थ्यो । हिन्दी सिनेमा “उचाई” गर्दा यस क्षेत्रमा भारतीयमुलका पर्यटकहरुको घुँइचो थियो । यदि पर्यटकहरू र खच्चर, याक हिंड्ने छुट्टाछुट्टै मार्ग बनाइएको भए, यस मार्गमा पर्यटकहरूले स्वर्गीय आनन्दको साथ यात्रा गर्न पाउने थिए होला।
तेङ्बोचेमा समयमै पुगेर हामी प्रसिद्द तेङ्बोचे गुम्बाको पूजामा सहभागी भयौं। रात बिताउन त्यहींको एक होटेलमा बस्यौं। तेङ्बोचेमा सीमित होटेलहरू भएका कारण पर्यटकहरूको चाप देखिन्थ्यो । संयोगवश, हामी बसेको होटेल पनि छिरिङ लामाकै नातेदारको थियो, जसले गर्दा त्यहाँको बसाइँ अझै विशेष र स्मरणीय रह्यो।
आठौं दिन
बिहान जब खुल्ला निलो आकाशमा पूर्वबाट उदाएको सूर्यकिरणको स्पर्शले हिमालहरूलाई सुनौलो रङले सजायो, हाम्रो आँखा सगरमाथा, नुप्से, लोत्से र आमा डब्लमको अद्भुत दृश्यमा हरायो। यो दिव्य दृश्यले मनलाई यस्तो मोहित तुल्यायो, मानौँ प्रकृतिको अनुपम चित्रले आत्मालाई भुलायो। तल देखिने दिउचे, पाङ्बोचे गाउँदेखि कालापत्थरसम्म फैलिएको हिमाली परिदृश्यले आँखा र मनलाई कैद गर्यो।
तेङ्बोचे गुम्बाबाट गुञ्जिरहेको शान्तिको ध्वनिले वातावरणमा आध्यात्मिक स्पर्श थपेको थियो। दक्षिणपट्टि खुम्जुङ गाउँ, खुम्बियुलाको उच्च आकृति, र क्वाङ्दे हिमालको मनमोहक सौन्दर्यले हाम्रो दृश्यलाई पूर्ण बनायो। तेङ्बोचेसँगै उभिएको तामसेर्कु हिमालको फेदसम्म पुग्न हामीले साहसपूर्वक उकाली चढ्यौं। उचाइको चिसोमा रहेको सफेद हिउँको स्पर्शले, त्यो क्षणको शुद्धता र मौनतालाई आत्मसात् गरायो, मानौँ हामी स्वर्गकै अंशमा प्रवेश गर्यौं।
हाम्रो गन्तव्य एभरेस्ट बेस क्याम्पसम्मै पैदल यात्रा गरेर पुग्ने लक्ष्य थियो, तर समय अभावका कारण र यस यात्रामा मुस्ताङ, लुम्बिनी, र चितवनलाई पनि समेट्नु पर्ने भएकोले हामीले पदयात्रालाई तेङ्बोचेमै बिट मार्ने निर्णय गर्यौं। नमरी बाँचे दैबले साँचे फेरी अर्को पटक एभरेष्टलाई नै चुम्बन गर्ने अभिलाषाका साथ तेङ्बोचेबाट हामीले अल्टिच्युड हेलिकप्टरको उडानमार्फत गोक्योको यात्रा सुरु गर्यौं। गोक्योमा पुगेर हामी ठोनक तालको किनारमा केही बेर रोकियौं। त्यो तालको दृश्य साँच्ची नै मनमोहक थियो- शान्त, निश्चल, र गाढा नीलो रंगको। पहरा दिइ रहेको माछार्मा पिकको प्रतिबिम्ब तालमा परेको दृश्यले कुनै अनौठो जादूको झझल्को दिइरहेको थियो। तर, दुर्भाग्यवश, तालको नजिक ठडिएका मानव निर्मित ठूला होटेलका संरचनाहरुले तालको प्राकृतिक सौन्दर्यलाई कुरुप बनाएको अवस्था देखेर मन कटक्क खायो । गोक्यो क्षेत्रमा १९ वटा साना-ठूला तालहरू छन्, जसले यस क्षेत्रलाई एक विशेष पर्यटकीय महत्त्व प्रदान गरिरहेको छ।
गोक्योबाट हामी चोयु हिमालको मनोरम दृश्यलाई आँखा भरि हेर्दै सगरमाथा आधार शिविरतर्फ उड्यौं। हेलिकप्टरको सानिध्यबाट देखिने हिमालहरूको दृश्य मनमोहक थियो । हामी आकाशमा उड्दै त्यहीं हिमालहरूलाई छुन खोज्दै थियौं। सेताम्य हिमालहरूको बीचमा, भुइँतिर हेर्दा हिउँले ढाकिएको सेतो संसार देखिन्थ्यो। खुम्बु आइसफल र क्याम्प २ को दृश्य आँखै अगाडि उभिएको कुनै कुचिकारको सुन्दर चित्र झैं लाग्थ्यो। ठूल्ठूला बरफका गहिरा चिरा, अडानमा उभिएका टावरहरू, अनि मनमा डर र रहस्य मिसिएको त्यो अद्भुत दृश्यले हाम्रो आत्मा झकझक्यायो। यहाँबाट हेर्दा सगरमाथा आरोहण गर्ने वीर आरोहीहरूको साहस र सङ्घर्षको कथा झल्किन थाल्यो। मैले ती जाडो सासभित्र, बरफमुनि र चट्टानमाथि उनीहरूको सपनाको खुट्टा टेकिएको महसुस गरें।
तर, एकाध मनले भने सोच्न खोज्यो- यी हिमालहरू शान्ति र अडानका प्रतीक हुन्। प्रकृतिको गर्भमा अटल बसेका यी हिमालहरूलाई छुनु, कुल्चनु, र विजयको नाममा अतिक्रमण गर्नु ठीक हो कि? कहिलेकाहीं लाग्छ, मानिसले यी सुकुमारी सौन्दर्य र शान्त हिमालहरूलाई नछोए, प्रकृतिको आफ्नै निस्सीम शान्ति भंग नगरे, कति राम्रो हुन्थ्यो होला।
हिमालमाथि उड्दा, एक अनौंठो सोंचले मनलाई समात्यो- के हामी वास्तवमै पाखन्डी भइसकेका छौं? हाम्रो हेलिकप्टरको ध्वनीले हिमाली जनावर र चराचुरुङ्गीहरूलाई कति तर्साएको होला ! कतै हाम्रो गर्विलो ताज र विश्वकै सर्वोच्च शिखर चोमोलुङ्मा (सगरमाथा) ले हामीलाई गिज्याउँदै आफ्नो मौन हाँसोको झझल्को दिइरहेको जस्तो लाग्यो। मैले मनमनै माफी मागेँ, “हे चोमोलुङ्मा, यो हाम्रो रहर थिएन, बाध्यता थियो तिम्रो समिपमा पुगेर तिम्रो निर्मल, स्निग्ध, स्फटिक सुन्दरताको दृष्यपान गर्ने, कृपया नरिसाउनू है।”
