top of page

दैवले टिपेको त्यो नारी फूल! स्मृतिमा गायिका निरा छन्त्याल

Writer's picture: Nepalism.comNepalism.com

Updated: Jan 20, 2023

-प्रदीप परियार थापा

Updated: Tribute: त्यो दिन पनि सदाझैं उदाउने सूर्यको उषा किरणसंगै लुकामारी खेल्ने उहीं नित्य बिहानीसंगै असिमित आशा र सपनाहरू देख्दै भर्खरै बाईस् वर्षमा पाईला टेकेकी कल्कलाउँदी युवा गायिका निरा छन्त्यालले पोखराको लागि काठमांडूबाट उडान भरेकी थिईन्। अझ भनूँ, मानव भिडको कोलाहल र भौतिक बिकासले थिचेको कर्मस्थल काठमांडू छोडेर जन्मस्थल बाग्लुंग र सुन्दर माछापुच्छ्रे हिमालको काखैमा रहेको पोखरा नगरीमा फेरी पाईला टेक्ने उनको उडान थियो त्यो बिहानीको यात्रा। तर उनी धरतीमा ओर्लिदा नओर्लिंदै उनका सपनाहरू सदाको लागि टुटी सकेको थियो र उनका पाईलाहरू सदाको लागि रोकिई सकेको थियो। माघ महिनाको पहिलो बिहानीमै यती एयरलाइन्सको विमान दुर्घटनामा परेर असामयिकरूपमा जीवन गुमाउन पुगेकी गायिका निराको छोटो मीठो जीवन जति रोमान्चकताले भरिएको छ उति दुखान्तले कुँदिएको घाउहरूको नील डामहरू बल्झिएकोछ। कस्तो संयोग! गत अप्रिल १९ मा उनले आफ्नो गृह जिल्ला बाग्लुंगसंगैको पर्वतको कुस्मामा बन्जि जम्प गर्दाको भिडियोमा क्याप्सन राखेकि थिईन्- “बिना डोरीको बन्जी पनि गर्दिन्थें प्यारा तर पछारिने हजुरको काख हुनु पर्यो”। तर कस्तो विडम्बना! उनी आफ्नो सपनाको राजकुमारको प्रेमिल काखमा लुटपुटिन नपाउँदै उनी सेती नदीको खोंचनिर सदाको लागि मातृभूमिको न्यानो काखमा पछारिन पुगिन्। दैवको लीला।


गायिका निरा छन्त्यालले फेसबुक प्रोफाईलमा आफ्नो परिचय यस्तो लेखेकी छिन्- “नारी एउटा सुन्दर फूल हो। यदि सजाउन सक्दैनौ भने टिप्ने आँट पनि नगर। (Lady 🐅 Tiger)” । हुन पनि आफ्नो सुन्दर भौतिक रूप जस्तै आफ्नो गायकी र बिचारले पनि उत्तिकै सुन्दर निरा छन्त्यालको सुन्दर जीवनलाई दैव र सेती बगरको माटोको सुवासले बाहेक टिप्ने हिम्मत गर्न सकेन। उनी जहाँ छिन्, खुशी छिन् र उन्मुक्त हाँसो हाँसी रहेकि हुनेछिन्, उनले भने झैं- “खोई कुरा त के थियो तर हाँस्न चाहीं गजबले हाँसेको रैछु” सेप्टेम्वर १८, २०२२ को फेसबुक पोष्टबाट उद्दृत। हो, उनलाई उन्मुक्त हाँसो हाँस्न कुनै कारण नै चाहिने थिएन। किनकि उनलाई बेफ्वाँकमा रोएर किमती जीवन बर्वाद गर्नु थिएन।

Nira Chhantyal. उनको सेप्टेम्वर १८, २०२२ को फेसबुक पोष्टबाट

उनले राजु परियार र लक्ष्मी न्यौपानेको स्वर र कृष्ण देवकोटाको शब्द रहेको एउटा पुरानो लोकदोहोरी गीत “यो मायाको संसार बिचित्र” मा फेरी राजु परियारसंग एक दोहोरी साँझमा गाएकी थिईन्- “हे सब मरिन्छ (मर्ने भन्ने त थाहा छ नि हैन भन्दै) तेई अन्तिम वर्षमा

बाँचुन्जेली बाँचम् न हर्षमा …यो मायाको संसार बिचित्र”


यो हो गायिका निरा छन्त्यालको सदाबहार हाँसोको राज जुन उनले सेती नदीको किनारमा नखसुन्जेल छताछुल्ल पारिरहिन्ः



गायिका निरा छन्त्याल एउटी प्रतिनिधि पात्र मात्र हुन् आफ्ना सपनाहरू अधुरै छाडेर स्वर्गलोक प्रस्थान गर्ने तर उनले लेखेका अन्तिम भनाईहरू पढ्दै जाँदा अकालमा टप्प टिपेर लैजाने निष्ठुरी काललाई श्राप दिन मन लाग्छ- यसरी चुडेर लानुनै मन थियो भने पनि निराको जीवनरूपी यो कलिलो फूललाई किन ढकमक्क फक्रिन नदिई चुडायौ?


