top of page

प्रवासी नेपाली साहित्यलाई आयातित ‘डायस्पोरा’ या मौलिक नेपाली ‘मुग्लान’ शब्दले सम्बोधन गर्ने?



भाषा र साहित्यमा रसियाबाट एमए गरेका खरो टिप्पणीकार ससाङ् लामाको दोश्रो बिचारोत्तेजक आलेख पढेर रचनात्मक बहसमा सहभागी बन्नुहोस् । टिप्पणीकार लामाको यस अघि नेपालिजम डटकममा प्रकाशित ‘के हो नेपाली राष्ट्रियता?’ नेपालिजमको फेसबुक पेजमा 2.6K लाईक र 16.5K भ्यू भईसकेकोछ।


-ससांग लामा, न्यू योर्क


विदेशिएका नेपाली, खासगरी प्रवासी नेपाली साहित्यकर्मीहरुले ‘डायस्पोरा’ शब्द अति नै रुचाएको पाएँ । आफ्नो नामले जिन्दगीलाई परिष्करण गर्ने मेसोमा हाम्रा मानिस, छिमेकी मुङ्लानमा मात्र नभै आज विश्वभरी नै तितरबितर भएका छन् । दशौँ लाख नेपाली प्रवासिएका छन्, मुङ्लानिएका छन् ।घरदेशमा साहित्य साधना गरिरहेका नेपालीहरुले परदेशमा पनि आफ्नो साहित्यिक गतिबिधिलाई निरन्तरता दिइरहेका छन् । तिनै साहित्यकर्मी प्रवासी नेपालीहरुले विदेशमा कोरेको साहित्यलाई डायस्पोरिक नेपाली साहित्य भनेर छाती फुलाउँदा रहेछन् डायस्पोरे उर्फ मुग्लाने नेपालीहरु !


डायस्पोरा शब्दको म यहाँ चर्चा गर्न चाहन्न । गुगलमा खोज्यो भने गटटट निस्किहाल्छ । मेरा कुरा सोह्रै आना सहि हो भनेर पनि म भन्दिन। केवल बहस छेडेको हूँ।अब प्रश्न उठ्छ, यो डायस्पोरिक अवधारणाले कति परिधि ओगट्छ ? सात समुद्रपारीका मात्र डायस्पोरा हो कि ? मेचीपारिका नेपाली साहित्यलाई डायस्परिक साहित्य भनेको सुनिएको छैन । मेचीपारिलाई विदेश नै नगनेको हो कि ? नजिक भएपनि मुलुक त अर्कै हो । बर्मेली नेपाली साहित्य डायस्पोरा भित्र पर्छ कि पर्दैन ? घरदेशी कृष्ण धरावासीले कल्पीकल्पी बयान गरेको भोटाङमा नेपालीहरुले खाएको गोता डायस्पोरिक कृतिमा गनिन्छ कि गनिदैंन ? प्रवासी धरावासीले लेखेको 'तल्लो बाटो' उपन्यास कुन क्याटगोरिमा पर्छ ? बिदेशको बर्णन भएपनि, पात्रहरु त दुखी नेपालीहरु नै छन | देवेन्द्र भट्टराईको ‘मरुभुमिको डायरी’ डायस्पोरा हो कि देशपोरा हो ? पात्रहरु नेपाली हुन्, तर परिवेश प्रवासको छ ।


साहित्यमा डायस्पोरा शब्द मिसाउने हामी नेपाली पहिलो होइनौँ । आफ्नो कृतिले डायस्पोरिक दर्जा पाउँदा कतिले गर्व पनि गर्लान् । विदेशी शब्द मिसाएर बात मार्दा आफूलाई कुलिन ठान्ने प्रवृत्ति नेपालमा नभा'को हैन । अंग्रेज वा अन्य गोरा छालाले शुरु गरेका हरेक कार्यलाई हामी विशिष्ट दर्जा दिन्छौं। हाम्रो भाषामा शब्दको कमी छैन । डायोस्पोरा शब्दलाई भित्राउनै पर्ने त्यस्तो शाब्दिक खडेरी परी नै हालेको छ जस्तो लाग्दैन। वास्तवमा प्रवासमा प्रवासी नेपालीले लेखेको साहित्यलाई प्रवासी नेपाली साहित्य भन्दा सक्की गा’को थियो नि ! अथवा, सम्बन्धित देश वा महादेश उल्लेख गर्दा पनिभो । जस्तै, युरोपेली नेपाली साहित्य, अम्रिकाने नेपाली साहित्य, अष्ट्रेलियाली नेपाली साहित्य, अफ्रिकाली नेपाली साहित्य। अथवा कुनै देश विशेष तोकेर पनि लेख्न सकिन्छ । जस्तै भारतेली नेपाली साहित्य । यो बाहेक विदेश भनेर जनाउने हामीसँग ‘मुग्लान’ पर्यायवाची शब्द पनि छ । त्यही मुग्लान (मुङ्लान) एउटै शब्दले माथि लेखिएका सम्पूर्ण महादेशको प्रतिनिधित्व गरिहाल्छ त। अर्थात् मुग्लाने नेपाली साहित्य भन्ने हो भने डायस्पोरा शब्दलाई विस्थापित गर्न सकिन्छ । युरोप या अमेरिका हामी जहाँ बसे पनि हामी मुङ्लान भास्सिएका न हौँ ।

0 comments
bottom of page