सोंच्दा सोच्दै लुक्लामा अवतरण गरेको पत्तै पाएनौं। केही समय विश्राम लिएपछि अन्ततः हामी लाकुरी भञ्ज्याङको दि टेरेस रिसोर्ट तथा स्पाको प्रांगणमा ओर्लियौं। प्रसिद्ध पर्यटन व्यवसायी तथा बेल्जियमका वाणिज्यदूत आङ छिरिङ शेर्पा र उहाँको परिवारको अतिथ्य सत्कारले हामीलाई अत्यन्तै आनन्द दियो, र त्यहाँको सुविधा र शान्त वातावरणले हाम्रो थकित शरीर र हेलिकप्टर उडान गर्नु पर्दाको आत्मग्लानि भएको मनलाई उर्जाशील बनायो। त्यहाँबाट देखिने सूर्यास्त र सूर्योदयका स्वर्णिम झल्को, चाँदीझैं टल्किएका हिमालहरूको अनुपम सौन्दर्य, र काठमाडौं, ललितपुर, भक्तपुरका शृंखलाबद्ध दृश्यहरूले मनलाई मन्त्रमुग्ध र प्रफुल्लित बनायो ।
नवौं दिन
एक रात दि टेरेस रिसोर्टमा बिताएपछि बिहानको पहिलो किरणसँगै हामीले सूर्यको चमत्कारिक उदय हेर्न थाल्यौं। त्यहाँबाट देखिने सुनौलो आकाशको सुन्दरता मनमोहक थियो। त्यहीं ऊर्जा साथ, हामी रिसोर्टको स्वामित्वमा रहेको हरियाली वन क्षेत्रतर्फ लाग्यौं। चराचुरुङ्गीहरूको चिरबिर आवाजले वातावरणलाई कुनै सुमधुर संगीतले भरिएको जस्तो बनायो, र हामीले पनि चराका चिरबिरसंगै तालमा ताल मिलाउँदै हाइकिङको रमाइलो अनुभव गर्यौं।
ब्रेकफास्टपछि हामी गाडीमा चढ्यौं र पृथ्वी राजमार्ग हुँदै पोखराको यात्रामा निस्कियौं। तिहारको लक्ष्मी पूजाको दिन परेको हुनाले जताततै उल्लास र रौनक देखिन्थ्यो। तल बगिरहेको त्रिशूली नदीको बहावले यात्रालाई थप जीवन्त बनाइरहेको थियो। मुग्लिङमा रोकिएर दिउँसोको खानाको स्वाद चाख्यौं र पुनः पोखरातर्फ लाग्यौं।
आँबुखैरनीदेखि पोखरासम्मको बाटोमा स्तरोउन्नतिको काम चलिरहेको हुनाले बाटो धूलाम्मे र खाल्टाखुल्टीले भरिएको थियो। जसको कारण हामी निर्धारित समयभन्दा धेरै ढिलो गरी पोखरा पुग्यौं। माछापुच्छ्रे हिमालले स्वागत गर्ने सूर्यास्तको गोधुली दृश्य यसपटक हेर्न छुट्यो, तर सहरमा प्रवेश गर्दा झिलिमिली बत्तीहरूले पूरै पोखरा उज्यालो पारिरहेको थियो। देउसीभैलोको संगीतमय धुनले सहरलाई नचाएको र थर्काएको अनुभूति भयो।
अबेर साँझ लेकसाइड घुम्दा कतै यूरोपको कुनै रमणीय सहर घुमिरहेको झैं लाग्थ्यो। सडक, पसल, रेस्टुराँ, र बारहरू विदेशी पर्यटकहरूले भरिभराउ थिए। लेकसाइडको चहलपहलले दिनभरिको यात्राको थकानलाई मेटाइदियो। त्यो रात हामीले पनि लेकसाइडकै एउटा होटलमा बितायौं, जहाँ पोखराको उल्लासमय माहोलले हाम्रा मनहरू थप आल्हादित बनायो।
दशौं दिन
बिहान आँखा खुल्नासाथै हाम्रो होटलको कोठाबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्यले मनमा अपूर्व आनन्द भरेर आयो। त्यो हिमालको चकमक दृश्यले हाम्रो दिनको सुरुवातलाई विशेष बनायो। ब्रेकफास्टपछि, हामी पोखराबाट बागलुङतर्फ लाग्यौं। फराकिलो राजमार्गमा अन्नपूर्ण रेन्ज र माछापुच्छ्रे हिमाललाई आँखाभरि सजाउँदै, वरिपरिका रमणीय दृश्यहरू अवलोकन गर्दै लुम्ले र नयाँ पुल पार गर्यौं। बाटोमा, हामीले गाडी रोक्यौं र देउसी खेल्दै रमाइरहेका केटाकेटीहरूको हुलसँग केही समय रमाइलो गर्यौं।
बागलुङमा दिउँसोको खाना खाएपछि, हामी तातोपानी हुँदै लेतेतर्फ अघि बढ्यौं। त्यो क्षेत्रको यात्रा निकै रोमाञ्चक थियो, जहाँ कहिले डर लाग्दा भीर र कहिले पहिरो खसेका ठाउँले मुटु सिरिङ्ग पार्थ्यो। तर रुप्से झरनाको शीतलता र मनमोहक सौन्दर्यले त्यो भयलाई केही बेरका लागि बिर्साइदियो। लेतेदेखि कलापानीसम्मको बाटो भने युरोप वा अमेरिकाको चिल्लो सडकजस्तै थियो।
काली गण्डकीको तीरैतीर यात्रा गर्दै गर्दा, हरियाली वनजङ्गल, खोल्सा र गल्छीहरू पार गर्दै हाम्रो आँखा अगाडि देखिएका नीलगिरि र धौलागिरीका मनमोहक दृश्यले हामीलाई मन्त्रमुग्ध तुल्यायो। यस क्षेत्रले ‘कबड्डी’ जस्तो चर्चित नेपाली चलचित्रको छायाङ्कन स्थलको स्मरण गरायो। गाडीको झ्यालबाट बाहिर हेर्दा, ‘कबड्डी’ का संवादहरू मनमा गुञ्जि रहे।
