top of page

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका १० व्यक्तित्वहरूलाई नइ पुरस्कारको घोषणा



काठमाडौं, २०७६ फागुन ८ गते : नेपाली साहित्यलाई उजिल्याउने नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका १० व्यक्तित्वहरूलाई २०७६ सालको पुरस्कार घोषणा गरेको छ । यि दश सम्मानित व्यक्तित्वहरूलाई जनही एक लाख रुपियाँ सहित ताम्रपत्रद्वारा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी वैशाख ३० गते काठमाडौंमा समर्पण गरिने कुरा नई प्रकाशनका सदस्यसचिव तथा सुपरिचित साहित्यकार नरेन्द्रराज प्रसाईले एक प्रेस विज्ञप्ति जारी गरी नई पुरस्कारहरूबारे जानकारी गराएका छन्।


नइ प्रकाशनले चिकित्सा क्षेत्रका सुविख्यात डा. गौरीशङकरलाल दासलाई 'नइ भावि पुरस्कार’; राष्ट्रियता प्रबर्द्धनका लागि मानक राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’; महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अन्तर्राष्ट्रिय स्तरको अभिनय गरी नेपालीहरूको प्रतिष्ठा बढाएवापत नायिका मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।


यसैगरी, जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत वरिष्ठ मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्य (मह जोडी) लाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’; आधुनिक मोतीराम भट्टका रूपमा प्रसिद्ध झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’; हिन्दू धर्म र संस्कृतिका अभियन्ता, लेखक तथा चिन्तक प्रा.डा.सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’; सुप्रसिद्ध सङ्गीतकार, गायक तथा गीतकार प्रा.दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकामा रहेर सङ्गठनात्मक तथा सिर्जनात्मक रूपमा नेपाली भाषासाहित्यमा समर्पित, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व अध्यक्ष एवं वर्तमान अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।


नइ प्रकाशनका अध्यक्ष, सुपरिचित नारी हस्ताक्षर इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

0 comments
bottom of page