अब बज्छ घण्टीः भ्रष्टाचारी र विसंगतिको।रवि लामिछाने उपप्रधानमन्त्री र गृहमंत्री बनेपछिको आशा र जोखिम
Updated: Dec 26, 2022

-प्रदीप परियार थापा
Exclusive: नयाँ सत्ता समिकरणबाट रवि लामिछाने उपप्रधानमन्त्री एवं सबैभन्दा शक्तिशाली मानिने गृहमन्त्री बनेपछि भ्रष्टाचारीहरू र विसंगतिका ठेकेदारहरूको मुटुमा ढ्यांग्रो ठोकिन र सपनाबिपनामा घण्टी बज्न थालेकोछ। भ्रष्टाचारीलाई कार्यवाही गर्ने र विसंगतिको अन्त्य गर्ने बाचाकासाथ चुनाव जितेका युवा नेता लामिछानेले जनताको म्यानडेट अनुसार अब देशमा देखिने गरी परिवर्तन ल्याउन र जनतालाई महशुस हुने गरी अमनचैन र न्याय दिलाउन सफल होलान् कि पुरानै बोतलमा हालिएको निम्छरो नयाँ पानी मात्र हुने हुन् भन्ने बहस र चर्चा चुलिएकोछ। रविले ईखले पनि अब काम गरेरै देखाउनुको बिकल्प छैन। तर भागवण्डाको सरकारमा उनले राम्रो काम गर्न नसक्ने जोखिम पनि उत्तिकैछ। कोई छ उनलाई साथ दिने?
रवि लामिछाने विश्वको वैभवशाली मुलुक अमेरिका कसरी सिस्टममा चल्छ र विकास कसरी हुन्छ भन्ने राम्ररी बुझेर अमेरिकाबाट सन् २०१५ को अन्तमा नेपाल फर्केका पूर्व एनआरएन पनि हुन्। रविलाई न भ्रष्टाचार गरी धन कमाउनु छ न विसंगतिलाई यथास्थितिमा रहन दिने सुविधा छ। विगत तेत्तिस वर्षदेखिका तेह्र वटा बहुदलीय सरकारहरूले औसतमा साढे दुई वर्ष सत्ता संचालन गरे तर भ्रष्टाचार र विसंगतिमा देशलाई चुलुम्म डुबाए। गत आमनिर्वाचनबाट राष्ट्र र जनताको पक्षमा काम गर्ने म्यान्डेट पाएका, सत्ता समिकरणको नयाँ खेलबाट संवैधानिक पदभार, ल्याकत र म्यान्डेट पाएका रवि अव देशको मुहार फेर्न युद्ध मैदानमा छिरेका तर वेथिति र विसंगतिको छल, कपटरूपी चक्रव्यूहलाई तोडेर विजयी बन्नै पर्ने जनताका भरोसा र आशाका अभिमन्यु हुन्।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो चरणमा ३ जना उपप्रधानमन्त्रीसहित आठ मन्त्री नियुक्त गरेका हुन्। माओवादी केन्द्रबाट २, एमालेबाट ४, रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनाईएकोछ।
तीन जना उपप्रधानमन्त्रीहरूमा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थ मन्त्री, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएकाछन्।