top of page

बाईडेनद्वारा $१.९ ट्रिलियन डलर कोरोना राहत बजेट घोषणा, सेप्टेम्वरसम्म बेरोजगार भत्ता


Updated: Exclusive: नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाईडेनले American Rescue Plan अन्तर्गत $१.९ ट्रिलियन डलर (नेपाली रूपियाँ २२ नील, १७ खर्ब, ४८ अर्ब, ४३ करोड) कोरोना राहत प्याकेज बजेट घोषणा गरेकाछन्। प्याकेजमा अमेरिकी जनताले $१,४०० (चौध सय) राहत चेक पाउनेछन् भने आगामी सेप्टेम्वर महिनासम्म प्रति हप्ता थप $४०० बेरोजगार भत्ता उपलब्ध गराईनेछ। अल्पसंख्यक ३० मिलियन (३ करोड) जनता र १२ मिलियन (१ करोड २० लाख) बालबालिकाहरू बिहानबेलुका पर्याप्त खानसम्म नभएको भन्दै प्रेसिडेंट विजयी बाईडेनले यो राहत प्याकेज घोषणा गरेका हुन्।

बाईडेनद्वारा बिहिवार जनवरी १४ तारिख प्रस्तुत प्याकेजमा १८ मिलियन (१ करोड ८० लाख) बेरोज़गार भत्तामा रहेका अमेरिकीलाई थप $४०० प्रति हप्ता आगामी सेप्टेम्वर महिनासम्म उपलब्ध गराईने उल्लेख छ। अमेरिकी जनता १४ मिलियन (१ करोड ४० लाख) ले घरभाडा तिर्न नसक्ने र घरबाट निकालिने अवस्था रहेको उल्लेख गर्दै बाईडेनले स्टिमुलस चेक र राहत कोषले जनतालाई राहत पुग्ने उल्लेख गरे।


बाईडेनले आफ्नो सरकारको पहिलो १०० दिनमा १०० मिलियन (१० करोड) कोरोना भ्याक्सिन वितरण गर्ने लक्ष लिएको उल्लेख गरेकाछन्।


यो प्याकेजबाट $४०० बिलियन कोरोना महारोग व्यवस्थापनमा खर्च गरिने छ भने $४४० बिलियन व्यावसाय र समुदायमा खर्च गरिनेछ।


यसअघि, गत डिसेम्वर अमेरिकी संघीय फेडेरल सरकारको दुबै सदन सिनेट र हाउस अफ रिप्रिसेन्टेटिभबाट $२.३ ट्रिलियन डलर अर्थात् नेपाली रूपैंयाँ २७ नील, १८ खर्ब, ५९ अर्ब, ७७ करोड बराबरको बजेट पारित गरिसकेकोछ। त्यसमध्ये $९०० (नौ सय) बिलियन डलर कोरोना महामारी राहतको रूपमा वितरण गरिनेछ।


यो बजेटमा $२८४ बिलियन डलर साना व्यावसायहरूको राहत र तिनको कर्मचारीको तलब सुरक्षा राहत Paycheck Protection Program (PPP) मा खर्च गरिने छ भने बेरोजगार भत्तामा रहेकाहरूलाई प्रति व्यक्ति हप्ताको $३०० थप भत्ता आगामी ११ हप्तासम्म प्रदान गरिनेछ। साथै, प्रति व्यक्ति $६०० को स्टिमुलस चेक $७५ हजार डलरसम्म कमाउनेलाई प्रदान गरिनेछ। यो बजेटबाट अस्पताल, विद्यालय र घरभाडाबाट निकालिने अवस्थाका परिवारलाई सुरक्षा दिने व्यावस्थापनमा पनि खर्च गरिनेछ।




0 comments
bottom of page