साँझपख मार्फा पुग्दा, तिहारको उल्लासमय वातावरणले हाम्रो स्वागत गर्यो। हामी पनि स्थानीयसँग देउसी खेलेर रमायौं। त्यसपछि, मार्फाको प्रसिद्ध ब्रान्डी र मुस्ताङ कफीको स्वाद चाख्यौं। स्थानीयहरूसँगको भलाकुसारीले हामीलाई थकाली समुदायको कला र संस्कृति गहिराइसम्म बुझ्ने अवसर दियो।
एघारौं दिन
बिहान मार्फा गुम्बामा पूजा गरेपछि हामी कागबेनी पुग्यौं। त्यहाँस्थित १३औं शताब्दीमा निर्मित कोग छोदे गुम्बाको दर्शन गर्यौं र मुक्तिनाथतर्फ लाग्यौं। कागबेनीमा गएको बिनाशकारी बाढी पहिरोका अवशेष र त्यहाँको गोठमा प्रसस्त याकहरू काटिएको दृश्यले मन खिन्न बनायो। कागबेनी जस्तो पवित्र बुद्धिस्ट बस्तीमा पनि यसरी प्राणीहिंसा गरिनु दुःखद् थियो; यो क्षेत्र त वास्तवमा प्राणी अहिंसाको उदाहरणीय स्थान हुनुपर्ने हो।
मुक्तिनाथ क्षेत्रमा पुग्दा, पार्किङ क्षेत्रमा थुप्रिएका प्लास्टिकजन्य फोहोरले मनमा झन गहिरो खिन्नता सिर्जना गर्यो ।यति धेरै तिर्थयात्रीहरूको आगमन हुने यस पवित्र स्थलमा सम्बन्धित निकाय वा स्थानीयले सफाईको उचित प्रबन्ध किन नगरेका होलान् भन्ने प्रश्न मनमा उठ्यो। हाम्रो इको वाक समूहले सफाई गर्ने विचार पनि गर्यो तर त्यसका लागि आवश्यक समय र साधनको अभावका कारण सम्भव भएन। तथापि, हामीले केही स्थानीय होटल सञ्चालकहरूलाई वातावरणीय सचेतनाका लागि प्रोत्साहित गर्यौं।
हामीले मुक्तिनाथमा अवस्थित पवित्र मुक्तिनाथ मन्दिर, नरसिंह गुम्बा, ज्वालामाई मन्दिर, र बुद्ध पार्कको दर्शन गर्यौं। त्यसपछि मुक्तिनाथमै दिउसोको भोजन गरेर, स्याङ्मोचेनतर्फ लाग्यौं। यहाँ आठौं शताब्दीमा गुरु पद्मसम्भवले तपस्या गर्नुभएको ऐतिहासिक छुङ्सी गुफाको दर्शन गरी हामी साँझ झमक्क परेपछि गामीमा पुगेका थियौं। गामीमा हामीले दि रोयाल होटेलमा विश्राम गर्यौं। होटेलका सञ्चालक राजु बिष्टले मुस्ताङको कला, संस्कार, र राजनीतिक पृष्ठभूमिबारे गरेको जानकारी आदान-प्रदानले हामीलाई यस क्षेत्रलाई थप गहिराइमा बुझ्न मद्दत पुग्यो।
बाह्रौं दिन
सुन्दर पहाडहरूको अंगालोमा अडिएको, रातो चट्टानले सजिएको टाक्मार पर्वत, दक्षिणतिर अटल रूपमा उभिएका धौलागिरी, निलगिरी, अन्नपूर्ण शृंखला, र माछापुच्छ्रेका विशाल हिमालहरूको शीतलता महसुस गर्दै, वारिपारिका मरुभूमीजस्ता थुम्काहरूको मनमोहक दृश्यले हामीलाई मन्त्रमुग्ध बनायो। ती थुम्काहरूको वरपर एकअर्कामा जुमुक्क बसेका चाराङ र माराङ गाउँहरूको सौन्दर्य र चट्टानी भूभागको अविश्वसनीय दृश्यले यात्रामा अनुपम आकर्षण थप्यो। त्यहाँको अनुपम शान्तिले हृदयलाई स्पर्श गर्दै हामी विश्वकै सबैभन्दा प्राचीन गुम्बा लोग्याकार (घर गुम्बा) को दर्शन गर्न पुग्यौं, जहाँ पुगेपछि स्वर्गीय अनुभूतिको सजीव स्पर्श महशुस भयो। आठौं शताब्दीमा गुरु पद्मसम्भवले निर्माण गर्नुभएको यो गुम्बामा बिताएको केही समयपछि हामी लोमान्थाङतर्फ अघि बढ्यौं।
लोमान्थाङमा थोरै विश्राम गरेपछि, कोराला नाका पुग्ने लक्ष्यसहित यात्रामा निस्कियौं। नाका पुग्दा हाम्रो मनमा केही निराशा जाग्यो। चीनतर्फ विशाल भवनहरू र व्यवस्थित बस्तीहरू देखिए, तर हाम्रो नेपालपट्टि भने केवल एउटा कन्टेनर मात्र देखिन्थ्यो, जसले मनमा बिझाउने अनुभव गरायो। तथापि, दक्षिणतिरका हिमालहरूको श्वेत-शान्त दृश्यले हाम्रो मनलाई केही शान्त बनायो। मनमनै सोचेँ—चीनले आफ्ना क्षेत्रमा धेरै सुविधासम्पन्न संरचनाहरू बनाएका छन्, तर हाम्रा प्राकृतिक चट्टानहरूले पनि हाम्रो स्वाभिमानलाई उचाइ दिएका छन्।
त्यसपछि हामी छोसेर पुगेर पुरानो विशाल जोङ गुफा र न्यिफुग नम्ड्रोल नुर्बुलिङ गुम्बाको दर्शन गर्यौं। सुनौलो साँझमा लोमन्थाङ फर्कियौं र रात त्यहीं बितायौं। भोलिपल्ट बिहानै उठेर लोमन्थाङको पुरानो राजदरबार, तुप्चेन, जाम्पा, र छोदे गुम्बाहरू दर्शन गर्यौं। सन् १३८० मा आमे पाल भन्ने राजाले स्वातन्त्र राज्यको रुपमा स्थापित लोमन्थाङ हिमाली सौन्दर्यको एक ऐतिहासिक र सांस्कृतिक रत्न हो जहाँ तिब्बती र नेपाली सभ्यता अद्वितीय तवरले मिसिएका छन्। यसको पर्खालभित्र पाइने प्राचीन गुम्बा र संरचानाहरुले यसलाई जीवित संग्रहालय बनाएका छन्। शान्त चिसो हावामा मिसिएको मन्त्रध्वनि र यहाँको अतुलनीय आतिथ्य भावले मनलाई अलौकिक अनुभूति दिलायो । लोमन्थाङ एक यस्तो स्थान हो, जहाँ समयले आफैंलाई इतिहासका पानाहरूमा लेख्न बिर्सिएको झैँ लाग्थ्यो ।
