top of page

प्रमाण कुमारको बहिर्गमन र बुढो रूख ०.०

Updated: Mar 21


-प्रथा मगर

एकादेशमा प्रमाण कुमार नाम गरेका एक अधवैंशे युवा बस्दथे आफ्ना प्राण प्यारा दाई-भाउजूसंग। आमाबुबाभन्दा पनि प्यारा थिए दाई-भाउजू। बिसं २०६४ को कुरो हो- उनी बुढो रूखको तर्फबाट संविधान सभा सदस्य बने। बिसं २०६७ मा उनी बुढो रूख बचाउ अभियानको केन्द्रिय सदस्य बने। अब उनी दाई-भाउजूसंगै बुढो रूख संरक्षणको नीतिनिर्माणमा परिवारको अभिन्न अंग बन्न पुगे। आफू जन्मे हुर्केको थाँतथलोबाट प्रमाण कुमार तीन पटक सांसद नै बने- २०७०, २०७४, २०७९ मा। प्रमाण कुमारलाई बिसं २०७४ र २०७९ को टिकट उनै दाई-भाउजूले दिएका थिए।


यसबिच, बिसं २०७० मा प्रमाण कुमार स्वास्थ्य मन्त्री समेत बने। हुन त, बन्नु पर्ने त उनी ढुंगामुडा मन्त्री हो। उनी बुढो रूखको हाँगा विद्यार्थी संघको महामन्त्री हुँदा बैसट्ठी त्रिसट्ठी सालको जनआन्दोलनको बेला ईटा ढुंगा पुलिसतिर हान्दै गरेको फोटो एकताका भाईरल भएको थियो। उतिखेर आन्दोलन गर्ने भनेको ढुंगामुडा गर्ने, सार्वजनिक बाटोघाटोका रेलिंग भाँच्ने काम आन्दोलनकारीको परम धर्म जस्तै थियो। तेतिखेर भद्र, शान्त, शालिन शैलीमा निलो क्रान्ति गर्ने सिद्धान्त प्रतिपादननै भएको थिएन।



बाख्रा काण्ड


बिसं २०७१ को कुरा हो- प्रमाण कुमार कृषि तथा जलस्रोत समितिको सभापति भए। यता उनी र उनका पार्टनरको कम्पनीको बाख्रा पालन र मासु पसल खोल्न सरकारी कृषि विभागबाट करोडौंको अनुदान पाउने सेटिंग पक्का भैसकेको थियो। आफै धामी आफै बोक्सी बन्ने भनेर विरोध आउन थालेपछि प्रमाण कुमारले कृषि अनुदानले दिन ठिक्क पारेको प्रमाण सम्झैता पत्र रद्द गरे। त्यस यता बाख्रा पालन र मासु पसल व्यापारको अवस्था केकस्तो छ, कसैलाई जानकारी छैन। अलि पछि, प्रमाण कुमारले मिडियालाई भनेका थिए- “अहिले त मलाई बाख्रा देख्दा पनि डर लाग्छ।” बिचरा प्रमाण कुमारलाई काप्राफोबिया (capraphobia) यानेकि बाख्रा फोबियानै भएछ कि क्या हो?



“प्रमाण देखाई दिउँ?” का प्रमाण कुमार


बिसं २०७८ मा प्रमाण कुमार बुढो रूख संरक्षण समितिको शक्तिशाली महामन्त्री बने। बिसं २०७९ सालमा उनी तेश्रो पटक फेरी साँसद बने। तर बुढो रूखले एकल सर्खार बनाउने ल्याकत राखेन। उता निलो क्रान्तिको संसदमा उदय भयो। संसदमा घण्टी बज्न थाल्यो। निलो क्रान्ति बाहकहरूले सर्खार बनाएपछि विगतका काण्डैकाण्डका फाईलहरू खोलिन थाले। प्रमाण कुमारका दाई-भाउजूको मुटुमा ढ्यांग्रो ठोक्यो। प्रमाण कुमार पनि आत्तिए। आफ्ना दाई-भाउजूकै छत्रछाँयामा “प्रमाण देखाई दिउँ?” भन्दै निलो क्रान्ति बाहकलाई फँसाउन अनेकन प्रयास थाले। तर स्मरण रहोस्, आजको मितिसम्म प्रमाण कुमारले प्रमाण देखाउन सकेका छैनन्।


यसबीच, प्रमाण कुमारका दाई-भाउजूले रातारात पल्लारे उखाने बुढासंग मिलेर सर्खार बनाउने भए। प्रमाण कुमारले चुपचाप मौन सहमति दिए। तेति मात्र हो र? प्रमाण कुमार सर्खार संचालन समितिको सदस्य बनेर उखाने बुढा पछि दाई बाघ बहादुरलाई प्रधानमन्त्री बनाउने भनेर कुरी बसे। तब उनले नसोंचेको अकल्पनीय घटना घट्यो। भदौ तेईस र चौविसमा जेनजी आन्दोलन भयो।


