“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो”- गृहमन्त्री सुदन गुरुङ राजिनामाको अन्तर्य
- Nepalism.com

- 39 minutes ago
- 4 min read

Updated: Exclusive: रास्वपा बालेन सरकारका गृहमन्त्री सुदन गुरुङले आफ्नो शेयर लगानीबारे मिडिया ट्रायल शुरू भएर विवाद चर्किएपछि पदबाट राजिनामा दिएको घोषणा गरेकाछन्। उनले “नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु” भन्दै आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता हुने र जनविश्वासभन्दा ठूलो शक्ति नहुने बताएकाछन्। आफू गृहमन्त्री बनेपछि उनकै पहलमा हाल हिरासतमा रहेका बिचौलिया दीपक भट्टको ईन्सुरेन्स कम्पनीको विगतमा गरेको शेयर खरिद प्रकरणमा उनी विवादमा तानिएका हुन्। उसो त गोरखापत्र दैनिक, अनलाइनखबर डटकम, लोकान्तर डटकम, न्यू बिजनेस एज, कर्पोरेटनेपाल डटकम, क्यापिटलनेपाल डटकम, काठमाण्डुपाटी डटकम, अर्थपथ डटकम, सिंहदरबार डटकमसँग सम्बन्धित पत्रकार, सञ्चालक वा पत्रकारको श्रीमतीको नाममा पनि भट्टको कम्पनीमा शेयर रहेको दैनिकी डट कमले आफ्नो समाचारमा उल्लेख गरेको छ। बिचौलिया भट्टलाई देउवा, प्रचण्ड र ओली सरकारको पालामा विभिन्न भ्रष्टाचार काण्ड मच्चाउन छुट दिईएको कुरा छताछुल्ल भएको थियो। पढ्नुहोस् उनको राजिनामाको पूर्ण पाठः
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.”
यसैबिच, सिधाकुरा डट कमका अनुसार, गृहमन्त्रीबाट सुधन गुरुङले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री बालेनले तत्काल गृहमन्त्री नियुक्त नगर्ने जनाईएको छ । प्रधानमन्त्रीको सुधन गुरुङ जोडिएको विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी छ । उक्त समितिले प्रतिवेदन नबुझाउँदासम्म गृह मन्त्रालय आफैंसँग राख्ने र दोषी नदेखिए पुनः गुरुङलाई नै गृहमन्त्रालयको जिम्मा दिने प्रधानमन्त्रीको योजना रहेको सिधाकुराको दावी छ।
के हो विवाद?
प्रसंग हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्ट र शंकर ग्रुपका अग्रवालहरूको नाममा रहेको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा २५ लाख रुपैयाँ बराबरको शेयर लगानी र उक्त लगानीबारे सम्पत्ति विवरणमा उल्लेख नगरेको दाबी गर्दै केही संचारमाध्यमहरूले समाचार संप्रेषण गरेपछि उनी विवादमा तानिएका थिए। गृहमन्त्री गुरुङ उहीं व्यक्ति हुन् जसलाई नेपाली मिडियाले कहिले भारतीय र कहिले तिब्बती नागरिक भनेर समाचार छापेपछि उनले नेपाली नागरिकता प्रमाणपत्र सार्वजनिक गर्नु परेको थियो।
गृहमन्त्री गुरुङले आफू मन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा बैंकमा मौजूदा रकम रू. ६१ लाख ६२ हजार ९५० र शेयर मार्केटमा रू. ४ करोड ३१ लाख ५६ हजार २०० बराबरको कारोबार रहेको उल्लेख गरेका थिए। गृहमन्त्री गुरुङको नाममा जग्गा धनकुटीको कार्कीछापमा क्षेत्रफल १९-१५-०-० को जग्गा रहेको विवरण उपलब्ध छ।
गृहमन्त्री गुरुङको जवाफ
आफूले खरिद गरेको शेयरबारे विवाद उठेपछि केही दिन अघि उनले यस्तो जवाफ दिएका थिएः
“‼️मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण ‼️
पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।
“२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।
सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।
“मन्त्री हुनुअघि सेयर किनियो“ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ।
बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?
अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ।
उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।
“विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?
प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?
“Conflict of interest” को आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ।
यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन। यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन।
“पृष्ठभूमि नजाँची लगानी” भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ।
पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो।
“प्रतिक्रिया नदिनु” लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन।
हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।
“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन।
अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्।
निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ।
तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।
सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।
धन्यवाद।”




Comments