तेह्रौं दिन
यद्यपि हाम्रो गन्तव्य लुरी गुम्बा नै थियो तर एक जना साथीलाई लेक लागेकाले यात्रा छोट्याई म्याग्दी जिल्लाको तातोपानी फर्किने निर्णय गर्यौं। लोमन्थाङबाट फर्कंदै गर्दा, दक्षिणतिर देखिने हिमालको सेताम्य श्रृंखलाले हाम्रो यात्रा एक अनौंठो सौन्दर्यले भरिपूर्ण बनाइरहेको थियो। तीव्र गतिको हावासँगै उडिरहेको धुलोले बाटोलाई साहसिक बनाउँदै हामी जोमसोम आइपुग्यौं र दिउँसोको खाना खायौं।
नेपथ्य समूहको प्रसिद्ध गीत “जोमसोमै बजार बाह्र बजे हावा सरर” गुनगुनाउँदै, थकान मेट्दै केही बेर त्यहाँ विश्राम गर्यौं। लेते र तातोपानी बीचको डर लाग्दो बाटोको सम्झनाले मनमा थोरै चिसोपन छायो। तर जोमसोमदेखि लेतेसम्मको मनोरम दृश्यले त्यो डरलाई क्षणभरकै लागि विस्मृत गरायो।
तातोपानीमा पुगेर, त्यहाँको प्राकृतिक तातोपानी कुन्डमा स्नान गर्दा उपल्लो मुस्ताङको थकान र यात्राका धुलो-धूलोले भरिएका पलहरू एकाएक पखालिएको जस्तो अनुभव भयो। साथी पनि त्यस स्नानपछि आराम भएको अनुभूति गर्दै हाँस्न थाल्नुभयो। तातोपानीको त्यो स्नानले हाम्रो यात्रा पुनः ऊर्जा र उत्साहले भरिदियो।
चौधौं दिन
बिहानको चिसो मौसमले हराभरा जंगल र नदीकिनारलाई अझै मोहक बनाएको थियो। हामीले तातोपानीबाट घोडेपानीको यात्राका लागि आफ्नो आवश्यक सामग्री र ऊर्जा संकलन गर्यौं। यो यात्राको सबैभन्दा लामो, सुखद, र स्मरणीय पैदल यात्रा थियो, जसको हरेक कदमले हामीलाई प्रकृतिसँग थप निकट बनाउँदै थियो।
सडकमार्गको केही भागमा पैदल यात्रा गर्दै गर्दा, एउटा भव्य झोलुङ्गे पुल पार गर्यौं। त्यो पुलको तल शान्त भएर बगिरहेको काली गण्डकी नदीको दृश्यले मनलाई आनन्दित बनायो। तर यात्रा यत्तिनै सजिलो मात्र कहाँ थियो र ! केही बेरपछि उकालोको दु:खले पसिनाको शीत पसार्न थाल्यो। बिहानको चिसोले पुरै शरीर चिसो बनाएको थियो, तर जब चर्को घामले आकाशको उज्यालो बनाउँदै हाम्रो बाटोमा किरण फ्याँक्यो, त्यसले न्यानोपनको सुखद अनुभूति दियो।
बाटोमा भेटिएका केही स्थानियहरू र केही उत्साही पर्यटकहरूसँगका कुराकानीहरूले यात्राको थकानलाई बिर्साइदियो। एक मनमोहक बस्ती ‘घरा’ मा पुग्दा, आँखा अगाडि सुन्तलाका लटरम्म फलेका रुखहरूले स्वागत गरे। आँफैले रुखबाट टिपेर सुन्तला चाख्दै र ताजा मोही पिएर हामी शिखा गाउँतर्फ अघि बढ्यौं।
शिखा गाउँको होटेलमा बस्दा साहुनीले आफ्नो कारेसा बारीबाट ताजै टिपेर ल्याएको हरियो रायो साग, लोकल कुखुराको अन्डाबाट बनेको सुनौलो अम्लेट, र ताजै अचारसहितको दालभात पस्किन्। यो दालभातको स्वादले हाम्रो थकानलाई मेटाएर आत्मासम्मको तृप्ति दिलायो। त्यहाँबाट टाढा देखिने जुमुक्क परेको रमाइलो मगर बस्ती र उत्तरतर्फको धौलागिरि र निलगिरिको चम्किलो हिमशिखरले हाम्रो दृष्टिलाई बाँधी रह्यो।
होटेल साहुनीले आफ्नो आत्मीयता र माया देखाउँदै हामीलाई त्यो रात त्यहीँ बस्न आग्रह गरिन्। उनको न्यानो सत्कारलाई मनमनै सम्मान गर्दै पनि, हामीसँग समयको अभाव थियो र हाम्रो यात्राको गन्तव्य अघि बढ्नुको बिकल्प हामीसंग थिएन।
त्यसपछि हामी फेरि उकालो चढ्न थाल्यौं। बाटो छेउका खेतबारीमा गोरु जोतिरहेका किसान दाजुहरूसँगको रमाइलो गफगाफले हामीलाई त्यहाँको ग्रामीण जीवनको झझल्को दिलायो। चित्रेमा पुगेर चिया पिएर केही बेर त्यहाँको प्राकृतिसँग हरायौं। चित्रेबाट अन्नपूर्णका हिमरेञ्जहरू देखिन थाले। सेताम्मे धौलागिरि र नीलो आकाशसँग मितेरी गाँसेको निलगिरिको हिमशिखरले हाम्रो यात्रालाई सार्थक बनायो।
हामीले बिस्तारै आफ्नो पाइला अघि बढाउँदै गर्दा, ‘वेलकम टु घोडेपानी’ लेखिएको स्वागतद्वार देख्दा, थकानले अलिकति राहत पायौं। साँझपख घोडेपानी पुगेपछि, त्यहाँको सूर्यास्तको दृश्यले हामीलाई मन्त्रमुग्ध पार्यो। त्यो दृश्यलाई शब्दमा बयान गर्न गाह्रो हुन्छ, किनभने त्यो क्षणलाई केवल आँखाले दृष्यपान र मनले मात्र महसुस गर्न सक्थ्यो।
