by Aayav Malla Thakuri
आमाको सोधनी,
पीर छ, उदासी छ
“किन तँ एकलकाँटे हुँदै छस् ?”
खुल्दुलीको आँधिबेरी भित्र
बिरानो रहरले सपना मुट्ठाई,
म मेरी आमातिर पिठ्यु फर्काई भन्छु,
“आमै ! एक्लो म हैन,
एक्लिएको त संसार हो मसंग“
म त घुलिन गएकै हो
रंग मिलेन,
म त संगै उभिनै गएको हो
उनीहरुको झैँ ढंग मिलेन ।
संसार तिमीले देखाए सरह छैन रहेछ,
भिड नै मदेखि पर पर गए
भिडबाट निक्लने म हैन !
यदि खुशी अरुलाई हराएर,
आफू जित्नु हो भने,
मलाई हराएर, सबले जितोस्।
यदि मेरा रंग बेरंग बन्दा
तिनीहरु आफू रंगिन देखिन्छन् भने
म ब्ल्याकहोल नै बनूँ !
आमा, तिमीले त यो संसार
कोमल छ भन्थ्यौ
ढुंगाले फेरी मलाई नै किन हान्छन्
म फूलले उनीहरुलाई रोक्न खोज्छु
ऐया आत्था उनीहरु नै चिच्याउँछन् !
मैले उनीहरुको बोलि बोल्न खोजिन
मैले उनीहरुको चाल हिड्न चाहिन
भिड भित्रको भिडको हिस्सा बन्दै बनिन
म उनीहरुको संसारमा अटाइन
र,
मैले मेरो संसारमा उनीहरुलाई ल्याईन !
आमा !
म एकलकाँटे हैन
एकान्किमै मेरो अस्तित्व
ब्रह्माण्ड बिशाल छ।
-आयभ मल्ल ठकुरी
न्यू योर्क, अमेरिका
Comments