top of page

ऐतिहासिक सम्पदा हचिंकोटलाई बचाऔं


Exclusive: गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वड़ा नं.१ मा अवस्थित ऐतिहासिक धरोहर हचिंकोटको चुचुरोमा चाईनिज सोसल मिडिया कम्पनी टिकटकको लोगो दुई वटा नेपालको झण्डाको बिचमा जडान गरेर सेल्फि डाँडा बनाउन खोजिएपछि त्यो लोगो हटाउनु पर्ने र राष्ट्रिय सम्पदाको मौलिकताको संरक्षण गर्नु पर्ने माग उठेको छ। विश्वभर सोसल मिडिया एडिक्शनको खराब लत लगाएर करोडौं किशोर मस्तिष्कलाई असर पारेको दावी सहित टिकटकलाई संयुक्त राज्य अमेरिका, युके (बेलायत), युरोपियन युनियन, फ़्रान्स र ईटालीमा दर्जनौं मुद्दा हालिएको छ। अस्ट्रेसिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड र दक्षिण कोरियामा टिकटक र सोसल मिडियाको दुरुपयोग कम गर्ने कडा कानूनहरू लागू गरिएको छ। हामी चैं हचिंकोटलाई टिकटक सेल्फी डाँडा भनेर पो चिनाउन लागेको? यो सरासर गलत कार्य भएन र?



हचिंकोटः एक ऐतिहासिक धरोहर


याद रहोस् मित्रहरू, हचिंकोटलाई कुनै कसैको सहारा चाहिदैन पर्यटकको मन तान्न। यसको आफ्नो विरासत काफी छ।विश्वमा भर्टिकल भिडियो लुपको अन्तहीन विषादीयुक्त दृष्यपान गर्ने साम्राज्य फैलाउने टिकटक त झनै चाहिदैन। अहिले यसो भन्दा मन दुख्ला तर ईतिहासले हामीलाई माफी दिने छैन यदि बेलैमा सत्य कुरा नबोली बस्यौं भने।



हचिंकोटः प्रकृतिको अनुपम रूप


हचिंकोट उहीं धरोहर हो जहाँबाट गोरखपुरे रेल देख्न सकिन्छ भनेर भनिन्थ्यो, देखियोस या नदेखियोस् तर यसको टुप्पोबाट नेपालका अनगिन्ति हिमाल, पहाड, कन्दरा र गाउँले वस्तीको अवलोकन गर्न सकिन्छ। जसको टुप्पेमा उभिएर आकाशका लाखौं, करोडौं नक्षत्र (तारा) हरूको खगोलीय अध्ययन गर्न सकिन्छ। बरू तारा हेर्ने (star gazing) प्रवर्धनको लागि टेलिस्कोप चैं मै प्रायोजन गरिदिउँला तर टिकटकको कलंकको भारी हचिंकोटलाई नबोकाउँ।


हचिंकोट उक्लिने रोमान्चित खेल


अर्को कुरा, हुक्रायो नागदेखि र्यापलिंग गर्दै हचिंकोट उक्लिने रोमान्चित खेल (sport adventure) शुरू गरौं र हचिंकोट दरवार अवलोकनसंगै ऐसेलु र चुत्रा खाँदै थानी बाजेबजै हुँदै कोट र ढिंकी जाँतो संरक्षण क्षेत्रसम्मको लिगलिगकोटे ऐतिहासिक सामर्थ्य दौड ironman sport शुरू गरौं।



हचिंकोटे राजारानीको रोमांचक कथा


हचिंकोटे राजारानीको कथा कम्ता रोमांचक छैन त? ति राजा-रानी रैथाने थे कि आगन्तुक? रानी बिछट्टै सुन्दरी थिईन् रे, राजा बडा हक्की। मूर्ति बनाउने हैन त? अझ रोचक कुरा मानव जातिको असल मित्र, सहयात्री कुकुर लिएर अर्को मुलुकका राजा-रानी हाम्रा हचिंकोटे राजा-रानीको दरवारमा एक साँझ बासबस्न आएका थिए रे। हाम्रा राजा-रानीले आफ्नो र पाहुनाको खानपानपछि त्यो आगन्तुक कुकुरलाई कोदोको रोटी दिंदा त्यो कुकुर कालो चिज देखेर तर्सेर खान मानेन रे। यो घटनापछि “थैट, हामीले त कुकुरले नखाने चिज पो खाएर बसेका रैछौं” भनेर हाम्रा हचिंकोटे राजा-रानीले दरवारै छोडेर हिंडेका हुन् रे। हचिंकोटे राजा-रानीले प्रयोग गरेको खड्किलो पल्टिएको भीरको के कुरा गराई भो र।