हामीले स्थानीय आमा समूहको घाँटु, सोरठी, झ्याउँरे र रोधीं नाँच हेर्ने इच्छा राखेका थियौं, तर समयको अनुकूलताले त्यो यसपाली सम्भव भएन। घोडेपानी पहिलेको प्राकृतिक सौन्दर्यबाट अलिकति हटेर कंक्रिटका घरहरूले भरिएको देख्दा मनमा अलिकति खिन्नता लाग्यो। त्यहाँका होटेलहरू पनि पहिलेभन्दा अत्यधिक बनेका थिए, जसले प्रकृतिको सादगीलाई केही हदसम्म ओझेलमा पारेको थियो। त्यस रात हामी घोडेपानीमै विश्राम गर्यौं।
पन्ध्रौं दिन
बिहान झिसमिसे नहुँदै, पहिलो प्रहरमै चार बजे नै उठेर टर्च लाइटको सहायतामा पुन हिलतर्फ उकालो यात्रा सुरु गर्यौं। करीब एक घण्टाको पैदल यात्रापछि पुन हिलमा पुग्यौं, जहाँ हामीभन्दा अगाडि धेरै पर्यटकहरू पहिले नै आइसकेका थिए। सबै जना सूर्योदयको प्रतीक्षामा थिए। नोभेम्बर महिना भएकाले पुनहिलमा जाडो सुरु भइसकेको थियो। सूर्योदय हुनुअघि नै हिमालहरूको स्वर्ण दृश्यले मनमोहक वातावरण सिर्जना गरिरहेको थियो। जब सूर्यको पहिलो किरणले धवलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको शिखरलाई छोयो, सबै पर्यटकहरू फोटो र सेल्फीमा व्यस्त भए। हामीले सेल्फी लियौं र सूर्यको त्यो किरणले हिमाललाई सुनौलो बनाएको अवर्णिय दृश्य क्यामेरामा कैद गरियो। सूर्योदयको यो अद्वितीय दृश्य अवलोकनपछि हामीले घोडेपानी फर्केर ब्रेकफास्ट गर्यौं र त्यसपछि उल्लेरीतर्फ ओरालो लाग्यौं। उल्लेरीबाट नयाँ पुलमा दिउँसोको भोजन गरेर पोखरा झर्यौं।
सोह्रौं दिन
पोखराको सौन्दर्यमा पुनः एक रात बिताएर, हामीले बिहानको सहरको चमकलाई बिदाइ गर्यौं र स्यांग्जाको वालिंग, रामदी हुँदै पाल्पाको तानसेन वरीपरीको हरियाली छिचोल्दै लुम्बिनीको शान्त भूमितर्फ लाग्यौं। लुम्बिनी, जहाँ शान्तिको अबिरल धारा अनन्त बगिरहन्छ, त्यहाँ खेन्पो साङ्गे राङ्ज्युङ रिन्पोछेज्युको गुम्बामा बस्न पाउनु हाम्रो लागि एक अविस्मरणीय सौभाग्य आशिर्वाद रह्यो। बिहान गुम्बाभित्र लामाहरूसँग साधनामा लीन हुँदा मनमा अपूर्व शान्तिको अनुभव भयो ।
गुम्बाका विद्वान लोपेन वाङ्गेलले पवित्र स्थलहरूको यात्रा गराउँदै मायादेवी मन्दिर, पहिलो बुद्ध कनकमुनीको जन्मस्थल निग्लिहवा, दोस्रो बुद्ध ककुचन्द्रको जन्मस्थल गोटिहवा, शाक्यमुनि बुद्धले आफ्नो प्रारम्भिक जीवन व्यतीत गरेको तिलौराकोट दरबार, र शाक्यमुनी बुद्धको अबिभाज्य अस्तु धातु भएको पवित्र रामनगर स्तूपाको दर्शन गराए। ती स्थलहरूमा पाइला टेक्दा हामीलाई शान्ति र अध्यात्मको अद्भुत अनुभूति भयो।
त्यस दिन, छठ पर्वको उल्लासपूर्ण वातावरणले लुम्बिनीलाई झकझक्याइ रहेको थियो। तर मायादेवी मन्दिरको परिसरमा रहेको पोखरीको वरिपरि भक्तजनहरुले गरेका फोहोरहरूले तीर्थयात्राको सौन्दर्यलाई धमिलो बनाएको देख्दा हामीले आफ्नो प्रयासमा सरसफाइ गर्न थाल्यौं। गुम्बा परिसरमा पनि फोहोर संकलन गर्दै वातावरणको माया प्रकट गर्यौं तर हाम्रो आगमन हुँदा लुम्बिनीको आकाश चैं प्रदूषित हावाले घुम्टिएको थियो । स्थानीय कृषकहरूद्वारा खेतमा झारपात जलाउँदा उब्जेको धुवाँले हाम्रो मनमा चिन्ता र पीडा जन्मायो। विश्व सम्पदा सूचीमा सूचीकृत यस पवित्र भूमिको यस्तो प्रदूषणले यसको भविष्यको बारेमा गहिरो चिन्तन गरायो।
हाम्रो अर्को उद्देश्य साकाहारी जीवनको प्रोत्साहन गर्नु थियो। सात जनाको हाम्रो समूहमा दुई जना मात्र साकाहारी थिए। तर मायादेवी मन्दिरको पवित्रता अनुभव गरेपछि आङ गेल्जेनले पनि साकाहारी हुने दृढ संकल्प लिए। यो क्षणले हाम्रो यात्रामा एउटा नयाँ अध्याय थप्यो—जहाँ शान्ति, स्वच्छता, र आत्मिक शुद्धताले हामीलाई आस्था र कर्मको मार्गमा अघि बढायो।
सत्रौं दिन
लुम्बिनीको आध्यात्मिक यात्रा पछि हामी चितवन पुग्यौं। हामी सबैको मनमा लुम्बिनीको शान्ति र दिव्यता अझै ताजै थियो। चितवनको नारायणगढबाट हाम्रो मित्र आङ गेल्जेन शेर्पालाई दर्जिलिङतर्फ बिदाई गर्यौं। त्यसपछि हामी बाँकी ६ जनाले चितवन यात्रा सुरू गर्यौं। साँझको समय थियो, हामी नारायणी नदीको किनारमा बसेर सूर्यास्तको दृश्यमा मग्न भयौं। सूर्यको सुनौलो रश्मि नदीमा परेर हरियालीले ढाकिएका भूभागहरूलाई न्यानो र स्नेहालु छायाँ दिइरहेको थियो। त्यो दृश्यले हामीलाई आत्मिक शान्ति र आनन्द प्रदान गर्यो।
रात परेपछि, थारु नाँच र दोहोरीको सांगीतिक प्रस्तुतीले हामीलाई चितवनको कला र संस्कृतिसंग अवगत गरायो। थारु कलाकारहरूको साथमा हामीले पनि थारु नाँचमा सहभागी भयौं। संगीत र नृत्यको लयमा डुबुल्की हानेर हामीले त्यहाँको सांस्कृतिक जीवनलाई नजिकबाट अनुभव गर्यौं।
