Nepalism.com

Jan 29, 2022

अल्पायूमै अस्ताएका कान्छो भाई र बुहारीको स्मृतिमा अमेरिकाबाट म्यूजिक भिडियो रिलिज

Updated: Feb 3, 2022

Updated: Exclusive: आफ्नो प्यारो कान्छो भाई र कान्छी बुहारीलाई अल्पायूमै एकैसाथ गुमाउँनु पर्दाको पीडा एउटा दाईलाई मात्र थाह हुन्छ। अमेरिकाको बाल्टिमोर निवासी गीतकार निलमकुमार थापा (गर्बुजा) मगरको जीवनमा यस्तै अकल्पनीय दुःखद घटनाबाट गुज्रिनु पर्यो- उनको परिवारका सबैभन्दा कान्छो भाई हस्तकुमार गर्बुजा थापा, ४२ र बुहारी नेत्रकुमारी गर्बुजा, ३७, को सन् २०२० को जनवरी २९ तारिख बेलुकी ललितपुरको एउटा साउना क्लबमा तातो वाफ लिदैंगर्दा अक्सिजनको कमीको कारण निसास्सिएर असामयिक निधन हुन गयो। यो मर्मान्त घटनाको पीडालाई शब्दमा उतारेर परिवार र स्वर्गीय दम्पत्तिको साथीसंगीहरूको चहर्याएको घाउलाई मल्हम लगाउन गीतकार निलम थापाले एक सुमधुर म्यूजिक भिडियो “जिन्दगीको आधा यात्रा” सार्वजनिक गरेकाछन्। हस्त र नेत्रकुमारीले संगसंगै पन्ध्र वर्षे वैवाहिक जीवन जोडी ढुकुर भएर काटे (कभर फोटो हेर्नुहोस्), यदि बाँचेका भए यो साल उनीहरूले सत्रौं बैवाहिक वर्षगाँठ पनि यसरीनै पिरती गाँसेर मनाउने थिए, हेर्ने हैन?

https://youtu.be/hLnWMtolCHQ

हो, आफ्नो भाई-बुहारीको जीवनमा घटेको त्यो कहाली लाग्दो, निसास्सिलो सत्य घटनामा आधारित म्यूजिक भिडियो हो- ‘जिन्दगीको आधा यात्रा’। गीतकार थापाले तिनै भाई-बुहारीको दोस्रो स्मृति दिवसका अवसरमा अमेरिकाको बाल्टिमोर सहरबाट फेसबुक सन्जाल र निसिजा म्यूजिक एन्डइन्टरटेन्टमेन्ट नामक यूट्यूब च्यानलमा लाइभ गरी उक्त म्यूजिक भिडियो सार्वजनिकीकरण गरिएको छ।

कसरी प्रेमिल दम्पत्ति हस्त र नेत्रकुमारीको अकल्पनीय दुर्घटनाबाट अल्पायूमै निधन भयो?

गीतकार निलमकुमार थापा (गर्बुजा) का कान्छा भाइ हस्तकुमार गर्बुजा थापा जापानमा ९ वर्षसम्म बसेर सन् २००६ मा नेपाल फर्केका पूर्व एनआरएन र युवा कराते खेलाडी र खेल प्रशिक्षक हुन्। उनी जापानमा छँदा त्यहाँको पब्लिक साउना बाथमा गएर पानीको तातो वाफ लिने र शरीरलाई रिल्याक्स र चंगा बनाउने बानीनै पारेर नेपाल फर्किएका थिए। नेपाल आएपछि उनले आफ्नी जीवनसंगिनी नेत्रकुमारी गर्बुजालाई पनि मौका मिल्नासाथ काठमांडू र ललितपुरमा खोलिएका साउना हाउसमा लिएर जाने गरेका थिए। त्यस दिन अर्थात बिसं. २०७६ माघ १५ गते (सन् २०२० जनवरी २९) त्यो अभागी साँझ पनि सदाझैं ललितपुरको विशालचोकस्थित ‘फिट एन्ड फाइन हेल्थ क्लब’ मा तातो वाफ साउना लिने र जाडो भगाउने सल्लाह गरी श्रीमानश्रीमति जोडी घरबाट निस्किए- आफ्ना दुई लालाबाला सन्तानहरू १३ वर्षीय छोरी मेगोमी र ११ वर्षीय छोरो लिंकनलाई ललितपुर नखीपोटस्थित घरमा आफन्तजनकासाथ छोडेर। तर उनीहरू आफूले मिहिनेत गरी कमाएर बनाएको त्यो सुन्दर घरमा कहिल्यै फर्केनन्, न त आफ्नो सुन्दर परिवार- दुई लालावालालाई अन्तिम पटक अघाउन्जेल फेरी हेर्न नै पाए। उनीहरूको यो अकल्पनीयरूपमा एकाएक छोटिएको जीवनयात्राको कारक थियो उक्त साउना क्लवमा पानी तताउने गिजरको फ्यान एक्कासी बन्द हुँदा साउना कोठामा बिस्तारै कार्बन-मनोअक्साइड भरिन जाँदा उनीहरू तातो वाफ लिंदालिंदै अक्सिजनको अभावमा वेहोस् बन्न पुगे। विडम्बनाको कुरा! उनीहरूलाई तत्काल कसैले साउना कोठामा खोज्न पनि गएन। जतिखेर खोजतलास भो, तेतिखेर उनीहरूको देहले प्राण त्याग गरिसकेको थियो। यसरी यो प्रेमिल जोडीको जीवन यात्रा थुप्रै सपनाहरू अधुरै छाडेर एकाएक छोटियो। यो खबरले उनीहरूका घर परिवार, साथीसंगी सबैलाई स्तब्ध र मर्मान्त बनायो। स्व. हस्तका अमेरिकामा रहेका एक दाजू जोसंग कान्छा हस्त संगसंगै हुर्किएका थिए, गीतकार निलमकुमार थापाले आफ्नो भाईको यो पीडालाई पटक्कै बिर्सन सकेनन् बरू झन झन भाईको यादमा मर्मान्त भैरहे। यहीं कारण थियो निलमकुमारले आफू मुनीको प्यारो भाई र पियारी बुहारीको यादगारस्वरूप “जिन्दगीको आधा यात्रा” गीतको रचना गर्नुको। शब्द रचनालाई म्यूजिक र मीठो स्वर भरे पछि म्यूज़िक भिडियो नै निर्माण गरे। उनी भन्छन्- “यो म्यूज़िक भिडियो निर्माण गरेपछि आफूलाई आफ्ना भाई-बुहारीसंगको बिछोडको पीडामा मल्हम लागेको महशुस भएको छ। उनीहरूको अभावमा नोस्टाल्जिया अझै छ र सदा हुने छ नै तर गीत सुन्दा मनमा सान्त्वना फिल गरेकोछु। उनीहरू जहाँछन्, उनीहरूको आत्माले शान्ति पावोस्। हाम्रो स्नेह, प्रेम उनीहरूप्रति जीवनपर्यन्त रहीरहनेछ।”

