महावीर र सुदन दोहोरिएर बने मन्त्रीः अब रास्वपा झनै शक्तिशाली, सदन र सरकारमा दुई तिहाई!
- Nepalism.com

- Jun 9
- 6 min read
Updated: Jun 11

Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन सरकारमा गृहमन्त्रीबाट राजिनामा दिएर आफू उपर उब्जिएको एक कम्पनी सेयर खरिद सम्वन्धी विवादको छानबिनको रिपोर्ट पर्खिएका सुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किएका छन् भने जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा शिक्षा मन्त्री रहँदै राजिनामा दिई निर्वाचन लडेर स्वतन्त्र साँसद बनेका विश्व चर्चित नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई बालेन सरकारले नयाँ खडा गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हेर्ने जिम्मेवारी दिएको छ। डा. पुनकै निरन्तर मागकै फलस्वरूप बालेन सरकारले सो मन्त्रालय स्थापना गरेको थियो। स्वतन्त्र साँसद डा. पुनको रास्वपा सरकारमा सहभागिता र प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूवी कुमारी ठाकुरलाई रास्वपालेनै समर्थन गरी निर्वाचित गरेपछि प्रतिनिधिसभा संसदमा आफ्नै झण्डै दुईतिहाई १८२ सांसद रहेको रास्वपाको पक्षमा राष्ट्रिय महत्वका सवालहरूमा निर्णय लिनु परे अब दुईतिहाईको म्याजिक नम्वर १८४ मत पुग्नेछ।

को हुन् डा. महावीर पुन मगर?
विश्व सुपरिचित नेपाली सामाजिक उद्यमी तथा वैज्ञानिक डा. महावीर पुन मगर प्रतिनिधिसभाको आमनिर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र सांसद हुन्। निर्वाचनमा रास्वपाले म्याग्दीमा आफ्नो उम्मेदवारी फिर्ता लिएर डा. पुनलाई समर्थन गरेको थियो।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम मन्त्री मण्डलमा शिक्षा मन्त्री बनेका डा. पुन उनले शैक्षिक सुधारका निम्ति अध्यादेश ल्याउने प्रयास गरेका थिए तर सफल हुन सकेनन्, जसको फलस्वरूप उनी राजनीतिमा होमिने निर्णयमा पुगे र आफ्नो जन्मथलो म्याग्दीबाट उम्मेदवार बनेका थिए।
डा. महावीर उनै गर्विला नेपाली छोरो हुन् जो अमेरिकामा उच्च शिक्षा हाँसिल गरेर स्वदेशमै केही गर्न मातृभूमि नेपाल फर्किएका थिए। नेपालमा वायरलेस प्रविधिको अग्रणी यि वैज्ञानिक पुनले नवप्रवर्तन र आविष्कारमा युवा नेपाली अनुसंधानकर्ताहरूलाई नेपालमै बसेर नेपाल समृद्ध बनाउने महायात्रा शुरू गरे तर नेपाल सरकारले पटक पटकको उनको मागलाई आश्वान मात्र दिएर वर्षौं झुलाई रह्यो। प्रवासमा रहेका हामी नेपालीहरूले उनको महायात्रामा होस्टेमाहैसे गरी रह्यौं। पछिल्लो पटक उनले देशभर आफ्नो जीवनकथा पुस्तक बेचेर रू. दश करोडभन्दा बढी रकम संकलन गरी वीरगंजस्थित जिर्ण रहेको कृषि औजार कारखानालाई पुनरोद्दार गरी संचालनमा ल्याएर नेपाली कृषकलाई चाहिने कृषिऔजारहरूको पहिचान, परिक्षण र उत्पादन शुरू गरेकाछन्।

