top of page

नेपाली साहित्यिक संस्था नइको रजत महोत्सवका अवसरमा नेपाल सरकारद्वारा नइ सिक्का र हुलाक टिकट जारी

Special: काठमाडौं। नेपाली साहित्यिक संस्था नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट नइ सिक्का र नेपाल सरकार हुलाक विभागबाट हुलाक टिकट प्रकाशन भएकोछ। नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो ।


नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गर्नुभयो ।

नेपाल राष्ट्र बैंकबाट एक सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको हो ।


नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञातिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य व्यक्त गरेका थिए ।

नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड छैसट्ठी लाख रूपियाँ मौजुद रहेको छ । नइ प्रकाशनले (१) नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार, (२) नइ कीर्तिनिधि पुरस्कार, (३) नइ कपिल विद्यापदक, (४) नइ भूपालदुर्गा पुरस्कार, (५) नइ भावि पुरस्कार, (६) नइ भाजप पुरस्कार, (७) नइ यउजा पुरस्कार, (८) नइ देरुनीख सुकीर्ति पुरस्कार, (९) नइ धनरूप पुरस्कार, (१०) नइ चन्द्रधन पुरस्कार, (११) नइ ईश्वरवल्लभ पुरस्कार, (१२) नइ देरुनीख प्रदीप्ति पुरस्कार, (१३) नइ बुलु शर्मा पुरस्कार, (१४) नइ देरुनीख गौरव पुरस्कार, (१५) नइ देरुनीख पौरख पुरस्कार, र, (१६) नइ कीर्ति रत्नलगायतका पुरस्कारको स्थापना गरी सम्मान प्रदान गर्दै आएकोछ भने नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । यस प्रयोजनका लागि बैंकमा हाल दस लाख रुपियाँ अक्षयकोष राखिएको छ ।


नइ प्रकाशनको सतत् प्रयास प्रसंशनीय छ तर अब यि सबै पुरस्कारहरूलाई समाहित गरी नोबेल साहित्य पुरस्कार, बुकर प्राईज, नेशनल बुक पुरस्कार या मदन पुरस्कार जस्तै एउटा एकीकृत र अझ बजनदार एकल पुरस्कारको स्थापना गरी डेढ दर्जन पुरस्कारहरूको छनौट र दर्जनौं बैठकहरूमा खर्चिने समयको चुस्त व्यावस्थापन गर्न र नईको साहित्यिक सम्मानलाई अझ गर्विलो बनाउनतिर लाग्नु मुनाशिव हुन्छ।


यसैविच, नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाई र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले एक प्रेस विज्ञप्ति जारी गर्दै “देशदेशान्तरमा नेपाली भाषासाहित्यको श्रीवृद्धिहेतु गठित कुनै पनि सङ्घसंस्थाबाट हामीले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने निर्णय गरेका छौँ” भनेकाछन्।


नइ दम्पत्तिद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएकोछ-


“केही सङ्घसंस्थाबाट स्रष्टाहरू सम्मान या पुरस्कार या अभिनन्दन लेनदेनमा समाहित भएको समेत पनि देखिएकाले विविध दोषबाट जोगिने र नइ प्रकाशन, त्रिमूर्ति निकेतन तथा वानीरा फाउन्डेसनलाई आरोपप्रत्यारोपबाट जोगाउने अभिप्रायले समेत हामी यो निर्णयमा पुगेका हौँ ।

हामी नइले मन, वचन र कर्मले खाईनखाई स्थापना गरेका संस्थाउपर कसैले हिलो छ्याप्न नपाऊन्, राजनीतिक रङ दल्न नपाउन् र खोँचे थापेर लाञ्छना लगाउन नसकुन् भन्ने हाम्रो चाहना हो । यी अनेक दोषबाट अलग्गिएर संस्थाको मर्यादा जोगाउनु हामीले हाम्रो प्रमुख कर्तव्य ठानेको बेहोरा पनि सृजनशील बौद्धिक प्राज्ञिक समाजसमक्ष पेस गरेका छौँ ।”


साहित्यकार इन्दिरा प्रसाईका ५५ वटा कृति प्रकाशित छन् भने साहित्यकार नरेन्द्रराज प्रसाईका ९१ वटा कृति प्रकाशित छन्।

0 comments

Bình luận


bottom of page