top of page

बालेन्द्र शाहको देश र झापा–५ को लागि वाचा पत्रमा के के छ?


Updated: Exclusive: रास्वपाका वरिष्ठ नेता, प्रधानमन्त्रीका दावेदार एवं झापा-५ का साँसद उम्मेदवार बालेन्द्र शाहले “राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र २०८२ – स्थिति बसाल्ने संकल्प”कार्यान्वयनको नेतृत्व गर्नेछु” भन्दै प्रधानमन्त्रीका रूपमा देशका लागि र साँसदको रूपमा झापा–५ को लागि वाचा पत्र जारी गरेका छन्। सो वाचा पत्रमा के के छ? पढ्नुहोस् पूर्ण पाठ।



नेपालको संविधान–२०७२ को परिकल्पना गर्दै संविधानले निर्देश गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरूलाई कानुनी रूपमा सहज, स्पष्ट साथै नागरिकमैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु । साथै,



म संघीय सांसदको हैसियतले:


  • बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिनेछु ।

  • राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउनेछु ।

  • सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्नेछु ।

  • स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर प्रस्तुत गर्नेछु ।

  • नेपाल सरकार र जेन-जी बीचका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्नेछु ।

  • स्थानीय तथा प्रदेश सरकारका योजनाहरू संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्नेछु ।



मेरो प्रतिबद्धता


  • “राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र २०८२ – स्थिति बसाल्ने संकल्प” कार्यान्वयनको नेतृत्व गर्नेछु ।

  • नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकताहरू सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु ।

  • राष्ट्रियहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन ।

  • सार्वजनिक सेवालाई चुस्त दुरूस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।

  • विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।

  • झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु ।

  • राजनीतिलाई पेशा होइन, सेवा बनाउनेछु।

  • मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।

  • मेरो राजनीति सेवा, इमानदारीता र परिणाममा आधारित हुनेछ।


स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यका निम्न कार्यहरू पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।



शिक्षा


  • गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ ।

  • काठमाडौँ महानगरमा लागू भए जस्तै “शिक्षामा सीप कार्यक्रम” कार्यान्वयन गरी विद्यार्थीहरूको विदेश जानुपर्ने बाध्यतालाई न्यूनीकरण गरिनेछ ।

  • गौरीगन्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिनेछ ।

  • “कोशी आयुर्वेद प्रतिष्ठान” स्थापना गरी प्रदेशिक आयुर्वेद अस्पताल, कमल (लखनपुर) लाई सो मातहत सञ्चालन गरिनेछ ।

  • दमक बहुप्राविधिक शिक्षावयको भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

  • सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, ECED (Early Childhood Education (and Development) कक्षा, प्रयोगशाला (ल्याब) र पुस्तकालय स्थापना तथा उच्च शिक्षाको स्तरोन्नति गरिनेछ ।

  • “School Retention Program” मार्फत विद्यालय छोड्ने दर न्यूनीकरण गरिनेछ ।

  • फरक क्षमता भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम कार्यान्वयन गर्न आवश्यक नीतिहत सुधार गरिनेछ ।

  • विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा र लिपिलाई प्रारम्भिक शिक्षा देखि नै समावेश गर्न पहल गरिनेछ ।

  • दमक १० स्थानमा साईन्स पार्कलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याइनेछ ।


पूर्वाधार


  • विभिन्न कारणले अधुरा रहेका योजनाहरूलाई डेडलाइन सहित समयमै सम्पन्न गर्ने सुनिश्चितता गरिनेछ ।

  • दमक-रवि-चिसापानी सडक यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

  • “हाम्रो रंगशाला, हाम्रो पहिचान” को भावना अनुरूप आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने “आदिवासी जनजाति रंगशाला” निर्माण गरिनेछ ।

  • विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

  • दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ ।

  • रतुवा खोला, मावा खोला, तथा सहायक खोला, खहरेको तटबन्ध निर्माण गरी कटन र डुबान नियन्त्रण गरिनेछ ।

  • ग्रामीण सडक, लिंक रोड र पुल स्तरोन्नति गरी यातायात समय र दुवानी लागत घटाउँदै समग्र कनेक्टिभिटी सुदृढ गरिनेछ।

  • ग्रामीण तथा सीमावर्ती क्षेत्रमा भरपर्दो एवं नियमित मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गरिनेछ ।

  • दमकलाई पूर्वी नेपालको “आईटी हव”को रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गरिनेछ ।


कृषि तथा रोजगारी


  • कन्काई–रुतुवा सिंचाइ योजना विस्तार तथा लिफ्ट सिंचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाइनेछ ।

  • प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू गरिनेछ ।

  • कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरी गौरादह कृषि भण्डारण केन्द्रको स्थापना गरिनेछ ।

  • किसानलाई उत्पादनमा आधारित मल, बिउ र विद्युतमा अनुदान प्रणाली लागू गरिनेछ ।

  • गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हवका रूपमा विकास गरिनेछ ।

  • कृषि उत्पादनको समर्थन मूल्य ग्यारेण्टी प्रणाली लागू गरिनेछ ।

  • विश्वासनीय बीमा प्रणाली, पर्याप्त सिंचाई तथा प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत युवाहरूलाई कृषि पेशामा आकर्षित गरिनेछ ।

  • स्थानीय उत्पादनको पहिचान, गुणस्तर र बजारीकरण सुदृढ गर्न ब्रान्डिङ तथा बजार विस्तार कार्यक्रम कार्यान्वयन गरिनेछ ।

  • सरकारी भेटेनरी सेवा तथा पशु बीमा कार्यक्रमलाई थप व्यवस्थित गरी व्यावसायिक पशुपालनको प्रवर्द्धन गरिनेछ ।


