-प्रदीप परियार थापा
अब No Not Again हैन, No Rights, No Remittance को दवाब सृजना गरौं
Updated: Exclusive: Opinion: एनआरएन भनेर चिनिने आधा करोड गैरआवासीय प्रवासी नेपालीहरूले यदि आफ्नो जीवनको कुनै कालखण्डमा आफू जन्मेको मातृभूमि नेपाल आमाको काखमा फर्किने स्वप्निल सपना देखेकाछन् भने एक पटक यि अठचालिस वर्षका युवा रवि लामिछानेले मातृभूमि नेपाल फर्केपछि भोग्नु परेको नियति र भोगाईपछिको कटु भनाई अवश्य पढ्नु होलाः “हो, म आमाको काखमा फर्किएको मान्छे हूँ। के यो देशमा मान्छे बाकसमा मात्र फर्केर आउनु पर्ने हो? म बाकसमा फर्किएको हैन। सास लिएर फर्किएको हूँ। आँट लिएर फर्किएको हूँ यो देशमा केही गर्छु भनेर।” तर अनेकन हत्कण्डा अपनाएर उनलाई नेपालको एक नम्वरको बदमास र अपराधी प्रमाणित गर्न नेपाली तथाकथित मिडिया र यसका शकुनीहरूले खेलेको घृणित खेलको उनले गरेको भण्डाफोरले नेपालमा अहिले १० रेक्टर स्केलको महाभूकम्प र पराकम्पहरू उत्पन्न भएकोछ। विडम्बना! यता प्रवासमा गैरआवासीय नेपालीहरूको साझा संस्था भनिने गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व भने यतिखेर नागरिकताको निरन्तरता, दोहोरो नागरिकता र एक पटकको नेपाली संधैको नेपाली भन्ने आफ्नो मागलाई थाँती राखेर मातृभूमि नेपाल फर्केका रवि लामिछानेले भोग्नु परेको नियतिको निरिह मुक दर्शक मात्र बनेको छ। तेति मात्र कहाँ हो र ! केही प्रवासी शकुनीहरू रविको विरूद्ध नेपालका खलपात्रहरूभन्दा एक कदम अघि बढेर लागिपरेकाछन् । तर हेक्का रहोस्, जुन दिन उनीहरूको निम्ति नेपाल आमाको एक ईन्च जमिनसंगको हक पनि खोसिने छ तेतिखेर यिनीहरू न घर न घाटका लावारिस मनुवा हुनेछन्। र यिनीहरूको नेपालका शकुनीहरूसंगको लोलोपोतोले यदि हाम्रा भावी सन्ततीहरूलाई नेपाल फर्किने बाटो सदाको लागि बन्द गरियो भने यि प्रवासी नेपाली शकुनीहरूलाई नेपाल आमाले कहिल्यै माफी दिने छैनिन्।
रवि लामिछाने अमेरिकाबाट मातृभूमि नेपाल फर्किएका पूर्व गैरआवासीय (एनआरएन) र पूर्व संचारकर्मी हुन्। उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिने निर्णय गरेपछि जनवरी ३ तारिख डाकेको पत्रकार सम्मेलनमा उनले भनेका माथिका भनाईले नेपालबाट अहिले दैनिक पचीस सय नेपाली युवाहरू विदेशिन बाध्य भएको र प्रवासमा कष्टकर श्रम गर्दागर्दै मर्नु बाध्य भै बाकसमा फर्कनु पर्ने विवसता र लामो समय विदेशी भूमिमा बसी मातृभूमि नेपालमा फर्किने सपना देख्नेहरूले भोग्नु पर्ने नियती झल्किन्छ।
रवि लामिछानेले उक्त पत्रकार सम्मेलनमा “मुलुकको लागि केही गर्न चाहेका हामी जस्ता मान्छेहरू जो बाकसमा आउन चाहेनन्” भन्दै भनेकाछन्-
“मलाई एउटा सिद्धिएर यो देश बन्छ भने तपाईले सिध्याउनु पर्दैन।म कहाँ गईदिन पर्ने हो, म जंगल जान पर्ने हो कि, विदेशै जान पर्ने हो कि, कहाँ जान पर्ने हो म गईदिन्छु। तर यो देश जोगाउँ। पत्रकारिताको मर्यादालाई जोगाउनु होला। त्यो चिज तपाईको कलम भुत्ते भयो त्यसलाई जोगाउनु होला।क्यामेराको मर्यादा राख्नोस् ताकि नेपाली जनताले सुकुनको सास फेर्न पाउन्। सेटिंग गरेर, भित्रभित्रै मिडियाको डर देखाएर बिजिनेस लिने। मिडियाको डर देखाएर व्यापार लिने। मिडियाको डर देखाएर राजनितिमा स्थापित हुने। मिडियाको डर देखाएर सत्ता समिकरण बदलिने। मिडियाको डर देखाएर मन्त्री हुने, मन्त्री पद खुस्किने त्यो दिनको नियति कसैले खोज्न नपरोस्। म यहाँबाट बाहिर निस्किएकोछु। म अभिमन्यु हैन।”
