top of page

भ्रष्टतन्त्रको अन्त्य कहिले हुन्छ? विश्वका १८० देशहरू मध्ये नेपाल ११० औं भ्रष्ट मुलुक

-प्रदीप परियार थापा

Exclusive: विश्वका १८० देशहरू मध्ये खराबहरूको लहरमा नेपाल ११० औं भ्रष्ट मुलुककोरूपमा दर्ज भएकोछ। बहुदलतन्त्रको नाममा विगत तेत्तिस वर्षदेखि ब्रम्हलुटतन्र चलाएर मातृभूमि नेपाल आमालाई कंगाल बनाउँदा पनि एक रति एक सेकण्ड पनि आत्मग्लानी नहुने हाम्रा भ्रष्ट नेताहरू कस्ता? तिनै नेताहरूलाई पटकपटक चुनेर पठाउने हामी लाचारी, लाछी, विवस जनता कस्ता? ट्रान्सपारेन्सी ईन्टरनेसनलको सन् २०२२ को CORRUPTION PERCEPTIONS INDEX रिपोर्टअनुसार नेपालको भ्रष्टता अन्य मुलुकहरूसंग तुलना गरिएको हो। हुन त, भ्रष्टतन्त्र नेपालको नानीदेखिको बानी रहेछ भन्ने कुरा नेपाल एकिकरण अभियन्ता राजा पृथ्बीनारायण शाहले सवा दुई सय वर्ष अघी उद्घोष गरेको ‘घुस दिन्या र लिन्या दुबै देशका शत्रु हुन्' भन्ने दिव्यवाणीले पुष्टि गर्दछ।हामीले समुन्नत नेपालको सपनालाई साकार पार्ने हो भने भ्रष्टाचारको निर्ममतापूर्वक नियन्त्रण, न्यूनीकरण र निवारण उन्मुख कदम चाल्नै पर्दछ। कोही छ हिम्मत गर्ने?


भ्रष्टाचार (घुस) को असर


भ्रष्टाचार (घुस) कै कारण नेपालको विकास निर्माणको बजेट चौपट हुने गरेको छ । भ्रष्टाचार (घुस) लिने-दिने नेपाली निरिह र निकृष्ट परिपाटी यस्तरी संस्थागत भएको छ कि भ्रष्टाचार विरोधी व्यक्ति र जनताले पनि आफ्नो काम बिना कारण रोकिएपछि, ढिलाई भएर चौपट हुने भएपछि केहीसिप नलागेर घुस खुवाएरै पनि आफ्नो काम गराउनु पर्ने अवस्था छ। भ्रष्टाचारी नेता, तिनका भ्रष्ट कार्यकर्ता, हाकिम, कर्मचारी, प्रशासन संयन्त्रलाई घुस खुवाउँदा खुवाउँदा जनता वाक्क दिक्क भएकाछन्। तर राणा र पंचायतिकालमा मात्र हैन तेत्तिस वर्ष अघि पुनर्स्थापित बहुदलीय व्यवस्थापछिका हरेक नेपाली शासक र नेताहरुले पृथ्बीनारायाण शाहको दिब्यवाणीलाई लोप्पा खुँवाउँदै उल्टो भ्रष्टाचारमा चुर्लुम्म डुबेर खिल्ली उडाएको उडाएकै छन्। यो भ्रष्टतन्त्रको अन्त्य नभै देशको समृद्धि र जनताको अमनचयन कायम हुनेवाला छैन।


एक्काईसौं शताब्दीको आधुनिकता, विकास र सूचना प्रविधिको पछिल्लो चमत्कारिक दुई दशकमा नेपालले आफूलाई अत्यन्त गरीब मुलुकहरूको लहरबाट उकासेर बिकास र समृद्धिको पथमा लम्काउनु पर्नेमा एक पछि अर्को वर्ष विश्व मन्चमा भ्रष्टाचारतन्त्रमै चुर्लुम्म डुबाउँदै सर्बनाक उपस्थिति गराएको छ।


भ्रष्टाचारको सूचीमा नेपालको विगत र वर्तमान स्ट्याण्डिंग


ट्रान्सपारेन्सी ईन्टरनेसनलको विगत १९ वर्षको CORRUPTION PERCEPTIONS INDEX रिपोर्टअनुसार सन् २००४ मा ९० औं नम्बरमा रहेको नेपाल सन् २००५ मा बदनामीतिर उक्लिदै ११७ औं नम्बरमा दर्ज भएको थियो भने सन् २००६ मा १२१ औं नम्बरमा, सन् २००७ र २००८ मा १३१ औं नम्बरमा, सन् २००९ मा १४३ औं नम्बरमा, सन् २०१० मा १४६ औं नम्बरमा, सन् २०११ मा १५४ औं नम्बरमा, सन् २०१२ मा १३९ औं नम्बरमा, सन् २०१३ मा ११६ औं नम्बरमा, सन् २०१४ मा १२६ औं नम्बरमा, सन् २०१५ मा १३० औं नम्बरमा, सन् २०१६ मा १३१ औं नम्बरमा, सन् २०१७ मा १२२ औं नम्बरमा, सन् २०१८ मा १२४ औं नम्बरमा, सन् २०१९ मा ११३ औं नम्बरमा, सन् २०२० र २०२१ मा ११७ औं नम्वरमा र सन् २०२२ मा ११० औं भ्रष्ट मुलुकहरूको लहरमा रहेको छ।


