top of page

नेपाली जाति, नेपालीत्व र नेपालीपन: किन र कहिलेसम्म रहला?

Updated: Dec 29, 2019

संधैभरी नेपाली पहिचान रहँदैन । किन ? प्रवासमा कहिले समाप्त हुन्छ नेपाली पहिचान ? नेपालीमा (जो सुकै नेपाली मातृभाषामा पनि) सपना देख्न छोडेपछि नेपाली रहिंदैन तर कसरी ? यि सबै जिज्ञासाहरुको सरल र सटिक उत्तर नेपाली भाषासाहित्यका सुपरिचित प्राज्ञ, नेपाली भाषाविद, समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले यो विशेष आलेखमा दिनु भएको छ । हाम्रो एनआरएन पुस्ताले पढ्नै पर्ने र घोत्लिनै पर्ने यो सरगर्भित लेख पढेपछि बिचार मन्थनमा सहभागी बन्नुहोस।

-प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर


"विभिन्न मुलुकबाट गएका नेपालीहरू नेपाली भाषामा (जो सुकै नेपाली मातृभाषामा पनि) सपना देखुन्जेल तिनको पहिचान नेपाली भन्ने हुन्छ भने जब तिनीहरू नेपाली भाषामा सपना देख्न छाडी त्यही देशको भाषामा सपना देख्न थाल्छन् तिनीहरूको पहिचान पनि त्यही देशकै नाममा गाँसिन्छ ।"


सामान्यतया विभिन्न अङ्ग्रेजी शब्दमा 'ism' प्रत्यय लगाउँदा त्यसले सम्बद्ध शब्दको अर्थसँगै वाद भन्ने अर्थ दिन्छ, जस्तै— Classicism (परिष्कारवाद/शास्त्रीयतावाद) Romanticism (स्वच्छन्दतावाद), Marxism (माक्र्सवाद) आदि । यसरी 'ism' प्रत्यय लागेका अङ्ग्रेजी शब्दलाई नेपाली रूपान्तरण गरी वाद बनाइएका प्रशस्तै शब्दहरू छन् तर सबै अङ्ग्रेजी शब्दमा 'ism' जोडिँदैन र 'ism' जोडिने शब्दमा पनि त्यो जोड्नेबित्तिकै वाद बन्दैन अर्थात् 'ism' प्रत्यय लागेका सबै अङ्ग्रेजी शब्दले वाद भन्ने अर्थ दिँदैन, जस्तै— Mechanism (यन्त्ररचना), Plagiarism (साहित्यिक चोरी), Recidivism (अपराधवृत्ति) आदि । यसरी जुनसुकै शब्दमा 'ism' जोड्दै वाद बनाउने हो भने बर्बाद हुन्छ । वादको तात्पर्य विशिष्ट विद्वान्हरूले निश्चित गरेको कुनै कुराको मत वा सिद्धान्त, सार कुरो पत्ता लगाउनाका लागि गरिने तर्क, विचार आदि भन्ने हुन्छ ।


हालसालै अमेरिकाको न्यू जर्सी निवासी सुपरिचित पत्रकार प्रदीप परियार थापाले आफ्नै प्रधान सम्पादकत्वमा Nepalism.com नामक अनलाइनको सञ्चालन गर्न थालेका छन् । झट्ट हेर्दा Nepal (नेपाल) शब्दमा 'ism' थपेर बनाइएको यस शब्दको अर्थ 'नेपालवाद' भन्ने हुन्छ तर Nepal शब्दमा थपिएको 'ism' ले वादको अर्थबोध नगराई यसले नेपालीत्व वा नेपालीपन भन्ने अर्थबोध गराउँछ । यस दृष्टिबाट Nepalism शब्दको अर्थ वादसँग नभई नेपाली जातिसँग सम्बद्ध रहेको देखिन्छ ।


संसारमा अनगिन्ती जातजातिहरू रहेका छन् । ती सबैमा 'ism' थप्दै वाद बनाउँदै जाने हो भने त्यो त झनै बर्बाद हुन्छ । जाति विशेषको सम्बन्ध प्रथमतः सम्बद्ध देशको राजनैतिक भूगोल र द्वितीयतः भाषासँग हुन्छ । जातिको पहिचान देशको राजनैतिक भूगोल र भाषा दुवैबाट हुन्छ । नेपाली जाति भन्नाले नेपाल देशको चार किल्लाभित्र बसोबास गर्ने सम्पूर्ण जनसमुदायलाई बुझाउँछ तर नेपाली जातिको पहिचान राजनैतिक भूगोलमा मात्र सीमित नरही भाषिक भूगोलमा पनि विस्तारित हुन्छ । नेपालबाहिर भारतका विभिन्न भूभाग, भुटान, बर्मा (म्यानमार) आदि मुलुकमा पहिलेदेखि नै र पछिल्लो समयमा युरोपका विभिन्न मुलुक, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत संसारका विभिन्न मुलुकमा नेपालीहरू बसोबास गर्दै आएका छन् । भारतका विभिन्न भूभागमा बसोबास गर्ने कतिपय नेपाली भूमिसहित गएका हुन् भने अन्य ठाउँमा गएका नेपाली भूमिरहित गएका हुन् । भूमिसहित वा भूमिरहित जुन रूपमा गएका भए पनि तिनीहरू आफ्नो राजनैतिक प्रभुत्व जमाएर बसेका भए मात्र तत्स्थानमा पूरै नेपालीको पहिचान कायम रहन्छ नत्रभने त