top of page

दुर्दशामा प्रेमको प्रतीक मानिने रानी महल: भिजिट नेपाल क्याम्पेनकै खिल्ली उडाउने अवस्था, हेर्ने हैन?

Updated: Feb 29, 2020


-प्रदीप परियार थापा

Exclusive: नेपाल सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू मध्येको पाल्पा जिल्लामा पर्ने मनमोहक रानी महल दरवारको भ्रमण पछि त्यसको महत्ताबारे नेपालिजम डट कमको पहिलो रिपोर्टिंगमा उल्लेख गरिसकिएको छ। यो रिपोर्टिंगमा दरवार परिसरमा पुगेपछि आठ वर्ष अघि मात्र जिर्णोद्दार गरिएको भनिएको र दरवार परिसरमै राखिएको अस्थाई प्रहरी बिटकै आँखा सामुन्ने रानी महलको दुर्दशाबारे चर्चा गरिनेछ। रानी महल पुग्ने जो कोहीले दरवारको चरम दुर्दशा देख्न सक्छ। दरवार भित्र द्वार, कोठा र चोटाका भित्ता र भूईंमा समेत बिजुलीका नांगा लाईभ तार, फुटाईएको प्लग कनेक्सन यत्रतत्र देख्न सकिन्छ। नाँगो लाईभ तारको कारण जो कोही र विशेषगरी बालबालिका ईलेक्ट्रोक्युटेड हुन सक्ने संभावना छ। दरवार प्रवेश गर्ने पर्खाल र भित्ताहरूमा बहुलठ्ठी प्रेमी जोडीहरूले ग्राफिटी गर्दै आ-आफ्नो नामहरू कोरेर यति कुरूप बनाएका छन् कि रानी महललाई छिमेकी मुलुक भारतको विश्वकै आश्चर्य मानिने ताज महलसंग दाँज्नु भनेको नेपालका अन्य भव्य संपदाहरूको खिल्ली उडाउनु सरह हो।



दरवार प्रवेश अघिल्तिर नेपाली भाषामा मात्र लेखिएको सूचना साइनबोर्ड यति पुरानो भएकोछ कि उक्त बोर्डमा लेखिएको पढ्ननै सकिदैन। दरवारबारे अंग्रेजी भाषामा लेखिएको कुनै साईनवोर्ड, सुचनापाटी, पर्चा या बुकलेट कहीं भेटिदैन। यस्तो अवस्थामा नेपालको ताज महल भन्दै रानी महल घुमाउन बिदेशी पर्यटक लानु भनेको नेपालको बेईजत गर्नु हो। भिजिट नेपाल २०२० क्याम्पेनको अभियन्ता नेपाल सरकारले पर्यटन भित्रेयाउने सुपना देख्नु अघि पर्यटनका लागि पुर्वाधारहरू र पर्यटकले घुम्ने सम्पदाहरूको संरक्षणमा पहिलो प्राथमिकता दिनु जरूरी छ।