अनि, विश्वकै उपयोगी पंक्षी गिद्धले हचिंकोटको आकाशमा उकासिएर तल अर्डांडी पल्तिरको ढुंगे प्लाटेउमा हड्डी खलालेर हड्डी भित्रको मासी खाएको दृष्य कति रोमान्चक होला।


गिद्ध संरक्षणको प्राकृतिक आरक्षण क्षेत्र घोषित गरौं


बरू गिद्ध संरक्षणको प्राकृतिक आरक्षण क्षेत्र घोषित गरी विश्वभरकै पंक्षीप्रेमीहरूको मन खिच्ने हो की? सेल्फी त गिद्ध र ऐसेलुसंग पो खिच्ने हो। सेल्फी त हुक्रायो नाग र थानी बाजेबजैसंग खिच्ने हो।


सांस्कृतिक विरासत र पुनर्जागरण


कोटको जात्रामा ऐतिहासिक सराय नाँच, सोरठी र यानी मयाको भाखा र लयमा लट्ठीने अब कहिले हो? सोल्टिनी र सोल्टीसंग झ्याउरेमा रौसिने ति दिनहरू फेरी आउला? हाम्रा साँस्कृतिक धरोहरले हामी चिनिने हो नकि टिकटक सेल्फी डाँडाको नामले। हचिंकोटलाई हचिंकोट बनेर युगौयुगसम्म ठिंग उभिएर आफ्नो मौलिक पहिचानमा जिउन दिउँ। रिसानी माफ पाउँ।


राष्ट्रिय सुरक्षामा समेत असर ?


मेरो केही जिज्ञाशाहरू सबै सरोकारवालाहरूलाई पूर्व जानकारी (prior informed) होस् भनेर मात्र हो। चिनको कम्पनीले विकास गरेको टिकटकले राष्ट्रिय सुरक्षामा समेत असर पर्ने भएकोले धेरै देशले आफ्नो सरकारी कार्यालयहरूमा चलाउन बन्देज पनि गरिसकेको अवस्था छ। यस्तो संवेदनशील सोसल मिडियाको लोगोलाई हामीले चैं ऐतिहासिक हचिंकोट दरवारको भग्नावशेषमा राख्नू भनेको कुनै हिसावले पनि मुनाशिव मान्न सकिन्न। युवाको माग भनेर संवेदनशीलतालाई नजरअन्दाज गर्नु नहुने थियो। नव युवाहरूलाई सही मार्ग निर्देश गर्ने दायित्व हामीले निभाउन चुक्नु हुन्न। तर, मारे पाप, पाले पून्य कमाउने कुरो भएकोले जसले यो निर्णय लियो उसैले सबै भैपरी आउने कुरा जिम्मा लिने कुरा होला। मैले त जानेको कुरा सुझाउने दायित्व मात्र निर्वाह गरेको हूँ। आगे यहाँहरूकै मर्जी🙏


विरासतलाई विर्सदै टिकटक डाँडा?


अब नयाँ पुस्ता बिच हचिंकोट नाम रहनेछैन। टिकटक डाँडा भनेर चिनिनेछ। हाम्रै पुस्ताले नव पुस्ताको मागको नाममा यसरी ऐतिहासिक भूल गर्दैछौं। अहिले यो भनाई कडुवा लाग्नेछ, तर पछि जब हचिंकोट चुलीलाई पर्यटक र छिमेकीले समेत टिकटक डाँडा भन्न थाल्छन्, तेतिन्जेल सच्याउन धेरै ढिलो भैसक्नेछ।😭


विदेशी कलंकित कम्पनीको लोगो हाम्रो राष्ट्रिय गौरवको शीरमा किन ?