रविले सिण्डिकेट गरीरहेका ठूला भनाउँदा मिडिया हाउसका मालिक र मुट्ठीभरका पत्रकारहरूलाई ईंकित गर्दै तर उपस्थित रिपोर्टरहरूलाई भने- “माफ गर्नुहोला मित्रहरू, तपाईको पत्रकारिताले तपाईको साहूहरूलाई स्थापित गर्यो तर नेपाली जनताको मुद्दा स्थापित गरेन।”
रविले अगाडि भने- “हेडलाइनबाट तर्सिने मान्छे म होईन। म लाईफ लाईन चेन्ज गर्न (बदल्न) हिडेको मान्छे हूँ। … जो डराउँछ त्यसको लुक्ने ठाउँ हुँदैन। र, म डराएर राजनीति गर्न आएको हैन।”
आफूले पुरानै नागरिकता प्रमाण-पत्र नम्बरमा नेपाली नागरिकता पुनः लिई सकेपछि फेरी राहदानीको विषयलाई लिएर उनलाई फँसाउन लाग्नेहरूप्रति लक्षित गर्दै रवि लामिछानेले भने- “एउटै कुरा म चाहन्छु मलाई पासपोर्टमा फँसाउँछु भन्नेहरूलाई। म रेडी छु, म तयार छु।”
उक्त पत्रकार सम्मेलनमा रवि लामिछानेले भनेका थुप्रै मनन् योग्य भनाईहरू मध्ये केही चुनिएका भनाईहरू यस्ता छन्ः
“म जेल परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ। म मरे परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ, म बौलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ। यो मिसन हो। एउटा व्यक्ति माथि जाने कि नजाने भनेर लागेका हैनौं। यो बेथितिबाट वाक्कदिक्क भएर हामी यस पटक सरकारमा गएका हौं एउटा जिम्मेवारी लिएर।”
“हामी जनतालाई राजा बनाउन हिंडेका हौं।… तर यदि लोकतन्त्र थिएन भने म जस्तो मान्छेले निर्वाचित भएर, सत्ताको विरूद्धमा आगो ओकलेर राजनीतिमा आएर, मिडियामा गएर आम जनताको ईस्यूमा कुरा उठाएको र राजनितिक गलले गरेको, शासकहरूले गरेका बदमासीको भण्डाफोर गरेर, चुनाव उठेर, जितेर उपप्रधान र गृह मन्त्री बन्न सक्ने ल्याकत भएकाले हामीले यो व्यवस्थालाई मानेर व्यवस्था भित्र अवस्था फेर्न आएका हौं।”
“(म) नेपाली जनतासंग डराउँछु। गलत काम गर्छु कि भनेर डराउँछु। कसैसंग डराउँदिन।अरू त्योभन्दा बाहेक कसैसंग डराउँदिन। म मर्न पनि डर छैन, लोभ पनि राखेको छैन।”
“मलाई यति लेखेटे, यति लखेटो, मलाई उपप्रधान र गृह मन्त्री बनाए। अब बाटोमा हिड्छु, त्रिशुलीमा खसाली दिने एउटा उपाय छ। म खसेछु भने पनि यो बिचार जन्मि सकेकोछ, यो मर्दैन। अन्य धेरै उपाय छन्, को सुरक्षित छ र! म जाबो बबुरो के सुरक्षित होला, सरकारले दिएको सुरक्षा त लिन्न। म केही सुरक्षित छैन। नेपाली जनताले जोगाएसम्म यि बाह्र भाईको डर छैन, कुनै भाईको डर पनि छैन।”
“नचलाउनुस् मलाई। Please leave me alone. Let me work. छोड्दिनुस् मलाई, सक्नु हुन्न यार।सक्नु हुन्न, सक्दै त सक्नु हुन्न। कहिलेसम्म सक्नु हुन्न भने जबसम्म मैले ईमान गुमाउन्न। ईमान गुमाएको दिन मलाई तपाई चाहिन्न एउटा भुसुनाले ढाल्दिन्छ मलाई। मसंग केही छ भने त्यो ईमान हो तपाईले नदेखे पनि त्यो ईमानको बलमा म अगाडि बढेकोछु।”
रवि लामिछाने प्रवासबाट मातृभूमि नेपाल फर्केका एक प्रतिनिधि पात्र हुन्। रविलाई खान खोज्ने बाघले हामी प्रवासी नेपालीलाई पनि एक दिन नखाला भन्न सकिन्न। काल आउनुको कुरा हैन काल पल्केको कुरा मनन् गरौं। एक पटकको नेपाली संधैको नेपाली भन्ने हामी प्रवासी नेपालीको नारा, माग र आकाँक्षामा कुठाराघात कसैबाट नहोस्। नागरिकताको निरन्तरता र दोहोरो नागरिकताको हाम्रो माग अब न्यूनतम र आधारभूत माग बनोस् र नेपालको संविधान र नागरिकता ऐन कानूनमा सुनिश्चित गरियोस्। यसको निम्ति अब No Not Again हैन, No Rights, No Remittance को दवाब सृजना गरौं।
Comentários