दृष्टिबिहिनहरूका ‘दृष्टिदाता’ कर्मवीर नेपाली छोरो डा. सण्डुक रुइटले न्यू योर्कमा के भने?



-ससांग लामा

Exclusive: भ्वाईस अफ यूथ (Voice for Youth) नामक संस्थाका तन्नेरीहरुको समूहले न्यू योर्कमा गत १५ फेब्रुवरी २०२० मा नेपालका दृष्टिबिहिनहरूका ‘दृष्टिदाता’ कर्मवीर नेपाली छोरो डा. सण्डुक रुइटलाई प्रेरक मन्तव्य (Motivational Speech) को निम्ति निम्त्याई एउटा सार्थक, भव्य र सुव्यवस्थित कार्यक्रमको आयोजना गरेर सबैलाई तीनछक्क पारे। डा. रूइतले आफूलाई नेपालीहरुले देवत्वकरण गर्दै सम्बोधन गर्ने गरेको ‘God of Sight’ (दृष्‍टिदाता भगवान) जस्ता शब्दले स्तुती गरेकोबारे स्पष्ट शब्दमा भने- “दृष्‍टिदाता भगवानको सम्बन्धमा खोइ म के भनुँ ? यो बेकारको कुरा हो ।(Regarding ‘God of Sight’, it is Bullshit.)”।


हुन पनि, हामी नेपालीहरु कसैलाई प्रशंशा गर्दा, गुणगान गर्दा, त्यो ब्यक्तिलाई देवत्वकरण गर्छौँ, अलौकिक बनाउँछौँ । डा. सण्डुक रुइटलाई पनि तेसै गर्यौं । डा. सण्डुक रुइटको नामको अगाडि र पछाडि अब कुनै बिशेषण झुण्ड्याइ रहनु पर्दैन | डाक्टर नलेख्दा पनि पो हुने भैसक्यो । उनको सण्डुक नाम नै Larger than Life भैसक्यो । आसन ग्रहण गर्न नपाउंदा रिसाउने, पद र पदकप्रति लालयित, खादाको लागि मरिहत्ते गर्ने, सम्मानको लागि सोत्र्याम्म पर्ने, नक्कली जिन्दगी जिउनेहरुकोलागि यो सन्देश गतिलो झापड होइन त ?


त्याग, समर्पण, कर्मवीर, मानवीयता, जुझारुपन आदि नै सण्डुक रुइटको पर्यायवाची शब्दहरु हुन्।कर्मको लेखा ठानेर बर्षौँ बर्ष अन्धो भएर नेपालका कुना कन्दराहरुमा बाँचि रहेका निर्धा, निमुखा, बेसाहरा खालिखुट्टेहरुको घर दैलोमा गै उनले तिनारुलाई दृष्‍टि दिलाई बेस्मारी गुण लगाएका छन्।डाँडा काँडा, खोला नाला, भञ्ज्याङ, देउरालीहरु छिचोल्दै उनी पुग्छन् तिनका आँखा ठीक पार्न तिनकै आँगनमा ! ति दुर्गम् स्थलहरुमा जानै पर्ने उनलाई बाध्यता पनि छैन, कसैले उनलाई घचेटेको पनि छैन। तर उनी जान्छन बेला बेलामा आफ्नो दलबल सहित ति ठाउँहरुमा र आफ्नो अतुलनीय मानवीय सेवा प्रदान गरेर सबैलाई चकित पार्छन्, प्रेरणा दिन्छन्, हौसला दिन्छन् र सार्थक जीवन यसरी जिउनुपर्छ भनेर सन्देश दिन्छन् । यो पंक्तिकारलाई भन्नेले त प्याच्च भन्ला- आफ्नै ओलाङ्चुङे, त्यसमाथि नातेदार दाज्युको गुणगान गाउने नै भयो नि ! अरुले त्यसो भन्ला भनेर के म एउटा कर्मवीर, निस्वार्थी, आफ्नो पेशामा दत्तचित, मानवीय गुणले परिपूर्ण, सहि मानेमा देशप्रेमी, दृष्‍टिदाताकोबारेमा नलेखी बसुम् त ?