सरकारले गर्न नसकेको / नचाहेको काम डा. पुनको नेतृत्वमा के के र कसरी सम्पन्न भयो?
नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिन्छ भन्ने दृष्टिकोण राखेको डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा हाल चार दर्जन बढी युवा आविष्कारक तथा वैज्ञानिकहरू नवप्रवर्तन परियोजनाहरूमा कार्यरत छन्, जसले नेपालको वर्तमान निराशाजनक अवस्थालाई रूपान्तरण गर्ने लक्ष्य राखेका छन्। यी परियोजनाहरूमा मेडिकल ड्रोन, न्यानो नानी (बेबी वार्मर तथा इन्क्युबेटर), एआई–आधारित नवप्रवर्तनहरू, बाँदर भगाउने प्रणाली, सेलरोटी बनाउने मेसिन, सब्जी कोठी, भुइँ सफा गर्ने रोबोट, रिभर्स भेन्डिङ मेसिन, कुखुरापालनका लागि वैकल्पिक पशु प्रोटिन स्रोतका रूपमा ब्ल्याक सोल्जर फ्लाइ, विद्युतीय रूपान्तरण, अदुवा पेय पदार्थ, इलेक्ट्रोनिक बिलिङ प्रणाली, सौर्य पानी तताउने यन्त्र, झिँगा (प्राउन) पालन, टेलि–मेडिसिन तथा इलेक्ट्रोनिक स्वास्थ्य अभिलेख प्रणाली, तापीय ऊर्जा, प्लास्टिक पगाल्ने मेसिन, एआई प्रयोग गरेर ब्लाइन्ड स्पट पहिचान प्रणाली, अगरबत्ती बनाउने मेसिन, ठोस जैविक फोहोर व्यवस्थापन प्रणाली, स्मार्ट पकाउने चुलो, इभापोरेटिभ कुलर, मौरी विष संकलन उपकरण, कृषि उपकरणहरू, घाँस काट्ने मेसिन, मदिरा (वाइन) निर्माण, स्मार्ट पानी ट्यांकी, कफी तथा बहुउद्देश्यीय रोस्टर, तथा रक्षा क्षेत्रमा प्रयोग गर्न सकिने सशस्त्र रोबोट लगायत रहेका छन्।
कोरोनाभाइरस महामारीको समयमा डा. पुनको निस्वार्थ र दृढ नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रले १५,००० भन्दा बढी व्यक्तिगत सुरक्षा सामग्री (PPE) उत्पादन गरी नेपालका सातै प्रदेशका ५८ जिल्लामा रहेका ३०० भन्दा बढी अस्पतालहरू— विशेषतः स्वास्थ्य संस्था, कोरोनाभाइरस आइसोलेसन केन्द्रहरू तथा कोरोना परीक्षण तथा उपचार अस्पतालहरू—लाई निःशुल्क रूपमा वितरण गरेको थियो।
डा. पुनले आफ्नो नाममा भएको रू. ३ करोड पर्ने पोखराको बेगनास ताल नजिकै रहेको २७ रोपनी जग्गा 'राष्ट्रिय आविस्कार केन्द्र' लाई अनुदान दिई सकेकाछन्। डा. पुन पनि एक समय अमेरिका बसेका भूतपूर्व अमेरिकी नेपाली एनआरएन हुन्। उनी अमेरिकी विश्वविद्यालय युनिभर्सिटी अफ नेब्रास्काबाट शिक्षामा मास्टर्स गरेर नेपालमा केही गरौं भन्दै मातृभूमि फर्केका कर्मवीर नेपाली आमाका सच्चा भूमिपुत्र हुन्।
विश्वमै ख्याती
डा. पुनले सन् २००२ देखि आफ्नो जन्मथलो म्याग्दी जिल्ला र वरिपरीका जिल्ला र गाउँलाई ईण्टर्नेटबाट जोड्ने वायरलेस प्रोजेक्ट शुरु गरेका थिए जसबाट १५ जिल्लाका १७५ गाबिसहरुका लाखौं जनताहरु ग्रामिण वायारलेस ईण्टरनेट सुबिधाबाट लाभान्बित हुन पुगेका थिए जसको कारण सन् २०१४ मा ईण्टरनेट सोसाईटीले डा. पुनलाई नेपालमा वायरलेस टेक्नोलोजी गाउँगाउँमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएकोमा जोनाथन बि पोस्टेल सर्भिस पुरस्कारबाट सम्मानित गरेको थियो ।
डा. पुनलाई आफ्नो मातृभूमि नेपाल फर्केर उल्लेखनीय सामाजिक कार्य गरे वापत उक्त विश्वविद्यालयले सन् २००७ मा अनरेरी डाक्टर अफ लेटर्स बिद्यावारिधीबाट सम्मानित गरेको छ । सन् २००७ मै डा. पुनलाई एशियाको नोबेल पुरस्कार मानिने पूर्व फिलिपिनो राष्ट्रपतिको नाममा स्थापित मागसायसाय पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने उनी सन् २००२ को अशोका फेलो पुरस्कार बिजेता पनि हुन् ।

