श्रीमतीलाई बचाउन खोज्दा श्रममन्त्री दीपककुमार साह बालेन सरकारबाट निकालिए, रास्वपाको शून्य सहनशीलता
- Nepalism.com

- 2 days ago
- 2 min read

Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट श्रममन्त्री बनेका दीपककुमार साहले आफ्नो श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य कायम गर्न लबिङ गरेको तथ्य बाहिरिएपछि रास्वपा अनुशासन विभागले गरेको कार्यवाही सिफारिशलाई कार्यान्वयन गर्न सभापति रवि लामिछानेले पत्र लेखेपछि प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री साहलाई नियुक्तिको १४ दिन नपुग्दै मन्त्री पदबाट हटाएका छन्। रास्वपाको विधानमै गलत काम गरे आफ्नो मन्त्री या साँसदलाई फिर्ता बोलाउने अधिकार (राईट टु रिकल) प्रयोग गर्दै सभापति लामिछाने र प्रम बालेनले श्रममन्त्री साहलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएका हुन्। नेपालको संसदीय ईतिहासमा कुनै मन्त्रीलाई नातावादको आरोप प्रमाणित भएपछि पार्टी र प्रधानमन्त्रीले कार्यवाही गरेको यो पहिलो घटना हो। त्यसैगरी, श्रममन्त्री साहकी श्रीमती श्रेष्ठलाई पदमा वहाल रहन भूमिका खेलेको आरोपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई रास्वपाले सचेत गराएको छ।

पार्टी र सरकारबाट तुरून्त कार्यवाही
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रममन्त्री दीपककुमार साहले आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा विभागीय मन्त्रीको हैसियतले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले समुचित ध्यान नपुर्याएको भन्दै सचेत गराएको छ।सभापति लामिछानेले ‘यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीरता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,’ भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई लेखिएको पत्रमा उल्लेख गरेकाछन्।
मन्त्री साह विगतमा उनले संचालन गरेको एक कन्सल्टेन्सी कम्पनीमा परेको ठगी मुद्दा सार्वजनिक भएपछि विवादमा तानिएका थिए तर उनी पछि अदालतबाट सफाइ पाएको तथ्य खुलेको थियो।
श्रीमतीको सफाईले बचाउन सकेन श्रीमानको मन्त्री पद !

मन्त्री साहकि श्रीमती जुनु श्रेष्ठ बिसं. २०८०/०८/१२ को मन्त्रीपरिषदको निर्णय अनुसार स्वास्थ्य बिमा बोर्डको सदस्य रहे पनि तीन पटकभन्दा बढी बोर्डको बैठकमा लगातार सहभागी नभै निष्क्रिय रहेकी थिईन्। तर साह श्रम मन्त्री भएपछि उनले आफ्नो श्रीमतीलाई बिमा बोर्डको सदस्यका रूपमा सकृय बनाउन पुनः वोर्ड मिटिंगमा पठाउन पहल गरेका थिए। यस प्रकरणमा स्वास्थ्यमन्त्री निशा मेहताले आँखा चिम्लिएपछि साहकी श्रीमती चैत २३ गतेको बोर्डको बैठकमा पुनः सहभागी भै सकृय भएकी थिईन्। बिना जानकारी तीन पटकसम्म बैठकमा सहभागी नभए कानुनतः स्वत: हट्ने व्यवस्था छ ।
यता मन्त्री साहकि श्रीमती जुनु श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा दुईवटा छुट्टाछुट्टै पोष्ट लेख्दै भनेकिछिन्- “स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धि आइरहेको खबर प्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयन सम्बन्धि कुनै पत्र पनि बुझेको छैन।”
अर्को पोष्टमा उनले उल्लेख गरेकिछिन्-
“स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन् । तसर्थ, अहिलेको नियुक्ति सम्बन्धि आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ।
यस सम्बन्धि मेरो श्रीमानलाई नजोड्नुहुन म विनम्र आग्रह गर्दछु।”
रास्वपाको शून्य सहनशीलता
यस प्रसंगमा स्मरणीय के छ भने रास्वपाले तीन वर्ष अघि समानुपातिक सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यावसायी दुर्गा प्रसाईसंग स्वास्थ्य मन्त्री बनेर प्रसाईको पक्षमा काम गर्न दुई करोड घुस मागेको अडियो टेप बाहिरिएपछि रास्वपाले बहत्तर घण्टाभित्र कार्यवाही गरी सन् २०२३ को अप्रिलमा सांसद पदबाट हटाएको थियो भने सांसद श्रेष्ठको सट्टामा विन्दवासिनी कंशाकारलाई मनोनित गरेको थियो। ढाका कुमार श्रेष्ठ अहिले हर्क साम्पांगको श्रम संस्कृति पार्टीमा प्रवेश गरेकाछन्।
रास्वपाले आफ्नो दलभित्र जनहीत विपरित कार्य गर्ने, भ्रष्टाचार र अनियमिततामा संलग्न, र नातावादमा मुछिएका सार्वजनिक पदमा रहेका जोसुकै पार्टीका नेताहरूप्रति कार्यवाही गर्ने नीति कडाईकासाथ लागू गर्दै आएकोछ। रास्वपाको यो शून्य सहनशीलताको अभ्यासले नेपालमा सुशासनको शुरूवातमा सकारात्मक प्रभाव पर्ने संकेत देखिएकोछ।




Comments