भ्वाईस अफ यूथ (Voice for Youth) को यो कार्यक्रममा न भाषण, न मञ्चाशन, न आसनग्रहण, न खादाओढण गरियो । नेपाली कार्यक्रमको स्तुतिगानवाला सम्बोधन माननीय, पूज्यनीय, ढोगनीय आदि शब्दहरु सुन्नै परेन । हलभित्र तरुना तन्देरी स्वयमसेवकहरुको कार्यशैली पनि चुस्त दुरुस्त थियो । कार्यक्रमको उद्घोषक (Master of Ceremony) बनेका उक्त युवा समूहका छिरिङ्ग लामा भाईलाई भ्याइ नभ्याइ थियो । हलको एकछेउदेखि अर्को छेउ, यता र उता कुदिरहेका देखिन्थे। ४५०सिट क्षमताको हल भरिएर, बाहिर अझै मानिसहरु उभ्भिएका थिए।


Motivational Speech का लागि निम्त्याइेएका डा. सण्डुक रुइटलाई निश्चित समयमा हलमा प्रवेश गराएर, कार्यक्रम शुरु भै त गो ! उनी प्रखर वक्ता होइन, यो उनको पेशा पनि होइन । आँखामा भएको जटिल भन्दा जटिल समस्यालाई छुमन्तर गर्ने उनको हातमा जादु छ । त्यो उनको पेशा हो ।आफ्नो सत्कर्म, सदभाव र समभावबारे, सरल, स्पष्ट र अर्थपूर्ण बयान दिए | Success doesn’t come in shortcut अर्थात छोटकरीमा सफलता हाँसिल हुँदैन भन्ने सन्देश सम्प्रेषण गरे । अझ त्यस कार्यक्रमको culmination चाहीँ प्रश्न-उतर सेशन थियो, जहाँ डा. रुइट बढी खुले । त्यो जिउँदो छलफल सबै श्रोताले रुचाए ।


३ दिन अघि, न्यू योर्कस्थित ओलाङ्चुङ समाजका भूपू अध्यक्ष दावा छिरिङ्गले मलाई फोन गरेकाथिए- ‘लु तपाईलाई छिरिङ्ग लामा भाईले खोजिरहेको छ । छिरिङ्ग नाम भएका मेरा थुप्रै फेसबुके साथीहरु छन्, कुनचाहिं छिरिङ्ग भनेर सोध्दा, डा. सण्डुक रुइटको कार्यक्रम आयोजना गर्ने छिरिङ्ग भन्ने थाहा पाउनासाथ, लगतै हामी भेट्यौँ । एकछिनको कुराकानीबाटै थाहा भयो- छिरिङ्ग भाई कामकाजी ब्यक्ती रहेछ । सानो उमेरको भैकन पनि पाको ब्यवहार भएका छिरिङ्गले भनेका थिए- “डा. सण्डुकको नातेदारहरु तपाईंहरु यहाँ हुनुहुँदो रहेछ, म चाँहीँ अनेक च्यानल मिलाएर उहाँसित संपर्क गर्न पुगें ।अब दाइहरुले कार्यक्रम सफल पार्न मलाई मदत गर्नुपर्‍यो " । मैले सहयोग गर्ने भनेको मेरो लेखन मार्फत कार्यक्रमबारे उकेरा लगाउने हो भनेर उनलाई आश्वासन दिएँ । मलाई जस्तै थुप्रै ब्यक्तिहरुसित यसरी नै एप्रोच राखेका हुनाले र आफ्नो लगन, मेहनत, जुझारुपन प्रव्रितिले गर्दा नै कार्यक्रम हिट भयो ।


छिरिङ्ग, लेलिन र अन्य केही अग्रभागमा देखिए पनि, पर्दा पछाडि काम गर्ने समर्पित (dedicated) युवाहरुको उपस्थिती हामीले छर्लङ्ग देख्यौँ । कुनै ब्यक्ति बिशेषको अगुवाइले पक्कै पनि माने राख्छ, तर दह्रो तालले एक्यबद्वता जनाउने जमात भएन भने लक्ष हाँसिल हुँदैन । Voice for Youth को माम्लामा पनि यो लागु हुन्छ । युवाहरुको आवाज, ज्याकशन हाइटे भुइँतल्ले अधबैंशेहरुको गैँडाछाले चर्ममा घुस्छ कि घुस्दैन ? त्यो त अधबैँशेहरुले गर्ने आगामी भेलाहरुमा थाहा लाग्नेनै छ ।Voice for Youth नमातियोस्, नपातियोस् । यस्ता कार्यक्रमहरु गर्दै जाउन्। यि युवाहरुलाई जश दिन चाँहीँ कन्जुस्याइँ नगरौँ ।


