रास्वपा सभापति रवि लामिछाने र बालेन शाह बिच ऐतिहासिक एकता
- Nepalism.com
- Dec 27, 2025
- 2 min read

नेपालमा वैकल्पिक राजनीतिक शक्तिको उदय
Exclusive: काठमाडौं: नेपालको वैकल्पिक राजनीतिक शक्तिहरू बिच भैरहेको ध्रुविकरणले एक युगान्तकारी फड्को मारेकोछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका बहुचर्चित मेयर बालेन्द्र शाह (बालेन) बीच 'बृहत् एकता' सहमति भएको छ। मेयर बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी रास्वपा र सभापति लामिछाने सहमत भएपछि यो ऐतिहासिक एकता सम्भव भएको हो।
नेपालमा जेनजि आन्दोलनले पैतिस वर्षदेखि शासन गरिरहेका पुराना र भ्रष्ट नेकपा एमाले र नेपाली काँग्रेस दलहरूको सरकारलाई सत्ताच्यूत गरेपछि वैकल्पिक राजनीतिक शक्तिहरू एकताको प्रयासहरू भैरहेका थिए।

उक्त सहमति अनुसार रास्वपा सभापतिमा रवि लामिछाने कायम रहनेछन् भने पार्टीको नाम र चुनाव चिन्ह साविककै राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चिन्ह रहने सहमति पत्रमा उल्लेख छ। सो सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्। यि दुई बहुचर्चित र जनता बीच लोकप्रिय युवा नेताहरू रवि र बालेनको एकतापछि नेपाली राजनितिले कोल्टे फेर्ने, सुशासन र समृद्ध नेपालको निम्ति नेपाली जनताले आगामी आमनिर्वाचनमा रास्वपालाई बहुमत दिलाउने विश्वास लिईएकोछ। अब अन्य वैकल्पिक राजनीतिक शक्तिहरू र जेनजि युवाहरू पनि रास्वपामा समाहित हुने अपेक्षा पनि गरिएकोछ।

रवि लामिछाने र बालेन बीच भएको सहमति पत्रको पूर्ण पाठः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह बीच 'बृहत् एकता' सम्बन्धी सहमति
सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन-जी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरुका शहीद एवं घाइतेहरुको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरुको सहकार्य मार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोश्रो पक्ष) बीच देहायका सहमति भएको छ।

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी", दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी' र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
रवि लामिछानेबालेन्द्र शाह
पुष १३, २०८२
काठमाडौँ






