युगपुरुष रवि लामिछाने: देशको बागडोर सहकर्मीहरूलाई सुम्पेर आफू फेरी जनता माझ
- Nepalism.com

- Apr 5
- 2 min read

-प्रथा मगर
Opinion: रवि लामिछाने मातृभूमि नेपालले पाएको एक यस्तो सच्चा छोरो र यो युगको युगपुरुष हुन् जसले एक पछि अर्को आफ्ना सहकर्मीहरूलाई देशको “राजकाज” जिम्मा सर्लक्कै सुम्पेर आफू फेरी जनता माझ जाने योजनाका साथ आफूलाई सत्ता राजनीतिबाट अलग राख्न सफल भएकाछन्। रविको यस त्यागलाई कतिले फगत उनको कानूनी उल्झनको उपज र वाध्यता भने पनि उनी रास्वपा स्थापनाकालदेखि नै आफ्ना राजनीतिक सारथीहरूलाई दिल खोलेर विश्वास गर्ने, उपयुक्त जिम्मेवारी दिन कुनै कन्जुस्याई नगर्ने र स्वार्थको कुनै सम्झौता नगर्ने राजनेता हुन्। सबैलाई हेक्का रहोस्, यसो गर्नु रविको दुर्वलता हैन, न त बाध्यता, रविको विकल्प रवि मात्र हुन्। उसो त रवि अब एक पात्र मात्र रहेनन्, उनी नेपाली युवाहरू बीच एक फेनोमेनन् बनी सके। देश विषम घटना या परिघटनाबाट गुज्रिदा राष्ट्रलाई बेथितिबाट मुक्ति दिलाउन र जनतालाई सुशासनको सुदिन ल्याउन रवि हजारौं रविहरू जन्माउने सतविज बनिदिए।

सारथीहरूप्रति समर्पित
चाहे बालेन्द्र शाहलाई प्रधानमन्त्रीको सत्तारोहण गराउँदा होस् या डिपि अर्याललाई सभामुख बनाउँदा, रविनै एक कदम अगाडि बढेर उनीहरूलाई जिम्मेवारी सुम्पिए। यस्तो उदारता र सौहार्दता नेपालको विरलै राजनेताहरूमा देख्न सकिन्छ।

विगतको बितृष्णा
विगतमा राणा शासनका बेलाका काण्ड र कोट पर्वहरू, शाह राजदरवारका धोखाधड़ी, हत्या र आधुनिक बहुदलीय नेपाली राजनीतिको अन्तर्घात र ठगबन्धन (गठबंधन हैन) जस्ता दृष्टान्तले स्वार्थी नेताहरू र लोभीपापी भाईभारदारहरूको धोखाघडी, सत्ता र शक्तिको निम्ति एकआपसमा गरिने फोहोरी खेलको लुच्चोपनलाई उदांगो गर्दछ।

मानक
रवि नेपाली राजनीतिका धरोहर मानक बनेका किसुनजी र लौहपुरुष गणेशमानको पदचापमा अघि बढेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादीका सबै नेताहरू कि भ्रष्ट भए, छन् कि दास र जिउँदा लाश बनेर जिईरहेको अवस्थामा रवि लामिछानेले चैं नेपाली आधुनिक राजनीतिमा आमूल परिवर्तनको शंखघोष गर्दै असल मानक स्थापित गर्न सफल भएकाछन्।

निलो क्रान्तिका प्रणेता
एक थोपा रगत नबगाई मत परिवर्तनबाट व्यवस्था हैन अवस्था परिवर्तन गर्ने खुल्ला आँखाले देखेको सपनालाई रास्वपा सभापति रवि लामिछानेले निलो क्रान्तिको नाम दिएका थिए। आज मुलुक त्यहीं निलो क्रान्तिको ऐतिहासिक उत्कर्षमा पुगेको छ।

परिवर्तनको सुनामी
तीन दशकभन्दा बढी समयदेखि दोहोरिँदै आएको सत्ता–परिवर्तनको घृणित म्युजिकल चेयर चक्रले जनताको जीवनस्तर परिवर्तन गर्न सकेन, बरू उल्टै हरेक नेपालीको शीरमा झण्डै एक लाख रूपैंयाँको रू. २९ खर्वको सार्वजनिक रिण थोपरियो। भ्रष्टाचारमा नेपाल विश्वमै कुख्याति कमायो। सरकार फेरिए, नारा फेरिए तर अनुहार उहीं असक्षम र भ्रष्ट नेताका रहे। कुशासनको लबस्तरो संरचना उस्तै रह्यो। यही थकान, यही निराशा र यही बेथिति, निराशा र आक्रोशको धरातलमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो र यसको चुनाव चिन्ह घण्टीको लहरबाट परिवर्तनको सुनामी आएकोछ। रास्वपाको पक्षमा आएको यो ‘परिवर्तनको सुनामी’ ले वास्तवमै सत्तामा रूपान्तरण ल्याउन सक्नेछ भन्ने आशा पलाएको छ।
आशा
रास्वपा सभापति रवि लामिछानेले झण्डै तीन वर्षअघि सुरु गरेको निलो क्रान्तिको राजनीतिक यात्राले अहिले सरकार गठन र सुशासन कार्यान्वयनसम्मको ऐतिहासिक घडिसम्म पुगेको छ। जनता अब रिजल्ट पर्खेर बसेकाछन्। आशा गरौं, रास्वपा बालेन सरकारले जनताको चैनको स्वास फेर्ने सपनालाई पुरा गर्नेछ। रवि एक सत्याग्रहको नदीबाट बहँदै अब हजारौं र लाखौं रविहरूको जनसागर बनी सकेको छ।




Comments