“हाँसी हाँसी जिउँदा जिउँदै कहाँ वसाई सारी गयौ

चराले झैं बचेरालाई गुँडमा एक्लै पारी गयौ

फर्कि आउने छैनौं अब, आउँछ केवल झल्को मात्र

किन छोडी गयौ बिचमै जिन्दगीको आधा यात्रा”

- “जिन्दगीको आधा यात्रा” बाट

को हुन् स्व. हस्तकुमार गर्बुजा?

यो पंक्तिकारको भेट युवा खेलाडी हस्तकुमार गर्बुजा थापासंग जापानको नायोगा सहरमा सन् २००० मा भएको थियो। उनले उतिखेरै जापानमा फुडोकाई कराँते खेल प्रतियोगिताहरूमा आफूले प्राप्त गरेको कयौं पदक र कदरपत्रहरू देखाएका थिए। उनी त्यतिखेर सुगठिक युवा प्रतिभा खेलाडी थिए। पछि उनले फुडोकाई कराँतेमा बल्याक बेल्ट दोश्रो डान पनि उत्तीर्ण गरे र सन् २००६ मा नेपाल फर्केपछि यो खेलको नेपाल प्रशिक्षक पनि बने। तर उनले नेपालमा आफूलाई खेल क्षेत्रमा मात्र सिमित राखेनन्, समाजसेवा र राजनितिमा पनि अघि सारे। म्याग्दीको चिम्खोलामा जन्मिएका हस्तले केही समय म्याग्दी जिल्लाकै नेतृ, पूर्व महिला, बालवालिका र जेष्ठ नागरिक मन्त्री थममाया थापा (पुन) को स्वकीय सचिव रहेर म्याग्दी र नेपालभरकै जनताको समस्यालाई व्यावस्थापन र संयोजन गर्न लागे। उनी युवाहरू माझ लोकप्रिय अगुवा पनि थिए।

गर्बुजा परिवारमा सबैभन्दा कान्छा हस्तकुमारले नेपालमा रहेर विदेशमा रहेका आफ्ना तीन दाजूहरूको सम्पूर्ण घरब्यावहार पनि सम्हाल्दै आएका थिए। उनी दाजुहरूका दाहने हात थिए। हस्तका दाजूहरू मध्ये दाजू साहित्यकार दुत गर्बुजा (चिम्खोले साँईला) र अर्का दाजू गीतकार अम्रित प्रशाद गर्बुजा बेलायत (युके) मा छन् भने हस्तमाथिका दाजु गीतकार निलमकुमार थापा (गर्बुजा) अमेरिकामा बसोवास गर्दछन्। उनका बिबाहित तीन दिदीहरू सपरिवार नेपालमा बसोवास गर्दछन्। हस्तका बुवा स्व. शेरबहादुर थापा (गर्बुजा) र आमा स्व. जानीमाया थापा हुन्।

स्व. हस्तकुमार गर्बुजा र उनकी श्रीमति स्व. नेत्रकुमारी गर्बुजाको नाबालक सन्तानहरू हाल १५ वर्षीय छोरी मेगोमी र १३ वर्षीय छोरो लिंकन ललितपुर नखीपोटस्थित घरमा हस्तका जेठा स्व. दाजू टेकबहादुर गर्बुजाकी नातिनी पारू गर्बुजा र उनको परिवारको देखभालमा छन्।

“जिन्दगीको आधा यात्रा” कसरी बन्यो?

अमेरिका निवासी गीतकार निलमकुमार थापा (गर्बुजा) ले आफ्नो स्वर्गीय भाई-बुहारीको सम्झनामा लेखेको गीतको संगीतकार राजकुमार बगर हुन्। न्यू योर्क सहरमा रहेका सुमधुर स्वरका धनी गायक जगदीश समाल मगरको स्वरमा गीतले प्राण पाएकोछ भने राजकुमार पुन मगर, एनसर्ज गुरूंग, शीतल पुन र स्वयं गीतकार निलमकुमार थापाको अभिनयले मार्मिक गीतको म्यूज़िक भिडियोलाई जीवन्तता दिएकोछ। म्यूज़िक भिडियोको निर्देशन र छायांकन ओम कर्माचार्यले गरेकाछन्।

-Pradeep Pariyar Thapa

    0