महिला तथा बालबालिका


  • आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रक्रियालाई सरलिकृत गरिनेछ ।

  • कृषि महिलालाई प्रोत्साहन गर्न “महिला कृषि कर्जा कार्यक्रम” मार्फत सहुलियत दरमा वित्तीय पहुँच सुनिश्चित गरिनेछ ।

  • सीपमूलक तालिम मार्फत अपांगता भएका व्यक्ति र एकल महिला लक्षित रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

  • बाल पोषण, नियमित खोप तथा छात्रा स्वास्थ्य सहयोग कार्यक्रमलाई थप व्यवस्थित रूपमा सञ्चालन गरिनेछ ।

  • महिलाका लागि २४ सै घण्टा सुरक्षित शहर निर्माण गर्न सुरक्षा पूर्वाधार सुदृढ गरिनेछ ।

  • विभिन्न पिरकारका हिंसामा परेका  महिला तथा बालबालिकाको विशेष संरक्षणका लागि स्थापित “सेफ हाउस” को स्तरोन्नति गरिनेछ ।


पर्यटन तथा उद्योग


  • गौरीगंज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गरिने प्रबन्ध मिलाईनेछ।

  • सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गरिनेछ ।

  • हाटबजारको मौलिकता बचाउँदै समय सापेक्ष रूपमा व्यवस्थित गरिनेछ ।

  • वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

  • धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।

  • स्थानीय आदिवासी जनजातिको संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनेछ ।

  • दमकलाई पर्यटक ट्रान्जिट हवको रूपमा विकास गरिनेछ ।


खेलकुद


  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित बहुआयामिक खेलकुद एकेडेमी निर्माण गरिनेछ ।

  • दमक गोल्डकपलाई व्यवसायिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी झापा-५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याइनेछ ।

  • खुला खेल मैदानहरूलाई संरक्षण तथा आवश्यकतानुसार स्तरोन्नति गरिनेछ ।


स्वास्थ्य


  • गरिब तथा विपन्न परिवारले स्वास्थ्य उपचार पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ ।

  • अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने कानूनी व्यवस्था सशक्त रूपमा कार्यान्वयन गरिनेछ।

  • दमक अस्पताललाई पहिलो चरणमा ३०० शैय्याको अस्पतालका रूपमा  स्तरोन्नति गरिनेछ ।

  • ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गरिनेछ।

  • “प्रत्येक घरमा शुद्धपानी, परिवारमा स्वस्थ कहानी” कार्यक्रम मार्फत स्वच्छ खानेपानीको सुनिश्चितता गरिनेछ ।

  • फरक क्षमता भएका र जेष्ठ नागरिक लक्षित “घर घर स्वास्थ्य सेवा कार्यक्रम” मार्फत निशुल्क स्वास्थ्य सेवा संचालनको नीतिगत व्यवस्था गरिनेछ ।

  • “२४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा” को सुनिश्चितताका लागि नीतिगत सुधार गरिनेछ।

  • अपांगता पुनर्स्थापना केन्द्रको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।


भूमि व्यवस्थापन


  • झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दीगो समाधान गर्न रास्वपा सरकार गठन भएको “१०० दिनमा आयोग, १००० दिनमा समाधान”नीति अबलम्वन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमा भित्र कार्य सम्पन्न गरिनेछ ।

  • बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लावन्दी तथा एकीकरण प्रवर्धनका लागि“ल्याण्ड बैंक” को व्यवस्था गरिनेछ।

  • ऐलानी जग्गा सम्बन्धि उचित व्यवस्था एवं नक्शांकन अभिलेख नभएका जमिनहरूको नापी-नक्शा अभिलेखिकरण गर्ने कार्य सम्पन्न गरिनेछ।


वातावरण


  • चुरे संरक्षण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

  • बैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गरिनेछ ।

  • वन, ताल तथा सिमसार क्षेत्र संरक्षण गरिनेछ ।

  • सफा, हावा, हरियाली र स्वस्थ वातावरणयुक्त शहर निर्माणका लागि नीतिगत सुधार गरिनेछ ।

  • विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद प्रतिकार्य, राहत तथा पुनर्लाभ कार्यक्रम सञ्चालन गरिनेछ ।


सुशासन


  • जनताको आवश्यकतामा आधारित नीति, कार्यक्रम र बजेट तर्जुमा प्रणाली लागू गरिनेछ ।

  • अनलाइन गुनासो दर्ता प्रणाली लागू गरिनेछ।

  • सार्वजनिक कार्यक्रमको प्रगति देखिने डिजिटल ड्यासवोर्ड सञ्चालन गरिनेछ।

  • भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गरिनेछ ।

  • विभिन्न आन्दोलनका सहीद तथा घाईते परिवारलाई सम्मानजनक जीवनयापनका लागि रोजगारीको व्यवस्था मिलाइनेछ ।

  • चिया बगान मजदूरसहित सबै श्रमिकको न्यूनतम अधिकार सुनिश्चित गर्ने श्रम ऐन समयानुकुल परिमार्जन गरी सशक्त रूपमा कार्यान्वयन गरिनेछ ।


कला एवं संस्कृति


  • राष्ट्रिय भाक्का दिवसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिंग गरिनेछ ।

  • आदिवासी जनजाति लगायत सम्पूर्ण जातजातिको भाषा, कला, धर्म, संस्कृति र भेषभूषाको संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।

  • आदिवासी जनजाति संग्राहलयलाई थप व्यवस्थित तथा सुदृढ गरी सञ्चालनमा ल्याइनेछ ।

  • सेउपाखा बहुसांस्कृतिक भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।


जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page