त्यो रात हामी सौराहमा बितायौं। सौराहमा अतीतमा धेरै रमाइलो हुन्थ्यो। थारु जातिको कला संस्कृतिले भरिएको हुन्थ्यो तर अहिले सौराह पहिले जस्तो थिएन। यहाँको रूप एकदम बदलिई सकेको थियो। पुराना माटोले बनेका परालका थारु घरहरू अहिले कंक्रिटका भव्य भवनहरूसँग प्रतिस्थापित भएका थिए। यहाँको अद्भुत प्राकृतिक सौन्दर्यलाई आधुनिकताले लपेटेको थियो, जसले अतीत र वर्तमानको बीचमा एउटा असजिलो अन्तरविरोध सिर्जना गरेको महशुस भयो।
अठारौं दिन
बिहानको पहिलो किरणसँगै हामी चितवन राष्ट्रिय निकुञ्जको सफारीमा निस्कियौं। शान्त र एकाग्र मनले जङ्गलको गहिराईतिर सन्चार गर्दै जाँदा, हामीलाई थाहा थियो कि यो यात्रा एउटा अद्भुत अनुभव बन्नेछ। नोभेम्बरको अन्त्य हुँदै थियो, जसको कारण धेरै जङ्गली जनावरहरू लुकेर बसेका थिए। तर पनि, गोहीको डरलाग्दो शरीर, हात्तीको विशाल रूप, मयुरको रंगीन पंख र मृगको चञ्चलता हाम्रो आँखामा पर्न सफल भए। केही चराचुरुङ्गीहरूको मधुर आवाज जङ्गलको शान्ति भंग गर्दै गुञ्जिरहेको थियो। निकुन्जका अन्य जनावरहरू देख्न सकिएन, तर जङ्गलको शुद्ध हावा र रमणीय प्राकृतिक दृश्यहरूले हाम्रो हृदयमा गहिरो सान्त्वना छोडे।
दिउँसोको भोजनका लागि हामी नारायणगढ पुगेका थियौं। भोजन पछि हामीले राजधानी काठमाडौंको यात्रा सुरु गर्यौं। नारायणी नदीको किनार छिचोल्दै मुग्लिङसम्मको यात्रामा अघि बढ्यो। नदीको बहावसँगै, त्रिसुली नदिको वेग र वरिपरिका सुन्दरताले हाम्रो यात्रा अझै रोमाञ्चक बनायो।
नौबिसे पुगेर केही समय विश्राम गरेपछि, हामी नाग ढुङ्गाको सुरुङ मार्गको प्रगति देख्न पुग्यौं। यो सुरुङ मार्गको निर्माण प्रक्रिया देखेर हामीलाई लाग्यो कि हाम्रो मातृभूमि अब एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ। सुरुङमार्गको प्रगति र आधुनिक विकासको आभासले हाम्रो हृदय गर्वले भरिदियो। अन्तत: हाम्रो यो रोमान्चकारी यात्रा सकुशल र जीवनलाई पुनर्ताजगी प्रदान गर्दै काठमाडौंमा आएर टुंगियो । तर यो यात्रा हाम्रो मानशपटलमा अमिट छाप बनेर गढेको छ।
काठमाडौंमा हाम्रो यो अविस्मरणीय यात्राको समापनपछि, केही साथीहरू क्रमशः कर्मभूमि अमेरिकातर्फ फर्किए। उनीहरू एकपछि अर्को गरी आफ्ना दैनिक जीवनमा फर्कन थाले। तर हामी मध्ये तीन जनाले काठमाडौंमा अझै केही समय बिताउने निर्णय गर्यौं। हामीले करिब एक महिना यहाँ बितायौं। नेपालमा हुँदा संसार बिर्सिन्छ। यहाँका हावा, माटोको सुवास, र मानिसहरूको आत्मीयता यति गहिरो छ कि बाहिरका सबै चिन्ता र व्यस्तताहरू विस्मृत हुन्छन्। दु:ख र सुखको दैनिकी पनि अस्थायी जस्तो लाग्छ। कति बेला त अमेरिकामा रहेका हाम्रो परिवारको पनि स्मरण यति धूमिल हुन्छ कि त्यहाँका व्यस्त जीवनलाई अस्वाभाविक र कृत्रिम लाग्छ। नेपालमा बस्दा यस्तो लाग्छ कि अमेरिका वा अरु कुनै मुलुक फेरी भिसा लिई जानु पर्छ भन्ने सोंच आउँछ। यहाँको जस्तो न्यानोपन र शान्तिको अनुभूति कहीं पनि पाइँदैन।
यस यात्राको क्रममा हाम्रो यात्राको समापनपछि मैले एक विशेष अनुभवको हिस्सा बनेर बुढानिलकण्ठको धर्म श्रिङ्ग विपश्यना ध्यान केन्द्रमा दश दिने ध्यान शिविरमा ध्यान गर्ने अवसर पाएको थिएँ। ती दस दिनहरू मेरो जीवनको एक नयाँ अध्याय साबित भए। ती दिनहरूले मलाई जीवनका गहिरा अर्थहरूको बुझाइ प्रदान गर्यो। जब मैले ध्यानमा गहिरो मनोयोगमा बसें, त्यसले मलाई जीवन र जगतलाई नयाँ दृष्टिकोणबाट हेरिरहेका थिए। आफैले आफैलाई चिन्ने, बुझ्ने र त्यसमाथि शान्ति प्राप्त गर्ने यात्रा भयो। विपश्यना ध्यान बौद्ध दर्शन अनुसार आत्म-अवलोकन गर्दै आत्म-परिवर्तनको मार्ग पहिल्याउने परम्परागत मेडिटेसन (ध्यान) पद्धति हो। यो एक प्रकारको आन्तरिक जागरण थियो जसले मेरो आत्मबललाई दृढ बनायो र जीवनमा शान्तिपूर्ण र सन्तुलित रहने कला सिकायो।
