top of page

न्यू योर्कमा १६ नेपाली भलिबल टिमद्वारा क्यान्सर पिडित नेपालीको लागि खेलकूद प्रतियोगिता


Exclusive: न्यू योर्क: न्यू योर्क सहरका चर्चित मोडल, नायक एवं डिजे एलएस उर्फ जाङ्बु शेर्पाको आयोजनामा नेपाली अमेरिकन १६ भलिबल खेल टिम बीच शनिवार दुई दिने भलिबल प्रतियोगिता शुरू भएको छ । धनकुटा घर भै काठमाण्डौंमा बिगत डेढ वर्षदेखि नजल ट्यूमर क्यान्सर (नाक भित्रको) को किमो उपचार गराईरहेका ४९ वर्षीय भलिबल खेलाडी बिरबहादुर लिम्बूको सहयोगार्थ उक्त भलिबल प्रतियोगिता आयोजना गरिएको डिजे शेर्पाले नेपालिजम डट कमलाई जानकारी गराएकाछन्।


शनिवार र आईतवार आयोजित प्रतियोगितामा एभरेष्ट, माछापुछ्रे, धौलागिरी र कञ्चनजंगा समूहमा ४/४ टिम बिभाजित गरी बिभिन्न १६ नेपाली अमेरिकन भलिबल टिमहरु वीच ३१ खेल खेलाईने जानकारी गराईएकोछ। प्रतियोगिता न्यू योर्क सहरको क्वीन्स ब्रिज पार्कमा राखिएकोछ।


को हुन् बिरबहादुर लिम्बू?


सोलु जिल्ला घर भएका न्यू योर्क निवासी कलाकार एवं डिजे जाङ्बु शेर्पा र धनकुटाको साँगुरी गाउँपालिका फाक्सी-५ घर भएका बिरबहादुर लिम्बू बीच काठमाण्डौंमा झण्डै २५ वर्ष अघि चिनजान भएको थियो। उनीहरूको काठमाण्डौंमा भलिबल खेल खेल्दा मित्रता भएको थियो जुन शेर्पा अमेरिकाआएपछि पनि निरन्तरता रह्यो। यसबिच, दुबाईतिर लागेका लिम्बू केही वर्षपछि नेपाल फर्केर ट्याक्सी चालक बने। उनी लामो समयदेखि पिनास (साईनस) रोगबाट पीडित थिए। दुबाईमा छँदा उनको नाक पिनासले पुरै बन्द भएपछि दुई वर्ष अघि उनी नेपाल फर्केर चेकअप गर्दा उनलाई नजल ट्यूमर क्यान्सर (नाक भित्रको) भएको पत्ता लागेको थियो। त्यस यता उनले किमो उपचार गराईरहेकाछन्।


कलाकार शेर्पाका अनुसार बिरबहादुर लिम्बू आफू बिरामी परेपछि बिगत दुई वर्षदेखि ट्याक्सी चालकको काम गर्न सकेकाछैनन्। लिम्बूले कमाउन्जेल गृहिणी रहेकी उनकी श्रीमतिले अहिले काठमाण्डौंको कपनमा टहरोमा सब्जी पसल राखेर परिवारको जेनतेन देखभाल गर्दैआएकिछिन्।उनीहरूको १७ र १५ वर्षीय दुई छोरी छन्।


कलाकार एवं डिजे जाङ्बु शेर्पाले खेलकूदबाट उठेको रकम पुरस्कार र आयोजना खर्च कटाएर क्यान्सर पिडित बिरबहादुर लिम्बूको सहयोगार्थ पठाउने जानकारी गराए।

0 comments
bottom of page