विश्वभर विवादास्पद बन्दै गरेको सोसल मिडिया टिकटक जसले किशोर बालबालिकाको सृजनशील दिमागलाई गंभिर असर पारेको आरोप लागेको छ। यस्तो चाईनिज कम्पनीको लोगो हचिंकोट जस्तो ऐतिहासिक र मौलिक महत्वको सम्पदाको शीरमा हामी आफैले जडान गरेर आफ्नै रैथाने राष्ट्रिय गौरव स्थलको मानमर्दन गर्नु कदापी मुनाशिव हुँदैन। ईतिहासले हामीलाई माफी गर्ने छैन। हामी किन यति सारो दिग्भ्रमित भएको हौं? म तीन छक् परेकोछु। यस्तो संवेदनशील निर्णय लिनु अघि हामी मध्ये किन कोही कसैको मनमा विदेशी कलंकित कम्पनीको लोगो हाम्रो राष्ट्रिय गौरवको शीरमा नेपालको सार्वभौमिकताको प्रतीक झण्डासंगै अझ बिचमा नराखौं भन्ने बुद्धि र जुक्ति किन आएन होला? कि साथीभाई रिसाउँछन् भन्ने डर भो? बुढी मरी हैन काल पल्क्यो पो बुझ्नु पर्छ त। लौ न। हामीलाई माफ गर थानी बाजेबजै, हचिंकोटे राजारानी। मेरा टिप्पणीहरू कुनै व्यक्ति माथि हैन। साम्राज्यवादी संस्कृति प्रतिको हाम्रो अन्धोभक्तिको स्खलित प्रवृति माथि हो।🙏😭🙏


उहीं थुम्केली, गिन्चौरे

-प्रदीप परियार थापा


Key Highlights


HACHINGKOT (Thulo Lumpek, Gulmi)

ऐतिहासिक धरोहर • मौलिक पहिचान जोगाऔं

🚫 टिकटक लोगो हटाऔं!

हचिंकोटलाई “टिकटक सेल्फी डाँडा” बन्न नदिऔं


समस्याको जरो के हो?


•  ऐतिहासिक हचिंकोट दरबारको भग्नावशेषमा TikTok को ठूलो लोगो जडान गरिएको छ

•  विश्वभर TikTok विरुद्ध मुद्दा चलेका छन् (USA, UK, EU, France, Italy)

•  किशोरहरूको मस्तिष्कमा नकारात्मक असरको आरोप

•  राष्ट्रिय सुरक्षाको चिन्ता (चिनियाँ कम्पनी)

हामी आफ्नै इतिहासको शिरमा विदेशी कलंक किन बोक्दैछौं?


हचिंकोटको साँचो महत्व


•  प्राचीन हचिंकोटे राजा-रानीको दरबार

•  हिमाल, पहाड, कन्दरा र गाउँबस्तीको मनोरम दृश्य

•  तारा हेर्ने (Star Gazing) को उत्कृष्ट स्थल

•  रोमांचक कथा: आगन्तुक राजा-रानीको कुकुरले कोदोको रोटी नखाएको घटना

•  गिद्ध, ऐसेलु, चुत्रा र थानी बाजेबजैको प्राकृतिक आश्रयस्थल

हचिंकोटलाई आफ्नै मौलिक पहिचानमा ठिङ्ग उभिन दिऔं


राम्रा विकल्पहरू


•  एडभेन्चर पर्यटन: हुक्रायो नागदेखि र्यापलिङ र ऐतिहासिक ट्रेल

•  गिद्ध संरक्षण क्षेत्र: विश्वका पंक्षीप्रेमीहरूलाई आकर्षित गर्ने

•  सांस्कृतिक पुनर्जागरण: सराय नाच, सोरठी, यानी मया, झ्याउरे नाँच

•  स्टार गेजिङ: टेलिस्कोप र रात्री पर्यटन

सेल्फी त गिद्ध, ऐसेलु र थानी बाजेबजैसँग खिचौं!


हाम्रो आह्वान


हचिंकोटलाई टिकटक डाँडा होइन,

हचिंकोटकै रूपमा युगौँसम्म जिउन दिऔं!

मौलिक पहिचान जोगाऔं

राष्ट्रिय गौरवको सम्मान गरौं


-प्रदीप परियार थापा

उहीं थुम्केली, गिन्चौरे


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page