काठमाडौँमा रहँदा हाम्रो समाजका अग्रज ब्यक्तित्वहरु प्रसिद्द पर्यटन ब्यबसयी आङ छिरिङ शेर्पा, पूर्व मन्त्री आङ छिरिङ लामा, पूर्व सभासद जीप छिरिङ लामा शेर्पा, पहिलो शेर्पा ब्रिटिश गोर्खा मेजर प्रेम दोर्जी शेर्पा, धर्म गुरुहरु खेन्पो साङगे राङ्ज्युङ रिन्पोछे, मेथ्यु रिकर्ड, खेन्पो साङ्गे फुन्चोक, आफ्नो परिवार, आफन्त र साथीभाईहरुबाट पाएको माया सम्मान र उहाँहरुसँगको भलाकुसरीबाट जीवनमा धेरै नयाँ कुराहरु सिक्ने अवसर पाएँ। आफ्नो जन्मभूमिको लागि केही गर्नु पर्छ भन्ने भावना जागृत भयो । यसैगरी, वातावरण संरक्षणको क्षेत्रमा समर्पित ग्रीन क्लिन नेपालका पासाङ लामा र उहाँको उत्साही टिमसँगको भेटघाटले हामीलाई प्रेरित गर्यो। एक अर्कामा अनुभवको आदानप्रदानले वातावरणीय संरक्षणको जागरुकता अझ बलियो बनायो भने जीवनमा नयाँ रचनात्मक सोंचको आयाम थप्ने मौका प्रदान गर्यो।
नेपालको यस अविस्मरणीय यात्राले हाम्रो मनमा गहिरो छाप छोड्यो। हामीले घुमेका नेपालका प्रत्येक स्थानले आफ्नै कथा व्यथा बोकेको थियो। हामीले यो यात्रा बागमती, लुम्बिनी, कोशी र गण्डकी प्रदेशका २० जिल्लाहरूमा विस्तार गर्यौं, जसले गर्दा हामीले देशको विविधता नजिकबाट अनुभव गर्न सक्यौं। हामीले नेपाललाई विश्वका शक्तिशाली र बिकाशित देश अमेरिकाको बसाईको आँखाबाट हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्ने अवसार मिल्यो।
करिव १५०० किमी गाडीबाट, ३५० किमि पैदल यात्रा र २१८ किमि हवाई मार्ग पार गर्दै हामीले हिमाल, पहाड, डाँडाकाँडा, गल्छेडा, नदी किनार र तराई मधेशका समथर भूभागहरू छिचोल्यौं जहाँ हरेक पाइला मातृभूमिको माटोको सुगन्धले भरिएको थियो। हाम्रो यात्रा केवल सौन्दर्यको खोजीमा मात्र थिएन, यो समाज र प्रकृतिप्रतिको दायित्वको पनि अभ्यास थियो। बाटोमा देखिएका प्लास्टिकजन्य फोहोर संकलन गर्दै, हामीले आफ्नो जिम्मेवारी निस्चित ठाउँका संकलन बिनहरूमा पुर्यायौं। जस स्थानमा संकलन बिन थिएनन्, त्यहाँका स्थानीयलाई यो कार्यमा संलग्न गरायौं र उनीहरूलाई आर्थिक सहयोग गर्दै त्यो कामको निरन्तरता कायम राख्न प्रेरित गर्यौं। हाम्रो सानो प्रयासले स्थानीय युवाहरू र विद्यार्थीहरूलाई जागरुकता फैलाउन सघायो। काठमाडौंको फोहोर व्यवस्थापनमा संलग्न ‘ग्रीन क्लिन नेपाल’ लाई हामीले न्यू योर्क फर्किएपछि आर्थिक सहयोग पठायौं, जसले गर्दा हाम्रो प्रयास अझ बलियो बन्यो।
अमेरिका फर्केपछि यस यात्राले हाम्रो मातृभूमिप्रतिको कर्तव्यलाई पुनःस्मरण गरायो, जसबाट प्रेरित भई हामीले ‘हिमालयन होप नेटवर्क’ नामक संस्था नै स्थापना गर्यौं। यस संस्थाको उद्देश्य हिमालय क्षेत्रका पिछडिएका समुदायहरूको शिक्षा, स्वास्थ्य, वातावरण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि सहयोग गर्नु हो। प्रकृतिसँगको यो यात्रा, समाजप्रतिको योगदान, र भविष्यप्रतिको प्रतिबद्धता– यी सबैले हाम्रो हृदयमा एउटा गहिरो संवेदना जन्मायो। मातृभूमिको सेवा र संरक्षणको यो ईकोवाक यात्राले हाम्रो जीवनमा जिउनुको नविन अर्थ र अध्याय थपि दियो।
यसपटक हामीले देखेको परिवर्तनले हामीलाई खुशी र दुःखको अनौठो समिश्रणमा समेटी दिएकोछ। काठमाडौं र पोखराको लेक साइडमा देखिएको नयाँ रूप, खुम्बु क्षेत्रको पर्यटन विकास र पर्यावरणीय चेतनामा आएको वृद्धिको संकेत, हरेक गाउँमा फैलिएको बिजुलीको उज्यालो, सूचना प्रविधिको पहुँच पाएका प्रत्येक व्यक्ति, र युवापुस्तामा स्वावलम्बनको भावना, यी सबैले नेपालको विकासको उज्जवल पक्षलाई दर्शाए। आन्तरिक पर्यटनको प्रगति, काठमाडौं-तराई/मधेश द्रुतमार्गको निर्माण, गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया र विशाल जलविद्युत् परियोजनाहरूले नेपालको विकासलाई गति दिएका छन्।
तर अर्कोतर्फ, नेपालको धेरै स्थानमा वातावरणीय सचेतनाको अझै अभाव, सुन्दर डाँडाकाँडामा फैलिएको प्लास्टिकजन्य फोहोर, मुस्ताङ र अन्नपूर्ण क्षेत्रको पुरानो पदमार्गलाई मोटरमार्गमा परिणत गर्दा उत्पन्न भएका धुवाँ, धुलो र गाडीहरूको भीडले पर्यटकहरूको यात्रा कठिन र निरस बनाएको देखियो। पुराना पदमार्गहरूलाई आजको यात्राका लागि सजिलो बनाउनका लागि मोटरमार्गहरू बनाइएका छन्, जसले पदमार्गमा चल्ने पर्यटकहरूको यात्रा छोट्याइदिएको छ भने स्थानिय ब्यापार ब्यवसाय गरेर बस्नेहरुको उठिबस भएको देखिन्छ । यसले नेपालका परम्परागत पदमार्गहरूलाई जोगाउनु पर्ने आवश्यकता अझ महत्त्वपूर्ण बनाएको छ। नेपालका गाउँबस्तीहरूमा बिना इन्जिनियरिङ्ग बनाइएका यस्ता मोटरमार्गहरूले पर्यावरण र स्थानीय संस्कृति दुवैमा गम्भीर असर पुर्याएको देखिन्छ।