को हुन् गृहमन्त्री गुरुङ?
नेपालमा जेनजी आन्दोलनपछि बहुचर्चित नाम हो- सुदन गुरुङ। जेनजी आन्दोलनका डिफ्याक्टो अगुवा बनेर निस्केका उनी वैकल्पिक शक्तिकोरूपमा उदाएका चर्चित युवा नेताहरू रवि लामिछाने, बालेन शाह र कुलमान घिसिंगलाई वैकल्पिक शक्ति राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा एकै ठाउँमा जुटाउने किंग मेकर पनि यिनै सुदन हुन्।
सुदन गोर्खा-१ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा रास्वपाको निर्वाचित सांसद हुन्। हामी नेपाल संस्था र काउन्सिल अफ जेनजीको संस्थापक रहेका सुदनको सदन यात्रासंगै नेपालमा राजनीतिक सरगर्मी ह्वात्तै बढेकोछ।
प्रधानमन्त्री बन्नु अघि काठमाण्डूका विश्वचर्चित स्वतन्त्र मेयर रहेका बालेन उर्फ बालेन्द्र शाहले रास्वपा र आफूहरूको एकीकरणपछि डिसेम्वर २९ तारिख फेसमा एक महत्वपूर्ण स्टाटस् लेखेका थिए- “देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर ❤️”।
चितवनमा हुर्केका सुदनको गृह जिल्ला गोरखा हो भने उनको जन्मस्थल गाउँ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हो।
उनी पूर्व डिजे र कार्यक्रम प्रवन्धक हुन् भने सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा आफ्नो छोरोको निधन भएपछि सामाजिक अभियानमा होमिएका थिए। सन् २०२० को कोविड-१९ को महामारीको बेला उनले हामी नेपाल नामको सामाजिक स्वयमसेवी संस्था स्थापना गरेर महत्वपूर्ण योगदान पुर्याएका थिए। हामी नेपाल संस्थाकै पहलमा काउन्सिल अफ जेनजीको गठन भएकोछ। स्थापनाकालदेखि आपत्काल, मानव परोपकारी कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको हामी नेपालको नेपालको ७७ बटै जिल्लामा स्वयमसेवी युवाहरू रहेको छ।
युवाहरूको प्रतिनिधित्व हुनु पर्ने पक्षमा संधै अडिग रहेका सुदन देशमा सुशासनको सुनिश्चितता र भ्रष्टाचारको समूल अन्त्य हुनु पर्ने कुरामा अडिग र प्रतिवद्ध छन्।
“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो” -गृहमन्त्री सुदन गुरुङको राजिनामाको अन्तर्य
गत चैत १३ गते रास्वपा बालेन सरकारका गृहमन्त्री बनेका सुदन गुरुङ आफ्नो शेयर लगानीबारे मिडिया ट्रायल शुरू भएर विवाद चर्किएपछि गृहमन्त्री बनेको २७औं दिनमा गत वैशाख ९ गते पदबाट राजीनामा दिएका पदबाट राजिनामा दिएको घोषणा गरेका थिए। सुधनको सो विवाद सम्बन्धमा छानबिन गर्न गठित समितिले २२ जेठमा आफ्नो प्रतिवेदन बालेन सरकारलाई बुझाएको थियो । प्रतिवेदनबाट सुधनले क्लिन चिट पाएपछि उनी गृहमन्त्रीमा फर्किएका हुन्।
यस अघि उनले “नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु” भन्दै आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता हुने र जनविश्वासभन्दा ठूलो शक्ति नहुने बताएका थिए। आफू गृहमन्त्री बनेपछि उनकै पहलमा हाल हिरासतमा रहेका बिचौलिया दीपक भट्टको ईन्सुरेन्स कम्पनीको विगतमा गरेको शेयर खरिद प्रकरणमा उनी विवादमा तानिएका थिए।
उसो त गोरखापत्र दैनिक, अनलाइनखबर डटकम, लोकान्तर डटकम, न्यू बिजनेस एज, कर्पोरेटनेपाल डटकम, क्यापिटलनेपाल डटकम, काठमाण्डुपाटी डटकम, अर्थपथ डटकम, सिंहदरबार डटकमसँग सम्बन्धित पत्रकार, सञ्चालक वा पत्रकारको श्रीमतीको नाममा पनि भट्टको कम्पनीमा शेयर रहेको दैनिकी डट कमले आफ्नो समाचारमा उल्लेख गरेको छ। बिचौलिया भट्टलाई देउवा, प्रचण्ड र ओली सरकारको पालामा विभिन्न भ्रष्टाचार काण्ड मच्चाउन छुट दिईएको कुरा छताछुल्ल भएको थियो।
पढ्नुहोस् उनको राजिनामाको पूर्ण पाठः
“म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.”
के हो विवाद?
प्रसंग हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्ट र शंकर ग्रुपका अग्रवालहरूको नाममा रहेको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा २५ लाख रुपैयाँ बराबरको शेयर लगानी र उक्त लगानीबारे सम्पत्ति विवरणमा उल्लेख नगरेको दाबी गर्दै केही संचारमाध्यमहरूले समाचार संप्रेषण गरेपछि उनी विवादमा तानिएका थिए। गृहमन्त्री गुरुङ उहीं व्यक्ति हुन् जसलाई नेपाली मिडियाले कहिले भारतीय र कहिले तिब्बती नागरिक भनेर समाचार छापेपछि उनले नेपाली नागरिकता प्रमाणपत्र सार्वजनिक गर्नु परेको थियो।
गृहमन्त्री गुरुङले आफू मन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा बैंकमा मौजूदा रकम रू. ६१ लाख ६२ हजार ९५० र शेयर मार्केटमा रू. ४ करोड ३१ लाख ५६ हजार २०० बराबरको कारोबार रहेको उल्लेख गरेका थिए। गृहमन्त्री गुरुङको नाममा जग्गा धनकुटीको कार्कीछापमा क्षेत्रफल १९-१५-०-० को जग्गा रहेको विवरण उपलब्ध छ।




Comments