यो वार्षिक प्रतिवेदनमा नेपालको हरेक वर्ष हुने केही नम्बरको सुधार र पुनः बढोत्तरी हुने अस्थिर डाटाको अध्ययनबाट नेपालको अस्थिर राजनीतिक अवस्था यसको कारकको रूपमा लिन सकिन्छ।स्थाई र जनउत्तरदायी सरकार साथै भ्रष्टाचारीलाई कार्यवाही गर्ने कडा कानून र कार्यान्वयन गर्नेअधिकार सम्पन्न निकायको संस्थागत विकास र संस्कार नहुँदासम्म नेपाल भ्रष्टाचारको जन्जालबाट उम्किन सक्ने अवस्था आउँदैन।


छिमेकी मुलुक र विश्वका उत्कृष्ट देशहरूसंग नेपालको दाँजो


नेपालको छिमेकी मुलुकहरू भारत (ईण्डिया) ८५ औं स्थानमा रहेको छ भने चीन (चाईना) ६५ औं स्थानमा रहेको छ। यसको मतलब यि दुई छिमेकी मुलुकहरू पनि भ्रष्टाचारको मामलामा बदनाम नै छन् तर उनीहरू विश्वकै प्रभावशाली अर्थतन्त्र र द्रूत्तर विकासमा अघि बढेका मुलुकहरू हुन्। विडम्बना, नेपाल ठीक उल्टो गतिमा हिडी रहेको मुलुक हो। बरू अन्य दक्षिण एसियाली मुलुकहरू भुटान २५ औं, मालदिभ्स ८५ औं र श्रीलंका १०१ औं नम्बरमा रहेर नेपालभन्दा राम्रो सफतला प्राप्त गरेका छन्।नेपालभन्दा खराब दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान १४० औं नम्बरमा र बंगलादेश १४७ औं नम्बरमा छन्।


उक्त CORRUPTION PERCEPTIONS INDEX 2022  रिपोर्टअनुसार अत्यन्त कम भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा युरोपेली मुलुक डेनमार्क पहिलो नम्बरमा रहेकोछ भने दोश्रोमा फिनल्याण्ड, तेश्रोमा न्यूजिल्याण्ड, चौंथोमा नर्वे र पाँचौंमा एसियाली मुलुक सिंगापुर रहेको छ। त्यसैगरी, छैंठौंमा स्वेडेन, सातौंमा स्विट्जर्ल्याण्ड, आठौंमा नेदरल्याण्ड, नवौंमा जर्मनी र दशौंमा आयरल्याण्ड रहेकाछन्।अन्य, हंगकंग १२ औं नम्बरमा, अष्ट्रेलिया १३ औं नम्बरमा, क्यानाडा १४ औं नम्बरमा, जापान १९ औं नम्बरमा, युके २० औं नम्बरमा, फ्रान्स २१ औं नम्बरमा, युएसए (संयुक्त राज्य अमेरिका) २४ औं नम्बरमा र साउथ कोरिया ३२ औं नम्बरमा रहेकाछन्।


विश्वमै अधिकतम भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा सबैभन्दा अन्तिममा सोमालिया १८० औं मुलुकमा दर्ज भएकोछ। नम्बर १७९ औं मुलुकमा सिरिया, नम्बर १७८ औं मुलुकमा साउथ सुडान, नम्बर १७७ औं मुलुकमा भेनेजुएला, नम्बर १७६ औं मुलुकमा यमन, नम्बर १७५ औं मुलुकमा लिबिया, नम्बर १७४ औं मुलुकमा नर्थ कोरिया र नम्बर १७३ औं मुलुकमा हाईटी रहेको छ।


नेपालको यो नियतिको अन्त्यमा बिलम्ब नगरौं


नेपालको यो हालत नहोस पनि किन- नेपालका नेताहरुले नेपाललाई सिंगापुर र स्विईजर्ल्याण्ड बनाईदिन्छु भनेर जनतासंग भोट माग्ने तर सत्तासिन भएपछि आफू र आफ्ना आसेपासेहरुले भ्रष्टाचार गरी अकूत सम्पत्ती आर्जन गर्ने क्रम सन् १९९० मा बहुदलीय ब्यबस्थाको पुनर्स्थापना पछि झनै संस्थागत बन्न पुगेको तथ्य जगजाहेर छ । नेपालका बहुदल र समाजबादका हिमायती केही नेता र मन्त्रीहरु भ्रष्टाचारकै कारण जेल सजाय भोगिसकेको नजिर छ। अहिले पनि नेताहरुको सुखसुबिधाको आयस्रोत निदिखुदी गर्ने हो भने कुनै बैधानिक आयस्रोत नखुल्ने पक्का छ । राणा काल र पन्चायती निर्दलिय ब्यबस्थाको बेला राष्ट्रिय सम्पत्तिमा जुन ब्रम्हलूट हुन्थ्यो त्यो बहुदलको आगमनपछि बिभिन्न रुप र रंगमा यथावत कायम र बढोत्तरी रहेको छ । तर अब यसको बिना बिलम्व अन्त्य हुनु जरूरी छ।

0 comments

Comments


bottom of page