उनले आफ्नो अन्तिम फेसबुक पोष्टमा पोखरा उड्नु केही समय अघि लेखेकी थिईन्- “माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।💋” (January 15, 2023)

पोखरा उड्नु एक दिन अघि उनले यस्तो लेखेकी थिईन्- “छन्त्याल भवन काठमाडौंको माघि सकियो अब भोलि पोखरामा रमाइलो गर्नु पर्छ❤️💋” (January 14, 2023)


उनको त्यो भोलीको बिहानीले उनलाई पोखरा त पुर्यायो तर पोखरामा रमाईलो गर्ने र दर्शकहरूलाई मनोरंजन दिलाउने सपना र धोका पुरा हुन सकेन। उनी जसको स्मृति (चौंथो संगबहादुर तथब्जा स्मृति कप) मा विशेष अतिथि कलाकार आकर्षण बनेर भाग लिंदै थिईन् तर कस्ले कल्पना गरेको थियो र उनी सदाको लागि आफै स्मृतिको गर्भमा बिलाउँदै सेती नदीको किनारमा भासिनेछिन् भनेर।

तेति मात्र कहाँ हो र, उनी ७ औं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला-२०७९ (पुष २८-माघ ७) मा अतिथि कलाकारको रूपमा सहभागी हुँदै थिईन् भने जन्मथलो बाग्लुंगको भिमापोखरा ऐतिहासिक माघे संक्रान्ति मेला २०७९ (माघ १-५) मा पनि सहभागी बन्ने योजनामा थिईन्। यि मेला महोत्सवहरूका प्रचार सामाग्रीहरूमा गायिका निराका फोटोहरू गाउँघर, बाटोघाटो, चौतारो र सामाजिक सन्जालहरूमा छरपष्ट प्रकाशित थिए। पोखरा उड्दा उनका आँखाहरूमा यि सबै गाउँहरू र हजारौं गाउँले दर्शक स्रोताहरूको भीड बिच माया बाँड्ने झल्को घुमिरहेको थियो। आयोजकहरू पनि उनी आउने प्रतिक्षामा समय तालिका मिलाउँदै थिए तर न आयोजक, न गाउँले, न गायिका निरा स्वयम्लाई नै कुनै छनक नै थियो कि उनको सशरीरको उपस्थिति अब शिर्फ सेती नदीको किनारमा मात्र हुनेछ।


गायिका निरा छन्त्यालको छोटो जीवनको मीठो धरतीको बसाई सुखद रह्यो। अब उनको स्वर्गवास पनि स्वर्गिक र प्रेमिल बनिरहोस्। हे भगवान, उनलाई कुनै कुराको घिट्खेसो नरहोस् तिम्रो अजम्बरी काखमा जो उनी आएकीछिन्।



-Pradeep Pariyar Thapa

Exclusive: माछापुच्छ्रे सुन्दर हिमालको काखमा अवस्थित पोखरा नगरीमा आईतवार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको दुखान्तले नेपाली समाज स्तब्ध बनाएकोछ। र, नेपाली आकाशमा बारम्बार हुने यस्ता हवाई दुर्घटनालाई लिएर अर्को वहस शुरू भएको छ- नेपाली आकाश कति सुरक्षित छ? सन् १९६१ यता नेपालमा ५८ औं हवाई दुर्घटना घटी सकेकोछ। उता हेलिकप्टर दुर्घटनाको संख्या पनि ३६ पुगि सकेको छ । विगतका ६२ वर्षहरूमा झण्डै वर्षेनी जस्तो भएका ५८ हवाई दुर्घटनाहरू किन भैरहेकाछन्? नेपालको सुन्दर भौगोलिक बनावटको पहाडी कुनाकन्दरामा अवस्थित विश्वकै खतरनाक मानिने विमानस्थलहरूको प्रस्थान र अवतरणमा हुने अप्रिय दुर्घटनाहरूको कारण के होलान् या विशेष गरी पुराना सेकेंड ह्याण्ड हवाईजहाजहरूको उपयोचित मर्मत संभार र चुस्तदुरूस्त सुपरिवेक्षणको कमिकम्जोरी पो होकि? नेपाल सरकारले नेपाली आकाशमा मडारिई रहने हवाई दुर्घटनारूपी कालो बादलको पर्दा हटाएर सुरक्षित अवतरणको मन्चन (व्यवस्थापन) कहिले गर्ला? यो पछिल्लो परिघटनाले माथि उल्लेखित अनुत्तरित प्रश्नहरू खडा भएकाछन्।



0 comments

Comentários


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page