नेपालमा नेपालीहरुले उनको सत्कर्मको नेपाली पाराले नै चर्चा परिचर्चा गरेका छन्।एकजना बिदेशी पत्रकार-लेखक David Oliver Relin ले डाक्टर सण्डुक रुइट र उनको सहकर्मी डाक्टर Geoffrey Tabin को कर्मिक जीवनको बारेमा Second Suns नामक एउटा सत्य कथामा आधारित किताब नै लेखेका छन्। बहुचर्चित किताब Three Cups of Tea का सहलेखक पनि हुन्- Relin । हालसालै, अष्ट्रेलियाली पत्रकार अली ग्रिपरले कर्मबिर सण्डुक रुइटबारे The Barefoot Surgeon नामक किताब प्रकाशित गरेकी छिन् । यो किताबलाई नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गर्नु भएको छ ।नेपाली भर्सन चाहिं मैले पढि सकें । अंग्रेजी भर्सन चाँहीँ सण्डुक दाज्युबाट हिजोमात्र प्राप्त गरें । त्यो पनि पढ्छु । एउटै किताब दुई दुई चोटि किन पढन पर्छ र ? भन्ने लाग्ला कतिलाई ! म शब्दसित खेल्न रुचाउँछु । अनुवाद अध्ययन गर्न मन पर्छ । लेखकका अभिब्यक्ती शैलिहरुबाट सिक्छु । सण्डुक दाज्युकै शब्दमा भन्दा, जे काम तिमी गरिरहेका छौ, त्यसमा डुब्नु पर्छ, लागिपर्नु पर्छ र त्यसलाई माया गर्नुपर्छ । लेखन मेरो रोजिरोटी होइन, मेरो हब्बी हो । हब्बिमा होमिनु पनि राम्रै कुरो हो जस्तो लाग्छ ।


बिदेशी लेखकको आँखामा सण्डुक रुइट कस्ता रहेछन् भनेर जान्नलाई उक्त किताबहरु पढनुपर्छ ।नहाफिकन मैले पढेको पुस्तक मध्ये Second Suns पनि हो । अम्रिकाली डाक्टर Geoffrey Tabin डाक्टर सण्डुकको मिशनमा पछि समाबेश भएका हुन्। यि दुवै डाक्टरद्वय Himalayan Cataract Project को नाममा बिकासोन्मुख मुलुकहरुमा दृष्‍टिबिहिनलाई दृष्‍टि दिएर घामकै काम गरिरहेकाछन्। David Oliver Relin ले आफ्नो किताबको नाम Second Suns राखेपनि मलाई चाँहीँ 'दुइटा घाम' भन्न मन लाग्छ ।


कार्यक्रमको अन्त्यमा, डा. सण्डुक रुइटद्वारा सन्चालित Himalayan Cataract Project को लागि Voice for Youth ले fundraise गरेको थियो । करिब USD$ ७,००० डलर मिलिक्कै मै पो उठेको थियो । कार्यक्रम पश्चात, न्यू योर्के ओलाङ्चुङे समाजले उहाँको सम्मानमा आयोजना गरेको डिनर पार्टिमा, अन्तरंग कुराकानीको शिलशिलामा "हामी फण्डरेज् गर्न न्यू योर्क आएका होइनौँ, यो त युवाहरुको सदाशयता हो' भन्नुभयो । छुट्टीने बेलामा उहाँले सुटुक्क भन्नुभयो- 'हामी फाक्तालुङ गाउँपालिकामा एउटा स-सानो अस्पताल बनाउने सुरसार गर्दैछौँ'। उहाँले ठाउँको नाम पनि भन्नुभयो । तर अहिले म भन्दिन । टुङ्गो नलागी फलाक्दा, काम बिग्रेको उदाहरणहरु प्रशस्त देखेको छु, भोगेको छु। प्रवासे लिम्बुवानी साथीहरु होस्टेमा हैंसे गर्न तम्तयार भएर बस्नुस् है !


"म र मेरो टिमले, अथक् लगन, परिश्रम, अठोट देखाएर, आँखाको क्षेत्रमा, बिश्वसामू नेपाल गौरवान्तित हुने काम गरेका छौँ | तसर्थ नेपाली भएकोमा गर्व गर्नुहोला", डा. सण्डुक रुइटको यो अभिब्यक्ती सहित मेरो लेखन यहीँ बिट मार्न चाहन्छु ।

-Sasang Lama, New York

lama13sasang@gmail.com

0 comments