विभाजित राष्ट्र र धुन्दुकारीको कथा



-Pradeep Pariyar Thapa

Exclusive: संयुक्त राज्य अमेरिका अर्थात युएसए आधुनिकता, सैन्यशक्ति, वैभवता, आविष्कार, खुल्ला अर्थतन्त्र र मौलिक प्रजातन्त्रको लागि विश्वमा सुपरिचित र अग्रणी मुलुक हो। तर राष्ट्रपति ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिका विश्व सहकार्यको अगुवा भूमिकाबाट बिमुखभै एकलकाँटे, अन्धराष्ट्रवादको दलदलमा यतिसारो नराम्रोसंग फँस्यो कि अमेरिका अमेरिका जस्तो रहेन। यो देश एउटा सिमित वर्ग र जातिको जस्तो बन्यो। आप्रवासी (ईमिग्रेन्ट) को पौरख र पसिनाले निर्माण भएको र मौलाएको देश एकाएक आप्रवासीको लागि बिरानो जस्तो लाग्न थाल्यो। ईमिग्रेन्टको लागिअनवेलकमिंग जस्तो बन्यो। राष्ट्रपति ट्रम्पको शासनकालमा यिनकै उक्साहटमा अमेरिकी जनताबिच घृणा, विद्वेष र विभाजनको रेखा कोरियो। अविश्वासको गहिरो खाडल खनियो। अमेरिका र अमिरेकी जनताको निम्ति योभन्दा दुर्भाग्य अर्को हुनैसक्दैन।


ट्रम्पको स्खलित, धुन्दुकारी व्यक्तित्व, अतिवादी र अन्धराष्ट्रवादी चरित्रलाई एउटा शब्दमा उल्लेख गर्न र सरलरूपमा ब्याख्या गर्न सकिंदैन।यिनी बहुरंगी र नौटंकी हुन्। यिनी खरानी धेरै धसेर साधु बन्न खोजेका तथाकथित बकम्फुसे नयाँ जोगी हुन्। यिनले सभ्यता र शालिनताको खिल्ली उडाए। हेर्दा हेर्दै यिनी देश र राष्ट्र विभाजित गर्न उद्धत एक नम्बरका नटबरलाल, अन्धराष्ट्रवादी, गैरराजनैतिक र अराजक नेता बन्न पुगे। यिनको कट्टर गोरावादी सोंच र आप्रवासी विरोधी निति र भनाईले सबैलाई झसंग बनायो। यिनी हिटलरको आधुनिक प्रतिरूप बन्न पुगे।


आफ्नो व्यापारिक स्वार्थको निम्ति जस्तोसुकै ‘डिल’ गर्न लालायित लुच्चा व्यापारी यिनी खासमा बाउको धनसम्पत्तीमा जन्मिदै जर्नेल यानेकि हातमा सिल्भर स्पून (चाँदीको चम्चा) लिएर जन्मिएका राणाकालिन मतिभ्रष्ट बाबुसाहेब हुन् जो महिलालाई मनोरन्जन बस्तुकोरूपमा हेर्छन्, निकृष्ट पुरूषवादी बिचार राख्छन्। यिनलाई दुई दर्जन बढी महिलाबाट यौन हिंसा र यौन दुर्व्यवहारको आरोप तेसै लागेको हैन बल्की यिनी नम्बर वान स्त्रीलम्पट हुन्। यिनी आफ्नो ४ वर्षे कार्यकालमा २० हजारभन्दा बढी झुठ बोलेर, बिज्ञान विरोधी काम र कुरा गरेर जनतालाई गुमराहमा पारी कोरोना महारोगमा लाखौं जनतालाई मर्न विवस पारेका धुन्धुकारी, संवेदनहीन र ग़ैरज़िम्मेदार व्यक्ति हुन्।अब उनको अधोगतिको शुरूवात र यिनको अनेकानेक पापहरूको हिसाबकिताप हुनेछ। चेतना भया।

0 comments