इको टुरिजम (पर्या पर्यटन) र भिलेज टुरिजम (ग्रामीण पर्यटन) जस्ता अवधारणाहरूको प्रवर्द्धन गरेर, पर्यटनका न्यूनतम संरचनाहरू निर्माण गर्नु अत्यावश्यक देखिन्छ। नेपाल जस्तो प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देशमा हामीले हाम्रा समृद्ध र सुन्दर प्राकृतिक सम्पदाहरूलाई जोगाउन सके विश्वभरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ।
उच्च हिमाली क्षेत्रहरुमा यात्रा गर्दा ख्याल गर्नु पर्ने केही टिप्सहरु
हाम्रो यात्राको अनुभवको आधारमा उच्च हिमाली क्षेत्रहरुमा यात्रा गर्दा तलका कुरामा ध्यान दिन सकियो भने अल्टिट्युड सिकनेस, बिरामी हुने, चोटपटक लाग्ने वा अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। यी सुझावहरूले यात्रालाई सुरक्षित र आरामदायक बनाउन मद्दत गर्छन्।
१. शारीरिक र मानसिक तयारी
कुनै पनि यात्रामा जानु अघि शारीरिक र मानसिक रूपमा तयारी गर्नु अनिवार्य छ। विशेष गरेर स्टामिना र श्वासप्रश्वास सुधार गर्ने अभ्यासहरू गर्नु महत्त्वपूर्ण छ। नियमित कसरतले शरीरलाई बलियो बनाउँछ र मानसिक दृढता पनि बढाउँछ, जसले यात्रा गर्दा कठिनाइहरूको सामना गर्न सजिलो बनाउँछ।
२. Acclimatization (शरीरलाई अनुकूल बनाउनु)
यात्रा गर्दा शरीरलाई कम उचाइमा केही दिन राखेर अल्टिट्यूडमा जाने प्रक्रियामा अनुकूल बनाउन महत्त्वपूर्ण हुन्छ। यसलाई “Acclimatization” भनिन्छ। यसले शरीरलाई उच्च उचाइको प्रभावबाट जोगाउँछ र अल्टिट्यूड सिकनेसको जोखिम घटाउँछ।
३. स्वास्थ्यको निगरानी गर्नु
यात्रा गर्दा आफ्नो स्वास्थ्यलाई निरन्तर निगरानीमा राख्नु अत्यन्तै महत्त्वपूर्ण छ। अक्सिमिटर र थर्मोमिटर जस्ता उपकरणहरू सँगै राख्नु र शरीरको अक्सिजन स्तर र तापमान नियमित जाँच गर्नु पर्छ। यदि टाउको दुख्नु, बान्ता आउनु, वा श्वासप्रश्वास गाह्रो हुनु जस्ता लक्षण देखिएमा उच्च तहबाट तुरुन्तै तल झर्ने निर्णय गर्नु पर्छ।
४. प्राथमिक उपचार किट र औषधिहरू
यात्रा गर्दा प्राथमिक उपचार किट, एन्टिसेप्टिक क्रिम, पेनकिलर, ब्यान्डेज र अल्टिट्यूडको औषधिहरू सँगै लैजानु पर्छ। यी साना कुराले ठूलो स्वास्थ्य समस्या बढ्नबाट जोगाउँछ।
५. चिसोबाट बच्नका लागि उचित कपडा
उच्च उचाइमा चिसो बढी हुन्छ। त्यसैले, उच्च गुणस्तरको थर्मल कपडा, हाइकिङ जैकेट, हाइकिङ बुट्स, टोपी, चस्मा, पानीको बोत्तल र स्लीपिङ ब्याग सँगै राख्नु पर्छ। यी सबैले शरीरलाई चिसोबाट बचाउँछन् र यात्रा सहज बनाउँछन्।
६. गाइड र समूहमा यात्रा गर्नु
यात्रा गर्दा गाइड र समूहमा यात्रा गर्नु उपयुक्त हुन्छ। गाइडको अनुभव र समूहको सहारा तपाईंलाई कुनै अप्रत्याशित परिस्थितिमा सहयोग पुर्याउँछ। यसले यात्रा सुरक्षित र व्यवस्थित राख्न मद्दत गर्छ।
७. आपतकालीन योजनाहरू तयार राख्नु
मौसम, उचाइ र अन्य अनपेक्षित परिस्थितिहरूको लागि आपतकालीन योजनाहरू बनाउनु पर्छ। यदि मौसम असहज हुन्छ वा स्वास्थ्य बिग्रन्छ भने, यात्रा जारी राख्न दबाब नगरी रोक्ने निर्णय गर्नु उपयुक्त हुन्छ।
८. वातावरणका नियमहरू पालना गर्नु
यात्रामा वातावरणका नियमहरूको पालना गर्नु महत्त्वपूर्ण छ। अनुशासनमा रहेर यात्रा गर्दा स्वास्थ्य समस्याहरूको जोखिम कम हुन्छ र पर्यावरणको संरक्षण पनि गरिन्छ।
९. प्रसस्त पानी र झोल खाने कुरा खानु
यात्रा गर्दा शरीरलाई हाइड्रेटेड राख्नु आवश्यक छ। पर्याप्त पानी पिउनु र झोल वा सुप जस्ता तरल पदार्थ सेवन गर्नु पर्छ। यसले शारीरिक स्वास्थ्यलाई राम्रो राख्न सहयोग पुर्याउँछ।
१०. उचाइमा बिस्तारै हिड्नु
उचाइ लिँदा यात्रा गर्दा बिस्तारै हिड्नु पर्छ। यो शरीरलाई अनुकूल हुन समय दिन्छ र उचाइ सम्बन्धी समस्या जस्तै श्वासप्रश्वासको समस्या कम गर्न मद्दत गर्छ।
११. हिमाली क्षेत्रका वनस्पति र फूलहरूबारे
उच्च हिमाली क्षेत्रका फूलहरू, जाडिबुटीहरू र धुपिका पातहरू टिप्ने वा सुघ्ने काम गर्नु हुँदैन । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।
-ल्हाक्पा गेलु शेर्पा
फोटो सौजन्यः साङगे शेर्पा
न्यू योर्क
Comentarios