जेनजी आँधीले बढारेको बुढो रूख


प्रमाण कुमारको अधोगति र वहिर्गमन त्यहींबाट शुरू भयो। प्रमाण कुमार सर्खार संचालन समितिको सदस्य थिए। उनकै बुढो रूख संरक्षण समितिकै काफिला क्यों लुटावाला गृहमन्त्री थिए कलिला जेनजी युवाहरू पुलिसको साढे दुई हजार धाँतुका गोलीले मारिदा।


उता दाई-भाउजूको घर जेनजी आन्दोलनका बेला जलाईयो। तिनका कोठा चोटामा पैसाका नोट दुईतीन दिनसम्म जलिरह्यो। पछि  प्रमाण कुमारका दाई बाघ बहादुरले आफ्नो घरमा जलेको पैसालाई एआईबाट बनाएको भनिदिए।


यि सबै घटना घटी रहँदा प्रमाण कुमार भने पर्दा पछाडि गायब भए। युवाहरू र जनताको आक्रोश यति बढ्दो देखेर पनि दाई-भाउजूकै लहलहैमा लागेका प्रमाण कुमार अझ दलदलमा फँस्दै थिए। उनको यो आत्मघाती मौनता थियो।


जेनजी आन्दोलनले चुनावमा जानु पर्ने म्यानडेट दियो। यता प्रमाण कुमार भने विशेष महाधिवेशनतिर लागे। किनकि अब प्रमाण कुमारलाई दाई बाघ बहादुर बसेको कुर्सी चाहिएको थियो जेनजी आन्दोलनको निहुमा। प्रमाण कुमारलाई के लागेको थियो होला भने आफ्नो नेतृत्वमा बुढो रूखलाई लिएर जनता माझ गयो भने जनताले फेरी एक पटक पत्याउने छन्। तर चुनावी नतिजा ठीक उल्टो आयो। यति सम्म कि उनको बढो रूख गर्लम्मै ढल्न मात्र बाँकी रह्यो भने प्रमाण कुमार आफै लज्जास्पद कम मतका साथ पराजित हुन पुगे। निलो क्रान्तको घण्टी लहररूपी सुनामीले प्रमाण कुमार र बुढो रूखलाई यसरी बढारीदियो कि प्रमाण कुमार बुढो रूख संरक्षण समितिबाट राजिनामा दिन बाध्य भए।


“फायरहोज अफ फल्सहुड”


एक समय प्रमाण कुमारले “फायरहोज अफ फल्सहुड” (Firehose of Falsehood) को खुब चर्चा गर्दथे। असत्यलाई हजार बार दोहर्याएर जनमानसमा सत्य जस्तै बनाएर झुक्याउन सकिन्छ भन्ने यहीं काईते सिद्धान्तमा टेकेर प्रमाण कुमारले निलो क्रान्ति बाहकलाई फँसाउन “प्रमाण देखाई दिउँ?” को नाटक मन्चन गरेका थिए।


क्लाईमेक्स


चुनावी माहौलकै बीचमा प्रमाण कुमारले दाई-भाउजूको घरमा जलाएको नोट सत्य हो कि झुटो, एआईले बनाएको नक्कली हो भनेर एक पत्रकारले सोधेको प्रश्नमा निकै बेर गमेर पनि भन्न सकेनन्। प्रमाण कुमारले “यो अनुसन्धान आयोगको काम हो, मैले भन्न मिल्दैन” भनेर उनै भ्रष्ट दाई-भाउजूकै बचाउमा लागे श्रवण कुमार झैं बनेर। कहाँको निष्ठाको श्रवण कुमार, कहाँको स्वार्थको प्रमाण कुमार। भोली पल्ट अर्को एउटा सभामा गएर आफ्नो विपक्षीको विषयमा चैं अदालतमा बिचाराधिन मुद्दाको अन्तरिम आदेशको चिर्कटो खल्तीबाट निकालेर पढ्दै आफ्नो “प्रमाण देखाई दिउँ?” अनुकुल ब्याख्या गर्दै “फायरहोज अफ फल्सहुड” स्थापित गर्ने प्रयास गरे।


अब राम राम मात्र


यसरी प्रमाण कुमारले आफूलाई बाख्रा पालक र मासु पसले भन्दा माथि उठेर एक राजनेताको रूपमा प्रमाणमा आधारित राजनीति गरेर जनताको मन जित्ने अन्तिम मौका पनि गुमाए। “प्रमाण कुमारलाई राम राम मात्र भन्न सकिन्छ, काँध थाम्न सकिन्न” एक पुराना बुढो रूख संरक्षण समितिको सदस्यले तेसै भनेका हैनछन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page